
पोखरा स्पोर्टस । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ स्व.महेश स्मृति कप फागुन १२ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ ।
स्व.खड्काको सम्झनामा युनाइटेड पोखरा क्लब कास्कीले “क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०७७” आयोजना गर्न लागेको हो । प्रतियोगिताबाट संकलन भएको रकम स्व. खडकाका परिवारलाई सहयोग गर्ने तथा सामाजिक एवम् खेलकुदको विकास र विस्तारको लागि खर्च गरिने समेत अध्यक्ष अनिल गुरुङले जानकारी दिएका छन ।
स्व.खड्का राष्ट्रिय भलिबल खेलाडी समेत रहेका थिए । उनि कलिलो उमेरमा नै स्थानीय, क्षेत्रीय हुँदै राष्ट्रिय भलिबल खेलमा सहभागी भई भलिबल खेलमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको शिर उचो बनाउन सक्ने सम्भावना बोकेका खेलाडी थिए ।
स्व.खड्काका पिता तुलबहादुर र माता मिनकुमारी खड्काको कोखबाट स्याङ्जा जिल्ला विरुवा गा.पा.–१ मा जन्मेका उनको २०७५ भाद्र ३ गते २२ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।
स्व.खड्काको सम्झनामा स्थापना गरिएको स्मृति कपलाई निरन्तरता दिई खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको क्लबका उपाध्यक्ष तथा खेलकुद संयोजक युवराज भण्डारीले बताए । उनले मानिस शारिरीक, मानसिक, संवेज्ञात्मक र सामाजिक रुपमा स्वस्थ्य रहनको लागि खेलकुदले मुख्य भूमिका खेल्ने हुँदा खेलक्षेत्र विकास गर्नु आजको आवश्यकता बताएका छन ।
मूल आयोजक समिति उपाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण काप्रीले समाजमा कुरिति, विसंगति र नकरात्मक क्षेत्रमा युवाहरु हिड्ने अबस्था सृजना नगर्न खेल क्षेत्रले सुधारगृहको काम गर्ने बताए । प्रतियोगिताका माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताउँदै उनले त्यो पुरा हुन नसकेपनि स्वस्थ्य बनी सवल नागरिक उत्पादन गर्न प्रतियोगिताले भूमिका खेल्ने बताए ।
क्लबका अनिल गुरुङले पुरुष भलिबल प्रतियोगितामा प्रथमलाई ८० हजार, द्वितीय लाई ५० हजार र महिला भलिबल प्रतियोगितामा प्रथमलाई २५ हजार द्वितीयलाई १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको जनाएका छन । साथै विद्यागत पुरस्कार समेत समावेश गरिएको उनले जनाएका छन ।
