
पोखरा । नेपाल सरकारका अर्थ मन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा युवा तथा खेलकुद मन्त्रालय अन्तरगत २ अर्व ३६ करोड बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा भन्दा यस वर्ष सरकारले बजेटमा भारी कटौती गरेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्व ९९ करोड विनियोजित गरेको अर्थ मन्त्रालयले यस वर्ष कटौती गर्दै २ अर्व ३६ करोडमा झारेको हो । यो चालु आर्थिक वर्षको भन्दा १ अर्व ६३ करोडले घटेको हो ।
बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री खतिवडाले खेलकुद मार्फत मुलुकको पहिचान र प्रतिष्ठाको लागि खेलकुद क्षेत्रको समग्र विकास अघि बढाउन संघ, प्रदेश र स्थानियतहको सहकार्यमा खेलकुद पुर्वाद्धारको बिकासमा ध्यान केन्द्रित गरिने जनाए । उनले भने–“एक स्थानिय तह एक खेल ग्रामको कार्यक्रम संगै प्रतियोगिता आयोजना र प्रशिक्षणका कार्यक्रमलाई विशेष रुपमा जोड दिइने छ ।”
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट विनियोजित गरिएको बताउँदै अर्थमन्त्री डा.खतिवडाले प्रतियोगिताका लागि पुर्वाधार निर्माण र व्यवस्थापनलाई बजेट विनियोजित गरिएको बताए । खेलकुद पुर्वाद्धार कमी भएको कर्णाली प्रदेशमा खेलकुद पुर्वाधारको विकास, उच्च पर्वतिय खेलकुद तालिम खेल केन्द्रको विकास र थप कभर्डहलको निर्माणमा जोड दिइएको उनले बताए ।
यस संगै अर्थमन्त्री डा.खतिवडाले बजेट प्रस्तुत गर्दै निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा अन्य क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसरको निर्माण एवम अन्य प्रादेशिक रंगशाला निर्माण शुरु गर्न आवश्यक रकम विनियोजन गरेको जनाए ।
