खेलकुद पत्रकार मञ्च गण्डकीमा गिरी निर्वाचित, बराल १ मतले पराजित

  • सम्पादक अधिकारी उपाध्यक्षमा सर्वसम्मत
    पोखरा, २५ फागुन । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

गिरीले प्रतिष्पर्धी दिननाथ बराललाई १ मतले पराजित गरे । गिरीको पक्षमा २४ मत आयो भने बराललाई २३ जनाले मत दिए । एक मतपत्रमा दुवैलाई मत नदिएकाले बदर हुन पुगेको निर्वाचन समितिले जनाएको छ । कूल ५१ जना सदस्य रहेको मञ्चमा तीन जना अनुपस्थित थिए । गिरी पूर्व सचिव हुन् भने बराल निवर्तमान उपाध्यक्ष हुन् । अन्य पदाधिकारी र सदस्य निर्विरोध चुनिए ।

गण्डक न्यूजका सम्पादक रञ्जन अधिकारी उपाध्यक्ष पदमा सर्वसम्मत भए । अधिकारी बिग एफएमका स्टेशन म्यानेजर पनि हुन् । अधिकारी कोषाध्यक्ष, सचिव, महासचिव हुँदै उपाध्यक्षमा चुनिए । निवर्तमान कोषाध्यक्ष विजय नेपाल महासचिव, राजाराम पौडेल सचिव, शशी पौडेल कोषाध्यक्ष निर्विरोध चुनिए । तीन वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा खुल्लातर्फ उमेश पुन, नारायण शाही र रोशन अधिकारी, दलिततर्फ शुशिल नेपाली, महिलातर्फ कविता घर्ती मगर, आदिवासी जनजातितर्फ गीता रानामगर चुनिए ।

खेलकुद पत्रकार मञ्च जिल्लाबाट प्रादेशिक स्तरमा रुपान्तरण भएको हो । अहिलेसम्म लगातार तीन निर्वाचनमा अध्यक्षले एक मतले मात्रै जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close