कौशिलाको भलिवल –‘यात्रा जारी छ, खोई कहिले टुङ्गिने हो ?’

केशव पाठक,
“३७ वर्ष भएछ है म भलिवलमा लागेको ? उनको आँखामा चमक आयो ।” एकाएक भावुक बनिन अनि भनिन–“भाईले पो सम्झाउनु भयो मैले त कति वर्ष भयो गनेकी समेत थिइन ।” २०४० सालमा खुट्टामा फोरा उठाउँदै म्याग्दी बाट पहिलो पटक दोश्रो राष्ट्रिय खेलकुदमा धौलागिरीको टिम बाट खेल्न हिड्दै पोखरा आएको उनलाई हिजो जस्तै लाग्छ रे । उनले भनिन–“त्यो यात्रा निकै रोमाञ्चपुर्ण थियो ।”

आफु भलिवलमा लागेको कति वर्ष भयो कौशिला खत्रीलाई सम्झना समेत छैन । निरन्तर भलिवलमा लागेकी उनलाई जिवनका ति पलहरुलाई भलिवलले यसरी विर्साएछ की नत लगन गाँँठोमा बाँधिइन नत संसारिक मोहमा वाँधिनुनै पर्यो ।

पोखरामा दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगिता थियो । उनी धौलागिरी अञ्चलको टिममा थिइन । भर्खरै १४ मा टेकेकी । पातलो जिउ । भलिवलको चमक थियो उनमा । पहिलो पटक देखिन ठुलो रंगशाला । धेरै दर्शकहरुको भिड । उनमा अझै जोश पलायो । जितेरै फर्किने अठोट थियो । गण्डकीको टिम पर्खर थियो । पराजित गर्न निकै कठिन । उनले गण्डकीका शटहरु यसरी ब्लक् गरिन । उनलाई उपमा दिइयो । नेपालकी पहिलो महिला भलिवल ब्लकर ।

प्रशिक्षकले घोषणा गरे राम्रो खेल्यो भने दुई गिलास दुध अनि दुई वटा अण्डा । “के पो थियो र त्यस बेला खेल्दा” कौशिलामा एक प्रकारले अहिलेका खेलाडीको सुबिधा संग दाज्न मन लाग्यो । “दुध र अण्डामा नै मख्ख थियौं ।” पहिलो पटक फाइनलमा धौलागिरीले जित्यो पदक गण्डकीलाई पराजित गर्दै । अनि उनको सवत्र खोजी हुन थाल्यो । उनी नभई टिमनै नवन्ने स्थिती सम्म रह्यो ।

त्यसो त कौशिला प्रावी तहमा पढदानै भलिवल खेल्ने गर्थिन । लाहुरेहरुले ल्याएको बल संग जुझ्दै म्याग्दीको मंगाला गाउँपालिका वडा नं ५ खिस्वाङ शारदा प्रावीमा ३ कक्षा उर्तिण गरिन । त्यसपछि अध्ययनका लागि जनप्रियमा भर्ना भइन । उनलाई राष्ट्रिय खेलाडी बन्ने त्यो सपना भने म्याग्दीको तातो पानीले पुरा गर्यो ।

केशिला परिवारका साथ तातो पानी आएकी थिइन । त्यहीं केही युवाहरु भलिवल खेलिरहेका थिए । उनी पनि त्यही मिसिइन । उनीहरुले भन्दा राम्रो खेलिन । उनले खेलेको त्यो दृष्य बागलुङ बाट गएकी भलिवल खेलाडी प्रमिला शाक्यले देखिन । अच्म्भमा परिन उनी । यति सानै उमेर बाट सिनियर पुरुष संग मिसिएर यस्तो भलिवल खेल्ने ? उनले सोधिन कौशिलालाई कुन विद्यालय कतिमा पढने सबै । उनले सबै विर्तान्त लगेर तत्कालिन धौलागिरी अञ्चलका सदस्य सचिबलाई सुनाइन । अनि त के थियो तत्कालिन अञ्चलाधिस मार्फत जनप्रिय विद्यालयका सबै भलिवल खेल्ने छात्राहरुलाई बागलुङ पठाउने आदेश पठाए । कौशिला सहित चार जना बागलुङ आए पहिलो पटक । उनी सहित दुई जना छनौटमा परे । अनि यात्रा सुरु भयो भलिवलको कौशिलाको ।

परिवारमा ८ छोराछोरीकी मध्येकी कान्छी कौशिला । सबैकी हाई–हाई । घरमा कुनै रोकटोक थिएन । क्षेत्री परिवारकी भएपनी उनलाई स्वतन्त्र थियो । कहिं कतै खेल्न जानु पर्यो भने दाईहरुले ५ को नोट थमाई हाल्थे । उनी आफ्नो विगत सम्झिदै भन्छिन–“त्यो बेलाको समाजमा क्षेत्रीकी छोरी खेलाडी हुन्छु भन्ने त लागेकै थिएन, समय विताउन खेलेको भलिवलले करिव ४ दशक पार गर्न लागेछ ।”

तत्कलिन पञ्चायती कालको त्यो खेलकुद फर्केर हेर्दा खेलाडीले पाइने भन्ने त केही छँदै थिएन । खेल्यो हिँड्यो । धैलागिरी राष्ट्रिय भलिवलमा २०४०, ०४१ र ०४२ मा च्याम्पियन बन्यो । शिलनै पच गर्यो । त्यसमा कौशिलाको महत्वपुर्ण योगदान रह्यो । उनका दाजुले भलिवल बाट फर्काउन समेत चाहे । २०४२ मा विरगञ्जमा हुने राष्ट्रिय भलिवलमा उनले कौशिलालाई खेल्न पठाउन चाहेनन ।

टिममा कौशिला नभएपछि शिल पच गर्ने धौलागिरीको सपना अधुरो हुन्थ्यो । यो कुरा टिमले राम्रै संग बुझेको थियो । दाईले भने अड्डी कसेका थिए । बहिनीलाई अव पढाउनु पर्छ भन्ने सपना थियो दाईको । तर पटक पटक गाउँमा नै लिन गए पछि दाई समेत हार खाए । बैनी कौशिलालाई फेरि भलिवल कोर्टमा फर्काउन पर्यो । उनी धौलागिरीको टिममा फेरी फर्किन । अनि टिमले शिल पच गर्यो धौलगिरीले विरगञ्जमा लगातार तिन पटक राष्ट्रिय च्याम्पियन हुँदै ।

कौशिला त्यतीमा मात्रै सिमित भइनन । लगातार भलिवल जिवनको अभिन्न अङ्ग नै बन्यो । दाईले पढाई संगै बहिनीको खेल जिवन पनि राम्रो हुने भन्दै काठमाण्डौ पुर्याएका थिए । एसएलसी उर्तिण पछि २०४३–०४४ मा काठमाण्डौको पदमा कन्या क्याम्पसमा भर्ना भइन इन्टर पढन । कलेज कलेज विच भलिवल प्रतियोगिता हुन्थ्यो । पाटन क्याम्पस संग फाइनल म्याच चल्दै थियो पदमा कन्यामा । उनी पनि टिममा थिइन । बाहिर पुगेको बल लिन जाँदा एक दर्शकले उनको आँखानै सुन्निने गरि हान्यो । अनि दर्शकहरुका विच सुरु भयोे ग्याङ्ग फाइट । उनलाई ति दिनहरु आज जस्तै लाग्छन ।

२०४६ सालमा इन्टरको पढाई सकेपछि उनी धौलागिरी अञ्चलका लागि सहायक प्रशिक्षक बनिन सानै उमेरमा । सहायक प्रशिक्षक बन्दा उनी भर्खरै २१ टेकेकी थिइन । जनआन्दोलन पछि पञ्चायती व्यवस्था ढल्यो । अञ्चल खेलकुद खारेजीमा परे । जागिर पनि गयो । २०५२ सालमा पुनः उनी प्रशिक्षक बनिन अनि सुर्खेत तर्फ लागिन । उनका आफन्तले अन्तर्राष्ट्रिय विमानस्थलमा जागिर लगाइदिन्छु भन्दा पनि उनी मानिनन । उनमा भलिवल जिउँदोनै थियो । उनले इयरपोर्टको जागिर त्याग्दै सुर्खेतको प्रशिक्षक बनिन । एक वर्ष बसेर उनी फेरी बागलुङ फर्किन ।

“संघको वार्षिक क्यालेण्डर अनुसार कुन जिल्ला कुन ठाउँमा प्रशिक्षणका लागि पुग्नु पर्ने हो संधै नेट र बलका साथ समयमानै उपस्थित भएँ ।” उनले थपिन–“अहिले पनि त्यो यात्रा जारी छ, खोई यो यात्रा कहिले टुङ्गिने हो भन्नै सक्दिन ।”

८ औं दक्षिण एसियाली खेलकुद (साग)मा काठमाण्डौ बोलाइयो कौशिलालाई नेपाली टिम हेर्नको लागि । तर त्यही विचमा उनले भारतको चेन्नईमा भलिवल प्रशिक्षणका लागि स्पेसियल डिप्लोमा कोर्स गर्ने मौका पाइन । १ वर्ष चेन्नई वसिन । २००६ मा फष्ट लेभल डिप्लोमा कोर्स जर्मनी बाट गरिन । भर्खरै जर्मनी बाट फर्केकी उनले पोखरा आउने मौका पाइन । तर यो भने यो उनको दोश्रो विदेश यात्रा थियो ।

उनी २०४४ सालमा पहिलो पटक मैत्रीपुर्ण म्याच खेल्न बैंकक पुगेकी थिइन । यहिनै नेपाली महिला भलिवल टिमको पहिलो विदेश यात्रा थियो । तर महिला टोलीलाई चिनको संघाईमा एसियन गेम्सको लागि भन्दै काठमाण्डौमा प्रशिक्षणमा बोलाइएको थियो । एसियन गेम्समा नजाने टुङ्गो भएपछि टिमलाई चित्त बुझाउन बैंकक पठाइयो । बैंककमा १२ दिन बस्दा विभिन्न टिम संग नेपाली महिला टोलीले खेल्यो ।

२०६३ सालमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा जागिर सरुवा हुँदै उनले ज्ञानुवावामा महिला खेलाडी उत्पादन तर्फ लागनि । उनको परिश्रमको फल त्यहाँ बाट नयाँ रुपले प्रस्तुत भयो । ज्ञानुबाबा बाट धेरै राष्ट्रिय महिला खेलाडीहरु उत्पादन भए । मञ्जु गुरुङ, परिक्षा गुरुङ, होम कुमारी पुन, सुसी खडका, मान्ती आले, सुप्रिया गुरुङ, रिता पुन, विना खडका, सावित्री पौडेल, अरुणा शाही लगाएत उनको प्रत्यक्ष प्रशिक्षणमा खेले । पश्चिमाञ्चललाई ४ पटक लगतार च्याम्पियन बनाउन उनको भुमिका रह्यो ।

संधै टिमका साथीहरुले चौधरी चौधरी भन्दै जिस्काउने गरेको सुनाइन । सुरु सुरुमा त धेरै रिस उठ्थ्यो रे । उनले सोचिन राम्रो भनेर हो की नराम्रो भनेर होला यो चौधरी भनेको । तर उनलाई यसमा खासै मतलव भएन एकनासले भलिवलमा लागिरहिन । एकलव्य जस्तै बनेर । अझै पनि उनमा त्यो एकाग्रता हराएको छैन ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कौशिलाले विच महिला भलिवल तर्फ प्रशिक्षक भइन । पहिलो पटक समावेश विच तर्फ नेपालले काश्य पद जित्यो । विनिता बुढाथोकी र नेविका चौधरी विच तर्फ नेपालका लागि खेले । यस्तो एतिहासिक जित हुँदा समेत भलिवल संघले कुनै सम्मान गरेन । कुनै वास्ता नहुँदा उनको चित्त दुखाई छ । राज्यले पुरुस्कार रकम त दियो, तर इन्डोर भलिवलका लाई जसरी सम्मान गरियो विच भलिवलका लाई कुनै वास्ता नहुँदा जितमा पनि निराशाको भाव उनमा छचल्किन्छ ।

पश्चिमाञ्चलकै महिला भलिवलकी प्रशिक्षक रहेकी कौशिलालाई यति बेला पश्चिमाञ्चलको महिला भलिवल टिम खस्किएकोमा दुख लाग्छ । राम्रो हुँदा सम्म सबैले हाई हाई गरे । सागमा मञ्जुलाई टिममा समावेश नर्गदा पश्चिमाञ्चलका अरु जुनियर खेलाडीमा त्यसको अझै वढी नराम्रो प्रभाव परेको छ यति बेला । उनले भनिन–“अहिले त टिममा पहिरो जस्तै गएको छ ।” उनले थपिन–“भएका राम्रा खेलाडी पनि विभागिय तिर लागे, एक जना अरुणालाई भने मनाएर राख्न सकिएको छ, नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन, तर म त्यती निरास भने छैन ।”

केही आशाका किरण भने छचल्काउँदै कौशिलाले भनिन–“अहिले पनि निशुल्क प्रशिक्षण गराइरहेकी छु” उनले भनिन–“तर खेलाडीहरुको निरन्तरता भने छैन ।” उनी संग यति बेला पुरुष र महिला गरेर २०–२२ जनाले प्रशिक्षण लिइरहेका छन । तर खेलाडी नियमित नहुँदा समस्या भने झेलेकी छन । केही खेलकुद सामाग्रीहरु सहयोगी मनहरु बाट पाएको उनले बताइन । परिषद सेवा पदक, कास्की जिल्ला भलिवल संघ र नेपाल भलिवल संघले कौशिलालाई उत्कृष्ट प्रशिक्षक बाट उनी सम्मानित भइसकेकी छन ।

खेलकुदले सिकाएको अनुशासनको पाठ अहिले पनि निरन्तर कौशिलाको जिवनमा लागु छ । कति खेर उठ्ने खाने सुत्ने अनि हिड्ने सबै कुरा अनुशासनमा । भलिवलमा रम्दा रम्दै विवाहको प्रसङ्ग बाट टाढानै रहेकी कौशिला ति खेल जिवनका पाटाहरु केलाउन थालेकी छन । उनले भनिन–“संघको वार्षिक क्यालेण्डर अनुसार कुन जिल्ला कुन ठाउँमा प्रशिक्षणका लागि पुग्नु पर्ने हो संधै नेट र बलका साथ समयमानै उपस्थित भएँ ।” उनले थपिन–“अहिले पनि त्यो यात्रा जारी छ, खोई यो यात्रा कहिले टुङ्गिने हो भन्नै सक्दिन ।”

कौशिलाले आफ्नो खेल जिवनको अन्तिम राष्ट्रिय भलिवल प्रतियोगिता रुपन्देहीमा खेलिन । उनले खेलेका ५ वटा राष्ट्रिय मध्ये ४ वटामा प्रथम र एउटामा तेश्रो भएको उनको भनाई थियो । उनलाई संधै टिमका साथीहरुले चौधरी चौधरी भन्दै जिस्काउने गरेको सुनाइन । सुरु सुरुमा त धेरै रिस उठ्थ्यो रे । उनले सोचिन राम्रो भनेर हो की नराम्रो भनेर होला यो चौधरी भनेको । तर उनलाई यसमा खासै मतलव भएन एकनासले भलिवलमा लागिरहिन । एकलव्य जस्तै बनेर । अझै पनि उनमा त्यो एकाग्रता हराएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close