
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्ने पोखरा म्याराथनका लागि सहयोग आउने क्रम शुरु भएको छ ।
आगामी फागुन १ गते शनिवार पोखरामा आयोजना हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन”का लागि जेन मार्शल आर्ट एकेडेमी यूकेले नगद रु ५० हजार सहयोग गरेको हो । त्यसै म्याराथनलाई भव्य रुपमा सफल बनाउन सहारा हङकङले समेत २५ हजार सहयोग गर्ने भएको छ ।
मञ्चले आयोजना गरेको स्वागत कार्यक्रममा एकेडेमीका सञ्चालक तथा तेक्वान्दोका सिनियर प्रशिक्षक इन्द्र गुरुङले नेपालको जेठो र गरिमा बोकेका पोखरा म्याराथन अभियानमा साथ दिन पाउँदा आफू निकै गौरवान्वित भएको बताए । उनले १५ औं सस्करणको सफलताको शुभकामना व्यक्त गर्दै ५० हजार सहयोग गर्ने घोषणा समेत गरे ।
सोही अवसरमा मञ्चका आजिवन सदस्य समेत रहेका सहारा हङकङका अध्यक्ष दिपक गुरुङले १५ औं सस्करणको पोखरा म्याराथनका लागि २५ हजार सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा मञ्चका आजिवन सदस्य कृष्ण गुरुङले पोखरा म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, उपाध्यक्ष दिल बहादुर गुरङ, महासचिब खेम बहादुर गुरुङ, कार्य समिती सदस्य योगेन्द्र बहादुर वस्नेत लगाएतले हालै मातृभूमी आउनुभएको उनीहरुलाई स्वागत गरेका थिए ।