‘सहकार्य गर्दै चुनौती पन्छ्याउ छु’–मन्त्री तामाङ

काठमाडौं सम्वाददाता । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावाङ तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा सो कुरा बताएका हुन् । उनले भने–“खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालहरु संग सहकार्य गर्दै पन्छ्याउने छु ।” राखेपका अध्यक्ष समेत रहेका मन्त्री तामाङले खेलकुदमा भएका समस्याका बारेमा चाँडै नै छलफल गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलकुद र खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गरे । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नु पर्नेमा जोड दिए ।

राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद मन्त्रालयले उपयुक्त मन्त्री पाएको धारणा व्यक्त गर्दै व्यवस्थापन, पदक, प्रदर्शन र पूर्वाधारका हिसाबले १३ औं दक्षिण एसियाली खेलकुद उत्कृष्ट रहेको जानकारी गराए । सदस्य–सचिव सिलवालले नयाँ ऐन अनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नु पर्ने आवश्यकता औल्याए ।

चालू आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा बृद्धिका लागि पहल गरिदिन मन्त्री तामाङ समक्ष आग्रह गर्दै सदस्य–सचिव सिलवालले कोभिड– १९ का कारण नवौं राष्ट्रिय खेलकुद सार्नु परेको बताउदै विस्तारै नेपाली खेलकुदले गति लिन थालेको बताए ।

कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close