तेक्वान्दो खेल सिक्ने कला र यसका फाइदा

तेक्वान्दो कोरियन शब्द हो । कोरियाली भाषामा ‘ते’ भनेको खुट्टा ‘क्वान’ भने को हात र ‘दो’ भनेको प्रहार गर्नेकला हो । यसर्थ हात र खुट्टाको प्रयोग गरी खेलिने एउटा कलात्मक तथा मनोरनाजत्मक हुने खेलका रुपमा तेक्वान्दोलाई बुझिन्छ । तेक्वान्दो कोरियाको परम्परागत खेलहो भने यसको जन्म पनि कोरियावाट नै भएको हो ।

कोरियाबाट शुरु भएको यो खेल अहिले आएर विश्वभरनै खेलिन्छ । नेपालमा पनि यो खेल २०३९ सालबाट शुरु गरि यसप्रति चासो राख्ने ब्यक्तिको सँख्या बढ्दो छ र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाल देशलाई बिश्व सामु चिनाएको पनि छ । तेक्वान्दो विशुद्ध खेल मात्र नभएर स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्ययाम पनि हो । यसको अर्को फाइदा के छ भने मनोरञ्जन, व्ययामसँगै यसको माध्यमबाट ब्यक्तिको प्रतिष्ठा कायम गर्नपनि सकिन्छ । तेक्वान्दो गेरुगी र पुम्से विद्यामा खेल्न सकिन्छ ।

कसरी खेल्ने तेक्वान्दो?
तेक्वान्दो प्रायः विहान र बेलुकाको समयमा खेलिन्छ । खेलको शुरुमा दौडाइन्छ । जसले शरिर तताउनुका साथै फुर्तिलो बनाउँछ ।  त्यसपछि वार्मअप शुरु हुन्छ । यसमा टाउको, आँखा, कान, मुख, घाँटी, औँला, हात, नाडी, कुम, कम्मर, हिप, गोडा र पैतलाको छुट्टाछुट्टै व्यायाम गराइन्छ । यसले शरिरका प्रत्येक अंगहरुलाई व्ययाम पुगोस् । त्यसपछि साइड स्ट्रेचलगायतका गतिविधि गराइन्छ । यसले नशा खुम्चिनबाट जोगाउँछ । विशेषगरी साइड स्ट्रेचले शरिरका नशाहरुलाई फाइदा पुर्याउँछ । अनि गरिन्छ खेलाडीको स्तरअनुसारका लागि प्याटर्न पुम्से । यो भनेको शत्रुको कल्पनामा गरिने आत्मरक्षाको स्टेप हो । यसलाई पुम्से शो पनि भनिन्छ । त्यसपछि किक एक्सरसाइज हुन्छ । यसले विशेषगरी खुट्टा र हातको व्यायाम हुन्छ ।

कस्तो खाने डाइट ?
कुनै पनि व्यायाम सन्तुलित डाइटविना अधुरो हुन्छ । त्यसैले तेक्वान्दो खेल्दा पनि डाइटमा विशेष ख्याल राख्न जरुरी हुन्छ । विहानको समयमा मनतातो पानी पिएर त्यसको केही समयपछि तेक्वान्दो शुरु गर्न सकिन्छ । कडा व्यायामको बेला भने झुक्किएर पनि पानी पिउनु हुँदैन । केही छिन थकाई मारेर मात्र पिउनुपर्छ । र, उठेर पनि पानी पिउनु हुँदैन । तेक्वान्दो सक्काई सकेपछि पहिला झोलिलो पदार्थ सेवन गर्दा राम्रो हुन्छ । जसमा चना, केराउ, दाललगायतको भेजिटेवल सुपको प्रयोग गर्नुपर्छ । चना, अण्डा, माछा, मासु, फलफुलहरुको मात्रा मिलाएर नियमित सेवन गर्नुपर्छ । किनकी खेल खेलिरहदा शरिरको शक्तिमा ह्रास आइरहेको हुन्छ ।

कस्ता मानिसले खेल्ने ?
ठ्याक्कै यति उमेरदेखि तेक्वान्दो खेल्नुपर्छ भन्ने कुनै नियम छैन । तर, सानैदेखि खेल्दा राम्रो हुन्छ । ५–१० वर्षको उमेरदेखि नै आफ्नो बच्चालाई तेक्वान्दो खेलाउन सकिन्छ । सानो उमेरबाटै खेलको शुरुवात गर्दा सबैभन्दा राम्रो कुरा भनेको के भने उनीहरुमा पछिसम्म व्यायामको आदत बस्छ । जसले स्वस्थकर जीवन जिउनमा सहयोग पुर्याउने गर्छ । मोटोपनाबाट ग्रसितहरुले पनि तेक्वान्दोको सहारा लिएर शरिरलाई सन्तुलनमा राख्न सक्छन् । उमेर ढल्किसकेकाहरुले पनि यो खेल्न सक्छन् । उनीहरुलाई त्यही अनुसारको प्रशिक्षण हुन्छ । प्रौढहरुलाई मेडिटेसनबाट तेक्वान्दोको सुरुवात गरिन्छ ।  त्यति मात्र नभएर शारीरिक अपांगता भएकाहरुलाई पनि तेक्वान्दो निकै उपयोगी हुन्छ । प्रशिक्षकले शारीरिक अवस्थाअनुसार प्रशिक्षण दिन्छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अपांगता भएकालेहरुले पनि यो खेल खेलेर मेडल हात पारेका पनि छन ।
बोधराज गिरी तेक्वान्दो प्रशिक्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close