
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङ पोखरा विश्वविद्यालय टि–२० क्रिकेट लिग सिजन ४ का लागि ५० हजार सहयोग गर्ने घोषणा गरेका छन ।
पोखरा रंगशालामा यहि चैत्र ९ देखि १७ गते सम्म पोखरा विश्वविद्यालय क्रिकेट क्लवले सञ्चालन गर्ने प्रतियोगिताका लागि राखेप सदस्य गुरुङले ५० हजार नगद सहयोग गर्ने घोणणा गरेका हुन । कोभिड १९ पछि खेलकूदका विभिन्न गतिविधीहरु सञ्चालनका लागि अघि आएका विभिन्न संघ संस्थाहरु अगाडी आइरहेको बेला हौसला प्रदान गर्न आफूले यस्तो सहयोग गर्ने घोषणा गरेको बताए ।
प्रतियोगिता बारे जानकारी दिन तथा प्रतियोगिताको ट्रफीको अनावरण गर्न आयोजित कार्यक्रममा राखेप सदस्य गुरुङले पोखराको गौरवको रुपमा रहेको पोखरा विश्व विद्यालयमा अध्ययनरत यूवाहरु खेलकूदको विकास र प्रवर्द्धनमा अघि आउनु खुसीको कुरा रहेको भन्दै शिक्षा सँगै खेलकूद अपरिहार्य रहेको धारणा राखे । उनले भने–“विश्व विद्यालय खेलकूद सँग जोडिनु निकै प्रशंसनिय छ, क्रिकेट मात्रै नभई अन्य खेलकूद आयोजना गरेमा पोखरा रंगशालामा सँधै स्वागत गर्न तयार छ ।” उनले नवौं राष्ट्रिय खेलकूदलाई भव्य रुपमा सम्पन्न गर्न पनि विश्वविद्यालयको सहयोग आवश्यक रहेको बताए ।
प्रतियोगिता बारे जानकारी दिंदै क्लवका अध्यक्ष प्रकाश खनालले पोखरा विश्वविद्यालय विभिन्न आंगिक क्यापसमा अध्ययनरत विद्यार्थीहरुको ८ टिम प्रतियोगितामा सहभागिता जनाउने बताए । प्रतियोगितामा गोरखाली वलाष्टर्स्, पियू राइनोज, स्टिल्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाइगर्स, पियू रेड वारियर्स, अन्नपूर्ण किङ ११ र गण्डकी स्टाइकर्स रहनेछ । हरेक टिममा २–२ जना राष्ट्रिय टिमका खेलाडीहरु अनुवन्ध भइसकेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद १ लाख २५ हजार, उपविजेताले ७० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरी म्यान अफ दि सिरिजलाई नगद ५ हजार, वेष्ट बलरलाई नगद २ हजार ५ सय, वेष्ट बलरलाई २ हजार ५ सय र म्यान अफदि म्याच हुने खेलाडीलाई नगद १ हजारका साथमा ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि करिव २० लाख खर्च हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, राष्ट्रिय टिमका क्रिकेट खेलाडी करण केसी, पोखरा विश्वविद्यालयका संस्थापक स्ववियू सभापती सुनिल क्षेत्रीले प्रतियोगितालाई सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।
Aha Rara Advt
Pokhara Marathon Advt