जाने होइन त विश्वकै अग्लो ठाउँमा बन्जी जम्प गर्न ?

पर्बत कुश्माको बन्जी जम्प यहि १५ गते बाट संचालनमा आउने

पोखरा स्पोर्टस । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते शनिबारदेखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने भएको छ ।

२०७३ सालदेखी पुलको निर्माण सुरु गरिएको थियो । यस अघि पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सन्चालनमा आउन नसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

बिश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी
५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा आफुलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ बिश्वकै अग्लो बनेको कार्कीले बताए। बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ। टेण्डम (जोडि) स्वीङको १२ हजार छ।

गुलेली शैलीको पिङ
बन्जीकालागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ। चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ। पिङ खेल्न प्रतीब्याक्ती २ सय ५० रुपैयाँ लाग्ने कार्कीले बताए।

स्काइ साइक्लीङ
स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ तयार गरिएको हो । विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ। दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने कार्कीले बताए। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लीङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए। साइक्लीङकालागि आवस्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए । साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ। स्काइ साइक्लीङको सन्चालन भने केही महिना पछि गरिने बताइएको छ।

रिसोर्ट
बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा द क्लिफ रिसोर्टु बनेको छ । २१ वटा सफारी टेण्ट रहेको रिसोर्टमा ७० जना अट्ने छ्न ।

लगानी
सम्पुर्ण परियोजना सक्न बीस करोड खर्च हुने योजना भए पनि लकडाउनले गर्दा समयमा उद्घाटन गर्न नपाएर लागत बढि २८ करोड पुगेको कम्पनिका अध्यक्ष राजु कार्की बताउँछन । अध्यक्ष कार्की सँगै युवराज जोशी, नेत्र प्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मा लगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ । बन्जी र स्वीङकालागि बनाइएको पुलको मात्र लगानी ८ करोड बढी रहेको बताइएको छ। १ सय २० रुपैयाँ तिरेर उक्त पुल वारपार गर्न सकिन्छ।

कसरी पुग्ने
पोखरा बाट ५५ किमि, अन्नपूर्ण बेसक्याम्प को गेटवे नयाँपुल बाट १५ किमि दुरिमा अवस्थित छ । काठमाडौ, चितवन, पोखराबाट पर्वत कुश्मा सम्म सजिलै सार्वजनिक बस पाइन्छ। पोखराको बाग्लुङ बसपार्कमा गएर कुश्मा सम्म पुग्ने (सेयरिङ ट्याक्सी)मा पनि जान सकिन्छ। द क्लिफमै गाडी सहितको प्याकेज बुक गरेर पोखरा-कुश्मा दुइतर्फी गाडीको सुबिधा लिन सकिन्छ। जम्प नगर्ने तर हेर्न मात्र जान चाहने ब्यक्तिले २ हजार रुपैयाँ तिरेर प्याकेज रोजेर दुइतर्फी गाडीको सुबिधा लिन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close