गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिवल शुरु, उद्घाटन खेल आकस्मिक वर्षाले प्रभावित, “प्रदेशलाई भलिवलको केन्द्र बनाउँछौं”–मुख्यमन्त्री गुरुङ (फोटो फिचर)

पोखरा स्पोर्टस । पोखरामा गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोग तथा कास्की जिल्ला भलिवल संघको आयोजनामा मंगलवार देखि उक्त प्रतियोगिता शुरु भएको हो । उक्त प्रतियोगिताको एक भव्य समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशलाई भलिवलको केन्द्र बनाउने बताए । उनले भने–“गण्डकी प्रदेश भलिवल खेलको जग बलियो छ, यसको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छ ।”

सो अवसरमा प्रदेश सांसद राजिव पहारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, राखेप सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिवल संघकी उपाध्यक्ष निरोज मास्के, प्रतियोगिताका संयोजक खग्न्द्र गौचन लगाएतले आ–आफ्ना धारणा राखेका थिए । उद्घाटन कार्यक्रम कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको थियो ।

उद्घाटन कार्यक्रममा १० जिल्लाबाट सहभागि महिला तथा पुरुष खेलाडीहरुले मार्च पास गरेका थिए ।

पोखरामा शुरु भएको मुख्यमन्त्री कप भलिवल प्रतियोगिता भने आकस्मिक वर्षाका कारण स्थगित भएको छ । म्याग्दी र वागलुङका विच हुने भनिएको उद्घाटन खेल वर्षाका कारण प्रभावित भए पछि भोलीका लागि सारिएको प्रतियोगिताका मुख्य निर्णायक तहल सिंह थापा मगरले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन ।

आज सम्पन्न महिलातर्फको लिग चरण अन्तर्गतका खेलमा म्याग्दीले नवलपुरालाई सोझो सेटमा पराजित गरेको छ । म्याग्दीले नवलपुरलाई २५–०५ र २५–१५ ले पराजित गरेको छ । यसै गरी आजै भएको दोश्रो खेलमा पर्वतले स्याङजालाई २५–१६ र २५–२१ ले, तनहुँले लमजुङलाई २५–१४ र २५–०६ ले पराजित गरेका छन ।

त्यसै गरी पुरुषतर्फ भएको खेलमा तनहुँ र स्याङजाले आ–आफ्नो खेल जितेका छन । लिग चरण अन्तर्गत भएको खेलमा तनहुँले मुस्ताङलाई २५–१७ र २५–९ ले र स्याङजाले कास्कीलाई २५–१९ र २५–१८ ले पराजित गरेको छ ।

फागुन ८ गतेसम्म पोखरा रङ्गशालाभित्रको भलिबल टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि भएका छन । भलिवल प्रतियोगिता गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु गरिएको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्धेश्य गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने तथा प्रतिभावान खेलाडी उत्पादन गर्दै भलिबल खेलको क्रेज बढाउने रहेको अध्यक्ष पराजुलीले बताएका छन । त्यस्तै भलिबल खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपनि प्रतियोगिताको उद्धेश्य रहेको उनको भनाई छ ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १–१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५–५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५–५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक गौचनले जानकारी दिएका छन ।

प्रतियोगिता अवलोकनका लागि टिकटको ब्यबस्था गरिएको छ । पहिलो चरण्का खेलहरुका लागि ५० रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close