पोखरा रंगशालाको निर्माण सकिन अझै ६ महिना लाग्ने !

पोखरा स्पोर्टस । पोखरा रंगशालामा निर्माण भइरहेको फुटबल स्टेडियमको निर्माण सकिन अझै ६ महिना लाग्ने भएको छ ।

निर्माणको जिम्मा पाएको मित्र राष्ट्र भारतको ग्रेट स्पोर्टस र एम ए कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीले तिन चरणमा गरी निर्माण कार्य ६ महिनामा सक्ने भएको हो । २०७५ फागुनमा शिलान्यास भई २०७६ असार मसान्त सम्म निर्माण सक्ने लक्ष्य लिएको भए पनि विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ तथा समयमा बजेट निकासा नहुँदा निर्माणमा ढिलाई भएको छ ।

राष्ट्रिय खेलकूद परिषदबाट हालै गण्डकी प्रदेश भित्रका ११ जिल्लाका खेलकूद पूर्वाधारको जिम्मा राखेप सदस्य राजेश गुरुङले अबको ६ महिनामा पोखरा फुटबल स्टेडियमको निर्माण कार्य सक्ने लक्ष्य रहेको पोखरा स्पोर्टसलाई बताए । उनले भने–“काम नै नभएको भन्न मिल्दैन करिव ९८ प्रतिशत निर्माण कार्य सकिएको छ । तर कोभिड १९ का कारण भारतबाट आउनुपर्ने प्राविधिक टोली आउन ढिलाई भयो ।”

कोभिड १९ महामारीका विच पनि यतिबेला भारतबाट रंगशालामा छानो हाल्ने र पिभिसी विल्डिङको काम सक्न तिन जनाको प्राविधिक टोली पोखरा आएको छ । करिव १ अर्व २८ करोड ५० लाखमा निर्माण सम्पन्न हुन लागेको पोखरा फुटबल स्टेडियमको दर्शक क्षमता १६ हजार ५ सय रहेको छ । राखेपले यसलाई बढाएर २० हजार पुर्याउने लक्ष्य लिए पनि त्यसले मूर्तरुप भने पाउन सकेको छैन । रंगशालाका लागि निर्माण भएका करिव एक दर्जन शौचालयको काम पनि सक्ने राखेप सदस्य गुरुङले बताए ।

कोभिड १९ का कारण पोखरा लगायत देशभरका ठूला शहरहरुमा लकडाउन जारी रहेपनि पोखरा रंगशाला भित्र भने करिव १५ जना मजदुरहरु निर्माण कार्यमा खटिएका छन । स्टेडियमका प्रोजेक्ट म्यानेजर दिपक बरालले केही दिनमा मजदुरहरु थपेर निर्माण कार्यलाई चुस्तता दिने बताए । उनले भने–“यतिबेला महामारीले चर्को रुप लिए पनि हामी मजदुरहरु थप्दै छौं भने मजदुरहरुलाई शुरक्षित वातावरणमा काम गराउनुपर्ने अर्को चुनौती पनि हामीलाई छ ।”

निर्माणाधिन अवस्थामानै पोखरा रंगशालाको फुटबल स्टेडियममा १३ औं दक्षिण एशियाली खेलकूद (साग) र दुई सस्करणको आहा रारा फुटबल सम्पन्न भइसकेका छन । शुरक्षित वातावरणमा अन्तर्राष्ट्रियस्तरको रंगशालामा बसेर फुटबल हेर्ने पोखरेलीहरुको धोको केही हद सम्म पुरा भए पनि विविध कारणले निर्माण कार्य भएको ढिलाईमा भने सबैले चिन्ता व्यक्त गरेका छन ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close