गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङद्वारा प्रस्तावित एन्फा टेक्निकल सेन्टरको स्थलगत निरीक्षण 

"बजेट नभएपनि अतिरिक्त निर्णय गरेर नदि नियन्त्रण गर्छौं" मुख्यमन्त्री गुरुङ 

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अखिल नेपाल फुटबल संघ(एन्फा)द्वारा प्रस्तावित कास्कीको माछापुछ्रे गाउँपालिका–६ भिँडाबारी एन्फा टेक्निकल सेन्टर (एन्फा एकेडेमी)को स्थलगत निरीक्षण गर्नुभएको छ ।

केही दिन अघि आफ्नो नदी नियन्त्रणको प्रस्ताव लिएर एन्फा अध्यक्ष कर्मा छिरीङ शेर्पाले मुख्यमन्त्री गुरुङलाई भेटे लगतै मुख्यमन्त्री गुरुङले उक्त ठाउँको स्थलगत निरीक्षण गर्नुभएको हो । अन्तर्राष्ट्रिय फुटवल महासंघ (फिफा)को सहयोगमा आधुनिक र सुविधासम्पन्न फुटबल एकेडेमी निर्माणको प्रक्रिया एन्फाले अघि बढाएको प्रस्तावित जमिनको पूर्व र पश्चिम दुबैतर्फ इदी र मर्दि खोलाको कटान नियन्त्रणका लागि तटबन्धनको काम शुरु गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ । सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य रामजी प्रसाद बराल लगायतको टोली समेतले मुख्यमन्त्री सङ्गै स्थलगत निरीक्षण गरेको थियो ।

भिँडाबारीमा एन्फा एकेडेमी निर्माण हुने स्थलमा रहेको ५०० रोपनी सार्वजनिक जमिन मध्ये २७४ रोपनीमा एकेडेमी निर्माणका लागि फिफाले पहिलो चरणमा एन्फालाई रु १७ करोड बजेट उपलव्ध गराएकोमा एन्फा कार्यसमितिले त्यसलाई अनुमोदन गरिसकेको छ । परियोजनाको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर), जमीन नाप जाँच लगायतका कार्यहरु सम्पन्न भएर निर्माणका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भएपनि प्रश्तावित स्थलको दुबैतर्फ नदी तटवन्धनको कार्य गर्न एन्फाले आग्रह गरेका माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–“एकेडेमी निर्माणका लागि सम्पूर्ण माछापुच्छ्रेवासी तथा स्थानीय उत्साहित छन् । हामीले स्थानीयस्तरमा गर्नुपर्ने सबै काम सम्पन्न गरेर पठाएका छौँ तर शिलान्यास अघि तटबन्धनको काम गर्न एन्फाले प्रदेश तथा स्थानीय सरकारसँग आग्रह गरेको छ ।”

एन्फाले प्रस्ताव गरेको सो एकेडेमीमा एक मुख्य मैदान सहित दुई वटा अभ्यास मैदान, दुई फुटसल मैदान, चार छात्रवास भवन, दुई छात्रावास, प्रशासन भवन, चमेनागृह, दुई पाहुना ब्लक,जीम, मेडिकल तथा पुर्नःस्थापना केन्द्र, आर्टिफिसियल मिनि पीच, रनिङ वाटर स्विमिङ पुल, दुई बीच फुटबल मैदान लगायतका संरचना बनाउने योजना रहेको छ ।

निरीक्षणपछि मुख्यमन्त्री गुरुङले परियोजना शुरुआत गर्नुअघि मर्दी र इदी खोलाले कटान गरेको जमीन संरक्षणका लागि प्रदेश सरकारले काम अघि बढाउने बताउनुभएको छ । तटबन्धनका लागि प्रदेश सरकारको बजेट र कार्यक्रम नभएकाले अतिरिक्त निर्णय गरेर भएपनि काम गरिने बताउँदै मुख्यमन्त्री गुरुङले भन्नुभयो-“यो फुटबल ट्रेनिङ एकेडेमी अन्त जान दिँदैनौ, अहिले कार्यक्रम र बजेटमा नभएकाले अतिरिक्त निर्णय गर्नुपर्ने हुन्छ, पोखरादेखी नजिकको यस ठाउँमा गण्डकी प्रदेशकै गौरवको परियोजना एन्फा टेक्निकल सेन्टर बनाउन आवश्यक कार्य गर्न सरकार प्रतिवद्ध छ ।”

नदी कटानको जोखिमलाई देखाएर परियोजना अन्यत्र जान्छ कि भन्ने आशंका रहेपछि त्यसो हुन नदिइने मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो । उनले भने,”खोलाले कटान गरेको स्थिति भइरहँदा र सरकारको चासो नहुँदा अन्य प्रस्तावित ठाउँमा यो परियोजना जान्छ कि ? लगानीमा जोखिम हुन्छ कि भन्ने छ । प्रदेश सरकारको तर्फबाट के गर्न सकिन्छ भनेर म आँफै निरीक्षणका लागि आएको हुँ,” गुरुङले भन्नुभयो । परियोजनामा चार चरणमा गरी ८० देखी ९० करोड हाराहारीमा लगानी हुने जानकारी एन्फाका अध्यक्ष कर्माछिरीङ शेर्पाले आफूलाई जानकारी गराएको उहाँले उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले सडक पहुँचबाट सुगम र रमणीयस्थलमा एकेडेमी बन्दा यसले फुटबल विकासमा योगदान पुग्ने भएकाले एन्फा एकेडेमीको प्रस्तावित स्थलसँगैको मर्दी र इदि खोलाको दुबैतर्फनै कटान नियन्त्रणका लागि तटबन्धन गर्नुपर्नेमा जोड दिनुभयो । बरालले भन्नुभयो–“स्थानीय जनता परियोजनामा उत्साहित छन्, यसमा सबैको सहयोग मार्फत एकेडेमी बन्ने कुराको सुनिश्चितता गरिनुपर्दछ ।”
हिमाली आवाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close