भेट्रान्स टेनिसमा एकलतर्फ विकास, डबल्सतर्फ नविन जोडीलाई उपाधी

पोखरा स्पोर्टस । पोखरा सडक महोत्सवको अवसरमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधी विकास गुरुङ्गले तथा डबल्सतर्फको उपाधी नविन जोडीले जितेका छन् ।

मंगलबार लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा सम्पन्न फाइनल खेलमा विकासले कर्ण तामाङ्गलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे । डबल्सतर्फ नविन श्रेष्ठ र नविन चालिसेको जोडीले विकास गुरुङ्ग र सूर्य भुजेलको जोडीमाथि ३–६, ६–३ र सुपरटाइमा १०–८ को कठिन नतिजा निकाल्दै उपाधी आफ्नों पोल्टामा पारेको हो ।

प्रतियोगितामा एकलतर्फको विजेता तथा उप–विजेता खेलाडीले नगद १० हजार र ५ हजार सहित ट्रफि पुरस्कार पाए भने डबल्सतर्फका विजेता तथा उप–विजेता खेलाडीलाई नगद ७ हजार र ४ हजार सहित ट्रफिले पुरस्कृत गरिएको थियो ।

विजयी खेलाडीहरुलाई नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले एक कार्यक्रमका विच पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले पर्यटकिय शहर पोखरालाई खेलकुदको शहर बनाउनुपर्नेमा जोड दिए । खेलकुदका माध्यमबाटपनि यहाँको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुगेको बताउँदै पर्यटन विकाससंगै युवा खेलाडी उत्पादनतर्फ पनि खेल संघहरुले ध्यान दिनुपर्ने पौडेलको भनाई थियो ।

कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, प्रतियोगिता संयोजक लोक गुरुङ्ग लगायतले टेनिस विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण भएको औल्याएका थिए ।

यसअघि फाइनल खेलको शुरुगर्दै आयोजक रेवान पोखराका उपाध्यक्ष नरेश भट्टराईले बुधबारदेखि पोखरामा शुरु हुन लागेको २२ औं पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिंदै महोत्सव सफल पार्न पोखरेलीलाई आग्रह गरेका थिए । एशियन कंक्रिटो प्रालिले नगद पुरस्कारको प्रायोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close