ओलम्पिकमा नेपालको सहभागिता बारे मन्त्रालयमा छलफल

पोखरा, टोकियो ओलम्पिकमा नेपालको सहभागिताबारे जापान र नेपाली प्रतिनिधिबीच छलफल भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा बुधबार टोकियो ओलम्पिकमा नेपालको सहभागिता र हालको अवस्थाबारे छलफल भएको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।

छलफलमा नेपाल ओलम्पिक कमिटिका महासचिब निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिब राम थपलिया, जापान दुतावासको कन्सुलर युजो योसिका र सचिव युरिका अकियामाको सहभागिता रहेको थियो ।

छलफलमा जापान दुतावासको कन्सुलर युजो टोकियो ओलम्पिक निर्धारित समयमै हुने जानकारी गराउदै सहभागिको स्वास्थ्यको सुरक्षाका लागि जापान सरकारले सक्दो प्रयास गरिरहेको जानकारी दिएका थिए । उनले टोकियो ओलम्पिक निर्धारित समयमा गर्न आफुहरु तयार रहेको भन्दै नेपालको तयारीको बारेमा जिज्ञाशा राखेका थिए ।

यस्तै, एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विकासित अवस्थाबारे चिन्ता देखाउदै जापानी पक्षबाट लिइएको सुरक्षा उपायको बारेमा जिज्ञाशा राखेका थिए ।

महासचिव श्रेष्ठले आफुहरु खुसीका साथ टोकियो ओलम्पिकमा भाग लिने बताउँदै खेलाडी र अफिसियलको सुरक्षाको बिषयमा जापानी पक्षको ध्यानाकर्षण गराएका थिए । “टोकियो ओलम्पिकमा खुसीको साथ भाग लिन्छौ, पहिलो पटक हामीले टोकियोमै ओलम्पिक खेलेका हौ, सुरक्षाको बिषयमा जापानले विश्वस्त बनाउन अनुरोध गर्दछौ ।” भेटघाटको क्रममा महासचिव श्रेष्ठले भने ।

नेपालको ओलम्पिक तयारी र सहभागीको बिषयमा जानकारी लिन जापानी पक्षले खेलकुद मन्त्रालय र ओलम्पिक कमिटिसंग छलफल गरेको हो । जापानले आसन्न टोकियो ओलम्पिक निर्धारित समयमा आयोजना गर्न आफु तयार रहेको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close