
पोखरा । नेपाल वक्सिङ संघले लकडाउन अवधिमा गठन वा निर्वाचन भएका जिल्ला बक्सिङहरुलाई अमान्य हुने जनाएको छ ।
संघले आज एक प्रेस विज्ञप्ती मार्फत लकडाउन अवधिभर राष्ट्रिय खेलकुद परिषदको निर्देशन र नेपाल बक्सिङको अनुमति बिना गठन गरिएका जिल्ला, प्रदेश संघहरुलाई केन्द्रीय बक्सिङ्ग संघको मान्यता नहुने जनाएको हो । संघले भनेको छ–“मिति २०७६ साउन २५ को निर्णय एवं राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित संघको नामबाट झुटा प्रतिनिधी भन्दै जिल्ला संघ गठन गरेको भन्ने समाचार सुन्नमा आएकोले सो सम्बन्धमा नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यानकर्षण भएको छ ।”

राष्ट्र लगायत विश्वभरनै कोभिड – १९ को माहामारीले ग्रस्त भइरहेको र राष्ट्रको खेलकुद क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले यो महामारीबाट हुन सक्ने सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै कुनै पनि प्रकारको खेलकुदका गतिविधि लगायत संघसंस्थाको कुनै पनि कार्यक्रम अर्को सुचना नआए सम्म नगर्नु नगराउनु भन्ने मिति २०७६ फाल्गुन २८ मा परिपत्र भएकोले सोहि अनुसार नेपाल बक्सिङ्ग संघले मातहतका जिल्ला/प्रदेशको गठन एवं अधिवेशन कार्यक्रम नगर्न, नगराउनु सम्बन्धित सबै जिल्ला,प्रदेश बक्सिङ्ग संघले जानकारी गराएको छ ।
तर यहि अवधीमा कास्की जिल्ला वक्सिङ संघले भने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती र कास्की जिल्ला खेलकुद विकास समितीको रोहवरमा असार १९ गते पोखरामा कास्की जिल्ला बक्सिङको अधिवेशन सम्पन्न गरि सकेको छ ।
