ओलम्पिकमा खेलाडी सहित नेपालबाट २६ जना जाँदै, यस्तो छ नामावली

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जापानको राजधानी टोकियोमा आयोजना हुने गृष्मकालिन ओलम्पिकका लागि जाने नेपाली टोलीको नाम सार्वजनिक गरेको छ ।

एनओसीमा मंगलबार आयोजित एक प्रेस सम्मेलन मार्फत नेपाली टोलीको घोषणा गरिएको हो । टोलीमा पाँच खेलाडी, प्रशिक्षक, अफिसियल र प्रतिनिधी गरी २६ जना रहनेछन । नेपालबाट ‘सेफ दि मिसन’को रुपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवाल रहेका छन ।

नेपालले यस पटक पौडी, एथ्लेटिक्स, सुटिङ र जुडोमा आफ्नो कौशल देखाउने छ । नेपालबाट सहभागी हुने खेलाडीहरुमा पौडीका गौरिका सिंह र एलेक्जाण्डर ग्याडिमाड शाह, सुटिङकी कल्पना परियार, जुडोकी सुनिया भट्ट तथा एथ्लेटिक्सकी सरस्वती चौधरी रहेका छन भने प्रशिक्षकतर्फ पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् । जसमध्ये पौडीका दुई र एथ्लेटिक्सका एक जना खेलाडीले ‘युनिभर्सियालिटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउनेछन् । बाँकी दुई खेलाडी भने आमन्त्रित अर्थात् वाइल्ड कार्डको आधारमा सहभागी हुँदैछन ।

यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले सहभागिता जनाउनेछन् । नेपाल ओलम्पिक कमिटीबाट उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, उपाध्यक्ष द्वय तेज बहादुर गुरुङ र सुनिलकुमार श्रेष्ठ, सहमहासचिव पिताम्बर तिमल्सिना, सचिव तुलसी थापा, एनओसी सदस्य द्वय राम अवाले र प्रकाश सम्शेर राणा समेत टोकियो ओलम्पिकमा सहभागी हुनेछन् ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राष्ट्रिय खेलकुद परिषदका सदस्य द्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ, मेडिकल टिमबाट डा.नविशमान सिंह प्रधान समेत ओलम्पिकमा सहभागिता जनाउने छन ।

मंगलवार सम्पन्न पत्रकार सम्मेलनमा एनओसीका अध्यक्ष सांसद जिवनराम श्रेष्ठले ओलम्पिक स्कलरशिप अन्तर्गत करिव २ करोड खर्च भएको जानकारी दिंदै खेलाडीले नेपालले आशा गरे अनुरुप उत्कृष्ट पदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए । जापान जाने खेलाडी, प्रशिक्षक र अन्य सहभागीहरुले कोभिड १९ को प्रोटोकलको आधारमा सम्पूर्ण तयारी पुरा गरेको अध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close