
पोखरा स्पोर्ट्स । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय रंगशाला यतिबेला विभिन्न खेलकुद आयोजनाका लागि आकषर्णको केन्द्र बन्दै गएको छ । काठमाण्डौस्थित त्रिपुरेश्वर रंगशाला मर्मत सम्भारको कार्य सुरू भए संगै यतिबेला पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहल खेलकुद आयोजनाका लागि मुख्य थलो बन्दै गएको हो ।

यसै बीच नेपालको पहिलो फ्रेन्चाइज महिला भलिबल लिग समेत अब पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा हुने भएको छ । सो प्रतियोगिताका लागि नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सो प्रतियोगिता आयोजनाका लागि पचत्रार गरिसकेको जिल्ला खेलकुद विकास समिति कास्कीले समेत भदौ २० देखि २७ गते सम्मका लागि ‘बात्सल्य एभरेष्ट महिला भलिबल लिग’का लागि बुकिङ गरिसकेको छ ।
दोस्रो संस्करणको उक्त प्रतियोगितामा ६ विभिन्न फ्रेन्चाइज टिमहरु भिड्ने छन् । जसमा मधेश युनाइटेड, कर्णाली यशविस, पोखरा निन्जाज, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स र लुम्बिनी लाभाजको सहभागिता हुने निश्चित भएको छ । फ्रेन्चाइजीहरुले यहि साउन ३ गते मार्की खेलाडीसहित आ–आफ्नो टिम अक्सनबाट छानी सकेका छन् ।
यसै बीच नेपाली सेनाको मुख्य खेल कार्यक्रम मध्येको एक प्रधानसेनापति ट्रफी अन्तर्गतको बक्सिङ खेल समेत पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना गर्ने तयारी भइरहेको पश्चिम पृतनाका मेजर हुमान सिंह कुंवरले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रधानसेनापति ट्रफी अन्तर्गत बक्सिङ खेलका लागि नेपाली सेनाका १४ वटा युनिटका खेलाडीहरुको सहभागिता हुनेछ । जसमा १६ वटा क्याटोगरीमा प्रतिस्पर्धा हुने उनले जानकारी दिए । सो प्रतियोगिताका लागि भदौ ११ देखि १८ गते सम्मका लागि कभर्डहल बुकिङ भएको छ ।
त्यसै गरी पोखरामा यति बेला अत्याधिक रुपमा सञ्चालन हुँदै आएको फुटसलका लागि समेत बहुउद्धेश्यिय कभर्डहल मुख्य आकषर्णको थलो बनेको छ । व्यक्ति–व्यक्ति र केही आधिकारिक संस्थाले फुटसल आयोजनाका लागि कभर्डहल बुकिङ गर्न थालेकोले पनि कभर्डहल अति व्यस्त हुन थालेको जिल्ला खेलकुदले बताएको छ । जसका कारण प्रदेश र राखेपमा दर्ता भएका खेल संघहरुले समेत कभर्डहल भनेको समयमा नपाउँदा मुख्य प्रतियोगिताहरु अवरुद्ध बनेका छन् ।
बहुउद्धेश्यिय रंगशालामा विच्छाइएको ह्याण्डबल म्याट १३ औं दक्षिण एसियाली खेलकुदका लागि राखेपले खरिद गरेको हो । करिव ६५ लाख खर्च भएको उक्त म्याटमा हरेक प्रकारका खेल गतिविधि हुँदा सरकारको लगानी वालुवामा पानी जस्तै भएको बताइन्छ ।
कभर्डहलमा हालै एनभिए कप महिला तथा पुरुष भलिबल प्रतियोगिता, प्रथम लायन्स कप भलिबल प्रतियोगिता, प्रचण्ड कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता, प्रथम गण्डकी कप महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
