
पोखरा स्पोर्टस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरा रंगशाला भ्रमण गराउने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले बताएका छन ।
यहि फागुन १५ गते पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पोखरा भ्रमणको दिन पोखरा रंगशाला भ्रमण गराउने तयारी गरिएको हो । नेकपा गण्डकी प्रदेशको आयोजनामा पोखरा अम्वर सिंह चौरमा आयोजना हुने कार्यक्रममा सम्वोधनका लागि प्रधानमन्त्री ओली पोखरा आउन लागेका छन ।
गण्डकी प्रदेशले नवौ राष्ट्रिय खेलकुद आयोजनाको तयारी समेत गरिरहेकोले नवौं खेलकुदका लागि आवश्यक पूर्वाधारका बारेमा समेत जानकारी दिन भइरहेको प्रगतीबारे समेत प्रत्यक्ष रुपमा अवलोकन गराउन प्रधानमन्त्रीलाई पोखरा रंगशाला ल्याउन पहल भइरहेको राखेप सदस्य गुरुङले बताए । उनले भने–“उहाँको समय के कस्तो हुन्छ, तर एक पटक उहाँलाई प्रत्यक्ष रुपमा भ्रमण गराउन सके नवौंको तयारीको समेत जानकारी गराउन चाहन्छौ ।”
राखेप सदस्य गुरुङले छोटो समयका लागि भए पनि प्रधानमन्त्रीलाई पोखरा रंगशाला भ्रमण गराउन सके पोखरेली खेल जगतमा उत्साह छाउने समेत बताए । उनले भने-“उहाँ खेलकुदको संरक्षक भएकोले पनि उहाँको पोखरा रंगशालाको भ्रमणले खेलकुद जगतमा उत्साह छाउने छ भने पोखरेली खेलप्रेमीहरुमा नवौंको तयारीका लागि नयाँ सन्देश जानेछ ।” “उहाँले खेलकुदलाई नजिकबाट चिन्ने मात्रै नभई खेलकुदका लागि दिएको मागदर्शनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) ऐतिहासिक रुपमा भव्य र सफल रुपमा सम्पन्न भएको दृष्टान्त हाम्रा सामु छर्लङ्गनै छ”–उनले थपे ।
फागुन १५ गतेका दिन प्रधानमन्त्रीको भ्रमणका समयमा सवै खेलाडीहरुलाई पोखरा रंगशालाको गेट नं २ को बाहिर लामवद्ध रुपमा उपस्थित भई स्वागत गर्ने कार्यक्रम समेत रहेको राखेप सदस्य गुरुङले बताए ।
गत २०७७ फागुन २० देखि २७ गते सम्म गण्डकी प्रदेशमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद कोभिड १९ महामारीका कारण रोकिएको थियो । खेलकुदको नयाँ ऐन अनुसार गठित राखेपको वोर्डले पूर्णता पाउन नसक्दा नयाँ मिति समेत घोषणा हुन सकेको छैन । यसै गरी पोखरा रंगशालामा १ अर्व २८ करोड ५० लाखमा निर्माण भइरहेको फुटबल स्टेडियमको समेत निर्माणले पूर्णता पाउन सकेको छैन भने वजेट अभावमा स्विमिङ पुल र शुटिङ रेन्जको राखेपले टेन्डर आह्वान समेत गर्न सकेको छैन ।