पशुपतीघाट क्रिकेट रंगशालाको डिपिआर तयार, २० हजार क्षमताको रंगशाला बन्ने तयारी

पोखरा । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको पोखरा महानगरपालिका वडा नं ३३ स्थित पशुपतीघाटको क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार भएको छ ।

प्रदेश सरकारको गठन भएको तिन वर्ष पछि पशुपतीघाटको १ सय ७४ रोपनी जग्गा प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि पहल शुरु भएको हो । “रंगशालाको डिपिआर तयार भइसकेको र प्रारम्भिक चरणको छलफल समेत भएको छ” गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिब तेज प्रसाद काफ्लेले भने–“प्रारम्भिक चरणको रिर्पोट हामीले पाइसकेका छौं, फाइनल चरणको रिर्पोट एक साता भित्र पाउने भएका छौंं ।”

प्रारम्भिक चरणको छलफलमा २० हजार क्षमता भनेकोमा दर्शक क्षमता संख्या केही कम हुने गरि डिपिआर निर्माण गरिरहेको कम्पनीले आंकलन गरेको छ । काठमाण्डौको विआरएस कम्पनीले तयार गरेको डिपिआरबारे मन्त्रालयका सचिब सहितको भएको छलफलमा १८ हजार दर्शक क्षमतामा कम नहुने गरि अन्तिम प्रतिवेदन तयार गर्न सुझाव दिइएको उपसचिब काफ्लेले बताए । “जग्गाको सर्भे हुँदा जग्गा केही भागमा नमिलेको प्रतिवेदनमा देखिए पनि १८ हजार संख्या नघटाई रंगशाला निर्माण गर्ने गरि डिपिआर तयार गर्न भनेका छौं,” उनले भने ।

पहिलो फेजमा सेती नदिबाट मैदानलाई जोगाउन संरक्षणका लागि नदी नियन्त्रणको काम गर्ने गरि निर्माण प्रक्रियालाई अघि बढाउनेतर्फ मन्त्रालय अघि बढेको उपसचिब काफ्लेले बताए । “यो वर्ष २ करोड वजेट विनियोजन भएको छ, यो रकमले के कति काम गर्न सकिन्छ त्यसबारे समेत डिपिआर तयार गर्न कम्पनीलाई भनेका छौं,”उनले भने–“यस संगै मैदानलाई तारवार गर्ने, सम्याउने, पर्खाल लगाउने लगाएत ‘मल्टी इयर’मा निर्माणको काम अघि बढाउने गरि फाइनल प्रतिवेदनमा उल्लेख गर्न भनेका छौं ।”

निर्माणका लागि सम्पुर्ण खर्चको विवरण भने अन्तिम प्रतिवेदनमा आउने उनले उल्लेख गर्दै मैदान निर्माण गर्न मात्रै १० करोड भन्दा वढी खर्च लाग्ने बताए । “यो प्रदेश सरकारको एक वृहत परियोजना मध्येको एक हुनेछ”, उपसचिब काफ्लेले भने–“कुन काम कहिले सम्म सक्ने र बजेटको आकार संगै निर्माण गर्नुपर्ने वाध्यता रहेकोले अन्तिम प्रतिवेदन तयार नभए सम्म कति खर्च लाग्छ भन्ने एकिन छैन,”उनले भने । मैदान सम्म पुग्नका लागि पोखरा महानगरपालिका वडा नं ३३ले बाटो बनाउने र यहि वर्ष नदी नियन्त्रणका लागि टेण्डर आह्वान हुन सक्ने उनले बताए ।

केही दिन भएको छलफलमा गण्डकी प्रदेश सरकारले आफ्नो अवधारणामा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको रंगशालाको विषयमा डिपिआर निर्माण कम्पनी संग प्रारम्भिक छलफल भएको बताउँदै उपसचिब काफ्लेले रंगशाला सम्म पुग्ने बाटो, नदी नियन्त्रण, पेविलियन, पिच, होस्टल, भिआइपी विल्डिङ लगाएतको निर्माणको कामका बारेमा समेत छलफल भएको बताए । “सवै कुराहरु यतिवेला प्रारम्भिक चरणको छलफलमा छन, अन्तिम प्रतिवेदन आउन दिनोस अनि कसरी अघि वढ्ने भन्नेबारे जानकारी दिनेछौ, त्यहाँको मुख्यकाम भनेको यतिवेला नदी नियन्त्रण हो”, उनले भने ।

पोखराको क्रिकेट खेलका एक मात्र रहेको हालको पोखरा रंगशालाको क्रिकेट मैदान पछि निर्माण हुन लागेको पशुपतीघाट क्रिकेट मैदानले पोखरामा अव कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न सहज हुने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close