
पोखरा स्पोर्टस । सप्तरीको राजविराजमा आयोजना हुने देवनारायण स्मृती भारोत्तोलनका लागि कास्कीबाट खेलाडी छनोट गरिएको छ ।
यहि फागुन २९ देखि चैत १ गते सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि कास्कीबाट ८ जना खेलाडीको सहभागिता हुने भएको हो । कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले प्रतियोगितामा विभिन्न तौल समुह र क्याटोगरीमा ५ महिला र ३ पुरुष खेलाडीले सहभागिता जनाउने पोखरा स्पोर्टस डटकमलाई बताए ।
प्रतियोगितामा महिलातर्फ ४५ केजी तौलमा अनिका गुरुङ र ४९ केजीतर्फ शुष्मा काफ्ले रहेका छन । उनीहरु दुवैले यूथ, जुनियर र सिनियर क्याटोगरीमा सहभागिता जनाउने अध्यक्ष बडगामीले बताए । यस्तै जुनियर र सिनियर प्रतिष्पर्धामा सनिता लामाले ६२ केजी तौल समुह र ७२ केजी तौलमा सरस्वती गुरुङको सहभागिता रहने छ । महिलातर्फ सिनियर क्याटोगरीमा ५५ केजी तौलमा पदमा थापा छनोटमा परेकी छन ।
यसै गरी पुरुषतर्फ भने सिनियर क्याटोगरीतर्फ खिमलाल गुरुङ (सनित), विवेक खड्का र धन बहादुर झाँक्री मगरको सहभागिता रहने छ । खिमलालले ६२, विवेकले ७२ र धन बहादुरले ६२ केजी तौलमा प्रतिष्पर्धा गर्ने भारोत्तोलन प्रशिक्षक बखतमान श्रेष्ठले बताए ।
प्रशिक्षक श्रेष्ठले लामो समयको अन्तराल पछि हुन लागेको भारोत्तोलनमा कास्कीले कम्तिमा पनि ५ स्वर्ण पदक हासिल गर्ने हिसावले तयारी गरिएको बताए । उनले भने–“हाम्रो तयारी राम्रो छ, खेलाडीहरुले पनि दैनिक प्रशिक्षण लिइरहेका छन ।”
यता संघका अध्यक्ष वडगामीले पोखरामा हुने नवौको तयारीका लागि पनि यो प्रतियोगिताले सघाउने बताए । उनले भने–“हामी नवौको तयारी गरिरहेका वेला खेलाडीले पदक जिते भने यसले खेलाडी सँगै हामीलाई पनि निकै ठूलो हौसला मिल्ने छ ।”
१३ औ. दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन खेल पोखरामा भएकोले पनि धेरै यूवाहरु यस खेतर्फ आर्कषित हुन थालेको उनले बताए । उनले नयाँ यूवारुहलाई भारोत्तोलनखेलमा आर्कषित बनाएर अघि वढ्ने योजना रहेको समेत सुनाए । साग अन्तर्गत पोखरामा आएका खेल सामाग्रीका कारणले पनि पोखरा भारोत्तोलन खेलका लागि सुविधा सम्पन्न जिल्लाका रुपमा रहेको छ भने ओलम्पिकको तयारीमा रहेका खेलाडीहरुले पनि पोखरामा वन्द प्रशिक्षणमा रहेका छन ।

