पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार, १ अर्व ६० करोड खर्च हुने अनुमान (डिपिआरको भिडियो सहित)

केशव पाठक/पोखरा । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको पोखरा महानगरपालिका वडा नं ३३ स्थित पशुपतीघाट पोखरा अन्तर्राष्ट्रिय  क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार भएको छ ।

रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ अनुसार रंगशाला निर्माण गर्न १ अर्व ६० करोड लाग्ने जनाइएको छ । प्रदेश सरकारको गठन भएको तिन वर्ष पछि पशुपतीघाटको १ सय ७४ रोपनी जग्गा प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि पहल शुरु भएको हो । “रंगशालाको डिपिआर तयार भइसकेको र विस्तृत छलफल समेत भएको छ” गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिब तेज प्रसाद काफ्लेले भन्नुभयो–“अव जग्गाको संरक्षण र जग्गा सम्याउने काम शुरु हुनेछ ।”

विआरएस सोलुसन इन्जिनियरिङ्गले करिव १६ लाखको लागतमा निर्माण गरेको डिपिआरमा रंगशालाको क्षमता भने १८ हजार दर्शक क्षमताको हुने उपसचिव काफ्लेले बताउनुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न आर्थिक वर्ष २०७७/०७८ का लागि २ करोड विनियोजन गरे पनि त्यो रकम भने अव रंगशालाको जग्गा संरक्षणका लागि खर्चिने योजना रहेको उहाँले बताउनुभयो । रंगशालाको पश्चिम तर्फ सेतीनदीले विगतमा भन्दा यस वर्ष केही क्षती पुर्याएको वताउँदै उहाँले नदीको कटानलाई जोगाउन पोखरामहानगर पालिका वडा नं २९ र ३३ संग पनि समन्वय भइरहेको बताउनुभयो ।

“निर्माणको काम शुरु गर्नु अघि जग्गाको संरक्षण नै पहिलो काम भएको र त्यसका लागि छुट्टै डिपिआर बनाउनु पर्ने भएकोले जल उत्पन्न प्रकोप र भौतिक तथा पुर्वाधार मन्त्रालायका प्राविधिकको सहयोग लिन छलफल भइरहेको छ”, उपसचिव काफ्लेले बताउनुभयो । यहि असोज भित्र नदी व्यवस्थापनका लागि के गर्ने भन्ने वारे छलफल चलाउने र कार्तिकको दोश्रो साता सम्म डिपिआर तयार गर्र्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि ठूलो बजेटको आवश्यक्ता भएकोले पनि प्रदेश सरकारले स्रोत जुटाउनका लागि पहल गर्न छलफल अघि वढाइएको बताउँदै उपसचिव काफ्लेले भन्नुभयो–“वहुवर्षिय योजना अन्तरगत निर्माण शुरु गर्न र यसका लागि अन्तर्राष्ट्रिय विडिङमा समेत जानुपर्ने भए त्यही अनुसार अघि वढ्न पनि छलफल अघि वढेको छ ।” सरकारले अहिले व्यवस्था गर्ने भनेको रकम वा वजेटको रकमान्तर वा सुनिश्चितता गर्न सकियो भने पनि रंगशाला निर्माण गर्न ३ देखि ४ वर्ष लाग्ने बताउँदै त्यसो नगरि २ वर्ष भित्र खेल्न मिल्ने मैदान तथा पिच तयार गर्ने र अन्य कामहरु बजेटको सुनिश्चिता सँगै अघि वढाउने उहाँले बताउनुभयो ।

यस संगै निर्माण शुरु गर्नु अघि वातावरणिय प्रभाव मुल्याकंनका लागि पनि काम अघि वढाइएको उपसचिव काफ्लेले बताउनुभयो । रंगशाला सम्म पुग्ने बाटो, नदी नियन्त्रण, पेविलियन, पिच, होस्टल, भिआइपी विल्डिङ, मिडिया कक्ष लगाएत रहने डिपिआरमा जनाइएको छ । “सवै कुराहरु यतिवेला छलफलमा छन, तर यति वेला त्यहाँको मुख्यकाम भनेको यतिवेला नदी नियन्त्रण हो”, उहाँले भन्नुभयो । पोखराको क्रिकेट खेलका एक मात्र रहेको हालको पोखरा रंगशालाको क्रिकेट मैदान पछि निर्माण हुन लागेको पशुपतीघाट क्रिकेट मैदानले पोखरामा अव कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पोखरामा आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ ।

भिडियोका लागि यहा क्लिक गर्नुहोस् 

१ प्रतिक्रिया

  1. विडिओ चाहिँ मजाले चल्नेभो । रंगशाला त भैंसी चराउने क्षेत्र त बन्ला नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close