
पोखरा स्पोर्टस । माछापुच्छ्रे गाउँ पालिका वडा नं ६ भिंडावारीमा निर्माण हुन लागेको एन्फा टेक्निकल सेन्टर निर्माण स्थलमा नदी नियन्त्रणका लागि टेण्डर आवह्वान गर्दै सूचना जारि गरेको छ ।
अन्तर्राष्ट्रिय फुटबल संघहरुको छाता संस्था फिफाको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्माण गर्न लागेको टेक्निकल सेन्टर निर्माण पूर्व मर्दी खोला नियन्त्रण गर्न चेक ड्याम बनाउनुपर्ने आवाज उठेपछि गाउँ पालिकाले नदी नियन्त्रण गर्न लागेको हो ।
सो वारे जानकारी दिंदै गाउँ पालिका अध्यक्ष कर्ण बहादुर गुरुङले गण्डकी प्रदेशकै गहनाको रुपमा निर्माण हुने परियोजना निर्माण सम्पन्न गर्न नदी नियन्त्रण गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो–“करिव १ अर्व खर्च हुने परियोजनाका लागि गाउँ पालिकाले नदी नियन्त्रणका लागि पहल गरेको हो ।” उहाँका अनुसार पहिलो चरणमा १ करोड ४० लाख खर्च गरिने छ । नदी नियन्त्रण गर्न करिव ५ करोड ७६ लाख खर्च हुने अनुमान गरिए पनि चालु आर्थिक वर्षका लागि उक्त रकम खर्च गरिने भएको छ ।
अध्यक्ष गुरुङले गाउँ पालिकाबाट नदी नियन्त्रणका लागि स्रोत जुटाउन निकै समस्या रहेको बताउँदै मर्दीकै वालुवा र गिटीबाट प्राप्त स्रोत बाट नै नदी नियन्त्रण गर्न लागिएको बताउनुभयो । “हामीले राम्रो कामको लागि नदीको गिटी र वालुवा विक्री गर्ने योजना बनाएर स्रोत जुटाउने प्रयास गर्यौ तर त्यसमा पनि हामीलाई मुद्धा पर्यो”, अध्यक्ष गुरुङले भन्नुभयो–“करिव १ अर्वको परियोजना सफल बनाउनका लागि कहीं न कतैबाट स्रोत जुटाउन त पर्थ्यो नै त्यही भएर नदीकै स्रोतलाई परिचालन गरेका हौं ।”
यस अघि गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले समेत उक्त स्थानको अवलोकन गरि आवश्यक स्रोतका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने बताइसक्नु भएको छ । अध्यक्ष गुरुङले भन्नुभयो–“यो माछापुच्छ्रेका लागि मात्रै नभई प्रदेशकै गौरवको आयोजना भएकोले यसलाई सफल बनाउन प्रदेश सरकारको सहयोग आवश्यक छ ।” नदी नियन्त्रणको काम चाँडै नै शुरु हुने बताउँदै अध्यक्ष गुरुङले एन्फा टेक्निकल सेन्टरको शिलन्यासको बाटो समेत खुल्ने बताउनुभयो । उहाँले भन्नुभयो–“शिलन्यास अघि नै नदी नियन्त्रण गर्नुपर्ने आवाज उठेकोले गाउँ पालिकाले पहल गरेको हो, आशा छ अव एन्फाले टेन्डर सँगै शिलन्यासको कामलाई अघि बढाउनेछ ।”
