
पोखरा स्पोर्टस । सात वर्ष अमेरिका फुटबल क्लवको प्रशिक्षण पछि फर्किएका प्रदिप हुमागाँई भन्छन–“अव अवसर पाए नेपाली फुटबल विकासका लागि काम गर्छु ।” फुटबल प्रशिक्षकको एफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुमागाँईले पोखरा स्पोर्टसको कुराकानीमा भने–“लामो समय अमेरिका वसे, त्यहाँबाट सिकेको कुरा अव नेपाली फुटबलमा लागु गर्न उत्साहित हुँदै मातृभुमी फर्किएको छु ।” उनी आफू यति बेला अखिल नेपाल फुटबल संघ (एन्फा)को जवाफी प्रतिक्षामा रहेको बताउँदै नेपाली फुटबल विकासका लागि एकेडेमी खोल्ने सोच समेत रहेको बताए ।
पोखरालाई निकै मन पराउने उनी पोखरा आएको वेला अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित र सम्पादक केशव पाठक सँग गरिएको कुराकानी–
किन नेपाल फर्किनुभयो ?
म सात वर्ष अमेरिका बसे । त्यहाँको एउटा एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै सिक्ने र सिकाउने अवसर प्राप्त गरे । आफूले त्यहाँ सिकेको कुरा अव नेपाली फुटबलमा केही गर्नुपर्छ भनेर स्वदेश फर्किएको हुँ ।
विदेशमा धेरै अवसर थिए होलान, नेपाल नै रोज्नुको पछाडीको उद्धेश्य ?
हो पक्कै विदेशमा धेरै अवसर थिए र छन । तर म सात वर्ष अघि नेपाली क्लव च्याम्पिएन प्रशिक्षक समेत हो । म च्याम्पिएन प्रशिक्षक भइरहँदा यो भन्दा धेरै गर्नुपर्छ भन्ने सोँचमा थिए । त्यही भएर पनि मैलै अमेरिका र युरोप लगाएत देशमा पुगे, मैलै मेरो जिवनमा फुटबलमा निरन्तरता दिनु पर्छ भन्ने थियो र त्यो निरन्तरता जारिनै छ । अमेरिकाको एक क्लवमा वेसिक देखि एडभान्स लेभल सम्म मैले प्रशिक्षण दिँए । सात वर्ष काम गरे पछि अव नेपाली फुटबलमा आफूले सिकेको कुरा नेपाली फुटबललाई दिने उद्धेश्यका साथ आएको हुँ ।
यति बेला नेपाली फुटबलको सम्भावनालाई कसरी लिनुहुन्छ ?
नेपालको फुटवलको क्वालिटी छ, त्यसको म्यानेजमेन्ट हुन सकेको छैन । धेरै इनपुट दिनुपर्ने छ । नेपाली फुटबलको क्वालिटीलाई जोगाई राख्न गर्नु पर्ने म्यानेजमेन्टका कुरा र टेक्निकल पक्षबाट दिइने ‘इनपुट’ दिन सक्यो भने यसले नेपाली फुटबललाई माथी उठाउन सहयोग पुग्छ । यस सँगै नेपाली फुटवलको फ्यानहरुको क्रेज पनि निकै ठूलो छ । जहाँ फुटबल फ्यानको क्रेज हुन्छ त्यहाँ फुटबलको सम्भावना निकै राम्रो हुन्छ त्यसैले म्यानेजमेन्टको पक्षलाई अझै बलियो बनाउनुपर्ने आवश्यक्ता देख्छु । नेपालमा सम्भावना धेरै छ, तर फुटबल विकासका लागि गर्नुपर्ने कामलाई अझै निखरता ल्याउन आवश्यक छ ।
कोभिड १९ का कहरका विच नेपाली फुटबल खेलको अवस्था के देख्नुहुन्छ, यस विचमा नेपाली राष्ट्रिय टोलीले वंगालादेश सँग मैत्रीपूर्ण खेल पनि खेल्यो यसलाई कसरी मुल्याङकन गर्नु हुन्छ ?
यो कोभिड कहरका विच नेपाली राष्ट्रिय टोलीले २ वटा मैत्रीपूर्ण म्याच खेल्यो । त्यो गेमलाई राम्रो तरिकाले हेर्न भने सकिन्छ, किनभने यो खेलले दक्षिण एसियामा नै चैत देखि यताको ‘ग्याप’लाई तोड्ने काम गर्यो । लामो समयको अन्तरालमा खेलिएका यि २ खेलले नेपाली फुटबल टिमको पदर्शनलाई मापन गर्न मिल्दैन तर यसले सम्भावना निकै बलियो बनाएको छ । अहिले एन्फाले ५०–५५ जनालाई क्लोज क्याम्पका लागि बोलाएको थाहा पाएको छु यसले नयाँ पुस्ताका लागि फुटबलको ढोका खोलेको छ । कोभिड १९ का विच पनि जसरी युरोपेली मुलुकहरु लगाएत अन्य देशले फुटबललाई निरन्तरता दिएका छन नेपालमा पनि निरन्तरता आवश्यक छ ।
यहाँले टेक्निकली नेपाली फुटबलको म्यानेजमेन्टको पक्षलाई कसरी हेर्नुहुन्छ र अहिलेको अवस्था के छ ?
नेपाली फुटबलमा दुर दृष्टिको आवश्यकता छ जुन अहिले देखिएको छैन । टिम भित्र हेर्दा खेलाडी खेलाडी विच एक आपसमा विश्वासको अभाव छ । ‘नेगेटिभिटी’को रोग नेपाली फुटबलमा वढदै गएको छ । टिममा ‘पोजेटिभिटी’ पक्षलाई ‘विल्ड अप’ गराउने काम टेक्निकल टिमको हो अर्थात प्रशिक्षकको हो । त्यो आधार तयार गर्न सक्ने राम्रो टेक्निकल टिम आवश्यक्ता नेपाली राष्ट्रिय टिममा सँधै खड्किएको छ । टेक्निकल टिम वा प्रशिक्षक एडभान्स लेभलको भयो भने नेपाली फुटबललाई धेरै माथी उठाउन सकिन्छ । ‘पोजेटिभ रिजल्ट’ दिनका लागि दुरदृष्टि तरिकाले सोच्न र त्यही अनुसारको योजना बनाउन पनि आवश्यक छ ।
अव तपाई नेपाली फुटबलले यहाँलाई टेक्निकल टिममा बसेर काम गर्न दिने अवसर पाउँछु भन्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
त्यो मैले अहिले नै यसै भन्न सक्ने अवस्था भने छैन । त्यही कुरा गर्न सिकेर आएको हुँ, पढेको पनि हुँ । त्यो एन्फाले भन्ने कुरा हो । फुटबलमा टेक्निकली अध्ययन गरेको हुनाले एन्फाले अवसर दिन्छ भन्नेमा म आशावादी भने छु । म एक्लैले सबै कुरा गर्ने भन्ने पनि होइन । एन्फाको सिनिएर टिम छ, उहाँहरुबाट पनि सिक्दै आफूले जानेको कुरालाई फुटबल विकासका लागि दिने हो । राम्रो टेक्निकल टिम बन्यो भने पक्कै पनि नेपाली फुटबलले फड्को मार्छ भन्नेमा म विश्वस्त छु ।
अहिले पूर्व राष्ट्रिय खेलाडीले नेपाली फुटबलको टेक्निकल पक्षलाई हेरिरहेको अवस्था छ, यहाँलाई त्यो ठाउँमा प्रवेश पाइन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
काम गर्न सजिलो भए पनि हो यहाँले भने जस्तै त्यो ठाउँमा प्रवेश पाउन निकै गार्हो भने छ । हाम्रो सोच फुटबल विकासमा पुरातनवादी नै छ । फुटबल प्रशिक्षकले फुटबल खेलेकै हुनुपर्छ भन्ने होइन । विश्वका टप कोचहरुले पनि फुटबल खेलेका छैनन । विश्वका धेरै फुटबल विकास क्रममा यस्ता धेरै उदाहरणहरु छन । तर नेपालमा यसको ठिक उल्टो छ । यसलाई वुझ्न र वुझाउन आवश्यक छ फुटबल नखेलेको मान्छेले टेक्निकली त्यसबारे विज्ञ छ भने फुटबल प्रशिक्षण दिन सक्छ र उ टप कोच बन्न सक्छ ।
एन्फाले यहाँलाई जिम्मेवारी दिनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
एन्फाले मलाई जिम्मेवारी दिनेमा पूर्ण रुपमा विश्वस्त छु । तर यदि एन्फाले त्यो जिम्मेवारी दिएन भने पनि मैले एकेडेमी सञ्चालन गर्ने तयारी गरेको छु । मेरो सोच नेपाली फुटबलको विकासका लागि केही गर्ने नै हो । एन्फा भने फुटबलको घर हो । म पनि फुटबलका लागि केही गर्ने सोच बनाएकोले मेरो घर (एन्फा)बाट मलाई आशा भने छ । म उहाँहरुको सकारात्मक उत्तरको प्रतिक्षामा छु ।
एकेडेमी सञ्चालन गर्ने योजना रहेको बताउनुभयो नेपालमा फुटबल एकेडेमीको सम्भावना कत्तिको देख्नुहुन्छ र यहाँको एकेडेमी कस्तो हुनेछ ?
नेपालमा व्यवस्थित फुटबल एकेडेमीको आवश्यक्ता छ । क्लवहरुले वेसिक लेभलबाट नै खेलाडी उत्पादनमा लाग्नु पर्छ । त्यसो भयो भने मात्रै ति एकेडेमीले पक्कै पनि नेपाली फुटबलको विकासमा योगदान गर्न सक्नेछन । हो यदि मैले एन्फाबाट सकारात्मक जवाफ आएन भने एकेडेमी काठमाडौमा एकेडेमी खोल्ने सोच मेरो हो । त्यो भनेको वेसिक लेभल हुँदै लिगमा खेलाडी विक्री गर्ने योजना सम्म छ । तर त्यो योजना लामो हो, ४–५ वर्ष लाग्छ होला । अहिले बेसिक लेभल हुँदै यू १८ लेभल सम्मका लागि प्रशिक्षण दिनेगरि एकेडेमी सञ्चालन गर्ने योजनामा छु । खेलाडी उत्पादन भन्दा पनि भिजन र क्वालिटीमा विश्वास गर्छु र त्यही अनुरुप एकेडेमी सञ्चालन गर्ने सोच हो । तर एकेडेमी भन्दा पनि अहिले राष्ट्रिय टिममा केही गर्न पाए भन्ने आशामा छु ।
उसो भए एन्फाले वोलाउँछ भन्नेमा ढुक्क हुनुहुन्छ ?
हो म निकै विश्वस्त छु । धेरैले ‘यू डिजर्भ’ भन्नुभएको छु । तर अहिले नै केही भन्ने अवस्था छैन । म ट्रष्ट र भिजनमा काम गर्ने हो । मैले अहिले कुनै कुरामा शंका गरेको छैन । मैले उहाँहरुले वोलाउनुहुन्छ र काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा शत प्रतिशत विश्वस्त छु । जुन तरिकाले एन्फाले काम गरेको छ त्यो निकै राम्रो देखेको छु । ग्रास रुटको लेभलमा पनि एन्फाले काम गरेको छ । पेपर वर्कमा एन्फाको काम निकै प्रशंसनिय छ । तर ग्राउण्ड लेभलमा भएको प्रेक्टिसको अवस्थाले सबै कुरा दर्शाउने हो । एउटा राम्रो टेक्निकल टिमले नै फुटबल विकासको लागि ‘व्रोड्ल्ली’ सोच्न सक्छ भन्नेमा म रहेकोले एन्फाले मलाई बोलाउँछ भन्नेमा ढुक्क छु ।