
पोखरा स्पोर्टस । व्यास ३ देउरालीनगरमा अन्डर १४ फुटबल प्रतियोगिता शुरु भएको छ ।
स्थानीय रिभरसाईड युवा क्लबको आयोजनामा शुरु फुटबलको व्यास नगरपालिकाका नगरसभा सदस्य एवं तनहुँ जिल्ला फुटबल संघका उपाध्यक्ष रबिन पौडेलले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन खेल न्यु स्टार र हाइ स्कुलटार बीच भएकोमा न्यू स्टार १ गोलले विजयी भएको छ ।
खेलको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मादी तटमा बीच फुटबलको विकास गरी खेलकुद र पर्यटन संगसंगै लैजान राष्ट्रिय खेलाडीहरुलाई अनुरोध गरे । उनले खेलाडीहरुको लागु औषधमुक्त युवा समाज निर्माण अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
रिभरसाईड युवा क्लवका प्रतियोगिता संयोजक एवं ए डिभिजन लिगका खेलाडि विश्व अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा मनाङ्ग मस्र्याङ्गदी क्लबका खेलाडी बिमल राना, संकटा क्लवका दिपेश आले, अर्डर क्लब भण्डारढीकका प्रशिक्षक सुवास तामाङ, अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटबलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।
‘लागु औषधमुक्त युवा समाज निर्माण’ नाराका साथ शुरु प्रतियोगिता देउरालीनगर खेल मैदानमा चल्नेछ । राष्ट्रिय स्तरका क्लबमा आवद्ध खेलाडिहरुले विगत एक वर्ष देखि प्रशिक्षण गराईरहेका तनहुँ र कास्कीका १० क्लबको फेस्टिबलमा सहभागिता रहेको छ ।
पवन पौडेल