
केशव पाठक/तस्बिरः सुदर्शन रञ्जित
पोखरा, पश्चिम तर्फ सेती खोंच, पुर्व, उत्तर र पश्चिम तर्फ पोखरा महानगरको वडा नं १० भित्र पर्ने पोखरा रंगशाला विश्वकै एक अनुपम उपहार हो । पोखरा रंगशालाका लागि २०३२ सालमा जग्गा अधिकरण गरियो । तत्कालिन गण्डकी अञ्चलका अञ्चलाधिश शंकरराज पाठकको समयमा पोखरा रंगशालाको लागि जग्गा अधिकरण गरिएको थियो ।

रंगशालाको अधिकरण
पोखरा रंगशालामा अहिले भएको जिल्ला खेलकुद, क्षेत्रिय खेलकुदको कार्यालय भवन तथा बक्सिङ ट्रेनिङहल २०३५ सालमा भारत सरकारको सहयोगमा बनेको हो । पोखरा वगरमा रहेको खेलकुदको कार्यालय निर्माण सम्पन्न नहुँदै रंगशालामा सारिएको थियो । त्यसको ५ वर्ष पछि २०३८–०३९ सालमा केही पुर्वाधार निर्माण गरियो दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि । २०३२ सालमा तत्कालिन गण्डकीको सदस्य सचिब थिए गणेश सेरचन ।

तिन वर्षको कार्यकाल पछि २०३५ सालमा खेम गुरुङ सदस्य सचिब नियुक्त भए । सदस्य सचिबको तलव ६ सय मासिक थियो । कर्मचारी तिन जना । सदस्य सचिबका लागि एउटा साइकल थियो कार्यालय अवत जावत गर्न । बगरमा रहेको एउटा कोठाको भाडा समेत तिर्न समस्या परेपछि कार्यालय पोखरा रंगशाला सारिएको बताए तत्कालिन सदस्य सचिब खेम गुरुङले । त्यती बेला सम्म रगशाला ४ सय ३२ रोपनी क्षेत्रफल रहेको भए पनि यति बेला ४ सय १७ रोपनीमा खुम्चिएको छ ।

जग्गा अधिकरण गरिएको लामो समय सम्म पनि विभिन्न विवादका कारण केही जग्गा धनीहरुले मुआव्जा भने बुझेका थिएनन । २०५५–०५६ सालमा तत्कालिन राखेपका सदस्य सचिब विनोद शंकर पालिखे सदस्य सचिब भएको बेला ३ करोड विनियोजित भयो मुआव्जाका लागि । त्यो बेला करिव १ सयको हाराहारीमा जग्गा धनीहरुले करिव २ करोड मुआव्जा बुझेको जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल बताउँछन । अझै केही जग्गा धनीहरुले मुआव्जा बुझ्नै बाँकी रहेको उनले बताए ।

पर्खाल निर्माण अभियान
ठ्याक्कै त्यसको २१ वर्ष पछि सुरु गरियो रंगशालाको संरक्षण अभियान । २०६१ मा पर्खाल निर्माण सुरु गर्दा एउटा इटा पनि थपिएन पोखरा रंगशालामा । भुतपुर्व खेलाडी मञ्च नेपालको त्यो अभियान विश्वका लागि उदाहरण बन्यो । मञ्चको तर्फ बाट निर्माण समितीका संयोजक थिए प्रा.डा विरेन्द्र सिंह गुरुङ ।

करिब १ करोडको लागतमा पर्खाल निर्माण सम्पन्न भएको थियो । केही बचत रकमले रंगशालामा पानीको व्यवस्थागर्न पहिलो पटक ड्रिलिङ गरेर पानी समेत निकालिएको थियो । यदि पोखरा रंगशालामा पर्खाल लगाएर संरक्षण नगरेको हुन्थ्यो भने आजको यो अवस्थाको पोखरा रंगशाला देख्न र हेर्न भने पाइने थिएन । यो पर्खाल निर्माण गर्न गैर आवाशिय नेपाली र विदेशी तथा जनस्तर बाट ठुलो योगदान रहेको छ ।

पर्खाल नहुँदा केही व्यक्तिहरुले जग्गा मिचेर समेत बैंक बाट लोन लिएको संचार माध्यममा प्रकाशित भएपछि यसले ठुलो रुप लियो । सार्वजनिक जग्गानै मिचेर व्यक्तिको बनाउन थाले पछि मञ्चले सक्रियता देखाएको थियो । केही सुकुम्वासीहरुले समेत रंगशालामा आश्रय लिन थालेका थिए । यो निकै चुनौतीपुर्ण काम भएपनि सबैको सहमतीले पर्खाल निर्माण सम्पन्न भएको थियो ।

रंगशालामा कुन कुन खेलकुदका पुर्वाधार
रंगशाला भित्र फुटबल, ह्याण्डबल, व्यामिन्टन, क्रिकेट, आर्चरी, टेनिस, स्केट पार्क, स्क्वाश, बास्केटबल, भलिवल, बहुउद्धेश्यिय कभर्डहल, सेमी कभर्ड हल लगाएत खेलकुदका पुर्वाधार तयार छन । केही पुर्वाधार माष्टर प्लान अर्थात योजनागत रुपमा बनेका छन भने यति बेला स्क्वाश कोर्ट, स्केट पार्क र निर्माण तरखरमा रहेको गल्फ एकेडेमी भने आवश्यक्ता अनुसार थप हुँदै गएका हुन ।

आर्चरी, फुटबल स्टेडियम, भलिवल प्रशिक्षण केन्द्र, बहुउद्धेश्यिय कभर्ड हल, व्याडमिन्टन कभर्ड हल नेपालकै ठुला खेलकुद पुर्वाधार मध्येका हुन । त्यस मध्ये भलिवल र ह्याण्डबल कोर्ट नेपालकै एक मात्र व्यवस्थित मैदान हो । स्विमिङ पुल र शुटिङ रेन्ज तथा गल्फ एकेडेमी नयाँ निर्माणको तरखरमा छन । सेमी कभर्ड हल ७ वर्ष अघि निर्माण भएको हो भने बहुउद्धेश्यिय कभर्ड हल ३ वर्ष अघि । पोखरा रंगशालामा आफ्नै मिडिया सेन्टर समेत रहेको छ । संरक्षण समिती समेत गठन गरि सञ्चालित मिडिया सेन्टर स्थापनाका लागि परिषदले करिव २० लाख खर्च गरेको छ ।

फुटबल स्टेडियम
पोखरा रंगशालाको फुटबल स्टेडियम देशकै ठुलो क्षमताको फुटबल स्टेडियम हो । १६ हजार ५ सय दर्शक क्षमताको रंगशालालाई २० हजारको पुर्याउने लक्ष्य लिइएको छ । ट्रयाक एण्ड फिल्ड सहितको यो फुटबल स्टेडियम निर्माणको अन्तिम पर्र्खामा छ । यो निर्माण गर्न १ अर्व २८ करोड ५० लाख खर्च गरिएको हो भने थप कामका लागि २० करोड माग गरिएको छ ।

बैकल्पिक फुटबल मैदानको निर्माण
पोखरा रंगशालामा मात्रै यस्तो रंगशाला हो जहाँ फुटबलका लागि दुई दुई वटा मैदान छन । एउटा मुख्य अनि अर्को बैकल्पिक मैदान । बैकल्पिक फुटबल मैदान पुनः यति बेला नयाँ स्वरुपमा फेरिदै छ । त्यस मध्येको बैकल्पिक फुटबल मैदानको काम अन्तिम चरणमा पुगेको छ ।

२०६४ सालमा यो निर्माण भएपनि यसलाई नवौ राष्ट्रिय खेलकुदका लागि पुनः निर्माण थालिएको हो । बैकल्पिक फुटबल मैदान तत्कालिन नेपाल पाकिस्तान मैत्रीपुर्ण फुटबल म्याच बाट टिकट बाट उठेको रकमले बनाइएको थियो । जुन ३ लाख ५० हजारको हाराहारीमा थियो । उक्त मैदान निर्माणका लागि दिनेश श्रेष्ठ संयोजक थिए भने एन्फा कास्कीका तर्फ बाट खेम गुरुङ, मोहन घले, तिलक क्षेत्री, सुदर्शन रञ्जित लगाएत रहेका थिए ।

तर, त्यसको निर्माण सम्पन्न गर्न डोजर, बालुवा भने निशुल्क थियो । २०७६ मा युवा तथा खेलकुद मन्त्रालय मार्फत राष्ट्रिय खेलकुद परिषदले ९० लाख रुपैयाँ विनियोजित भयो । एन्फा कास्कीको उपभोक्त समिती मार्फत ३० लाख बाट पुनः बनाउन थालिए पनि एन्फा कास्कीले यसलाई विचमानै अलपत्र छोड्यो । परिषदले तोकेको समयमा काम सम्पन्न नहुँदा बाँकी ६० लाख समेत रोक्का गर्यो ।अलपत्र छोडेको बैकल्पिक खेलमैदान १३ औं सागको समापन पश्चात राखेपका वोर्ड सदस्य राजेश गुरुङले क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद मार्फत काम गर्ने गरि उनकै निर्देशनमा पुनः निर्माण सम्पन्न हुन लागेको हो ।
बहुउद्धेश्यिय कभर्ड हल
पोखरा रंगशाला भित्र तिन वर्ष हघि निर्माण सम्पन्न भएको देशकै ठुलो कभर्ड हल मध्येको एक हो बहुउद्धेश्यिय कभर्ड हल । करिब १७ करोडको लागतमा निर्माण सम्पन्न भएको उक्त कभर्ड हलमा २ हजार २ सय सिट क्षमताको हो ।

बहुउद्धेश्यिय कभर्ड हलमा ह्याण्डबल, भलिवल लगाएत अन्य इन्डोर भित्रका सबै खेलहरु आयोजना हुन सक्छन । हल भित्र सुविधा सम्पन्न चेन्जिङ रुम, शौचालयहरु, कार्यालयका लागि कोठाहरु लगाएत अन्य सुविधाहरु समेत रहेका छन ।
आर्चरी खेलमैदान
देशकै ठुलो सुविधा सम्पन्न आचरी खेल मैदान पोखरा रंगशाला भित्रै रहेको छ । उत्तर तर्फ हिमालको दृष्यावलोकन गर्दै खुल्ला ठाउँमा बनाइएको आर्चरी मैदान देखेर जो कोही पनि मोहित बन्छ ।

टेनिस कोर्ट
पोखरा रंगशालामा खेलको पुर्वाधार मध्येको एक महत्वपुर्ण पुर्वाधार हो टेनिस कोर्ट । यो टेनिस कोर्टको पुर्वाधार सम्पन्न गर्न पोखरेली खेलप्रेमीहरुको ठुलो लगानी छ । हालै मात्र परिषदले ३ करोडको लागतमा हार्ड कोर्ट सहितको पुर्वाधार तयार गरेको छ । यहाँ कुनै पनि अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन गर्न वाधा छैन । टेनिस कोर्ट पोखरा रंगशालाको व्यस्त रहने खेल मैदान मध्येको एक हो ।

स्केट पार्क
पोखरा रंगशाला भित्र रहेको स्केट पार्क अर्को एक नमुना खेल पुर्वाधार मध्येको एक हो । संरक्षण अभाव देखिने यो स्केट पार्क युवाहरुका लागि आर्कषक रहेको छ । यो स्केट पार्क विदेशी स्वयसेवीहरुले २२ लाखको लागतमा करिब एक महिनामा आफै निर्माण सम्पन्न गरेका हुन ।

भलिवल प्रशिक्षण केन्द्र
पोखरा रंगशालामा नेपालकै नमुनाको रुपमा रहेको भलिवल प्रशिक्षण केन्द्र हालै मात्र निर्माण सम्पन्न भएको हो । करिव ५ हजार दर्शक क्षमताको प्यारापिट सहित चेन्जिङ रुम, कार्यालय रहेको पुर्वाधार भित्र भलिवलका लागि चार वटा कोर्ट रहेका छन ।

क्रिकेट खेल मैदान
कुनै वेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सि (आइसिसी) र एसियन क्रिकेट काउन्सि (एसिसी) को आँखामा समेत परेको पोखरा रंगशालाको क्रिकेट मैदान निर्माण गर्न पोखरेलीहरुले जनस्तर बाट ठुलो सहयोग गरेका छन ।
पोखरा क्रिकेट मैदानको कथा पनि बेग्लै छ । यो मैदान विस २०६२–०६३ मा निर्माण थालिएको थियो । यो मैदान अहिलेको आर्चरी खेल मैदानमा थियो । पछि यसलाई पुर्व तर्फ सारियो । यो मैदान पनि जनस्तर बाटै निर्माण गरिएको हो । रंगशाला पर्खाल निर्माण समितीका संयोजक समेत रहेका डा. विरेन्द्र सिंह गुरुङ तत्कालिन क्षेत्रिय क्रिकेट संघको अध्यक्ष थिए ।

उनको टिमले दुई वर्ष लगाएर २०६५ मा यो निर्माण गरेको थियो । यो क्रिकेट मैदान निर्माण गर्ने अभियानमा तत्कालिन जिल्ला खेलकुदका अध्यक्ष खेमचन्द्र गुरुङ, अशोक पालिखे, राजेन्द्र लालचन लगाएतको योगदान छ । नयाँ सडकमा बन्दै गरेको भाटभटेनी बाट सँयौ ट्रक माटो ल्याएर मैदान सम्माइएको थियो ।पोखरा रंगशालाको लागि हालै मात्र टेण्डर आह्वान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले ३ करोडको लागतमा पेभिलियन, पिच र नालीका लागि टेण्डर आह्वान गरेको हो । राज्यका तर्फ बाट पहिलो पटक यति ठुलो रकम पहिलो पटक विनियोजित भएको हो पोखरा क्रिकेट खेल मैदानका लागि ।
स्क्वाश कोर्ट
पोखरा रंगशालाको स्कवाश कोर्ट जनस्तर बाट निर्माण गरिएको अर्को एक खेल अन्तर्राष्ट्रियस्तरको खेल पुर्वाधार हो । तिन वटा कोर्टहरु रहेको यो पुर्वाधार निर्माणका केही कामहरु अपुरो नै छन । गण्डकी प्रदेश सरकारले स्क्वाश कोर्टका लागि केही रकम विनियोजित गरेको छ ।
बास्केटबल कोर्ट
पोखरा रगशालाको मुख्य गेट नजिकै रहेको छ बास्केटबल कोर्ट । यो कोर्ट २०६१ सालमा व्रिटिश गोर्खा वेलफेयरले निर्माण गरेको थियो । त्यसको १४ वर्ष पछि परिषदले ८ लाख खर्च गरेर यसलाई मर्मत गरेको हो । नवौ राष्ट्रिय खेलकुदका लागि प्यारापिट सहित यसलाई नयाँ स्वरुपमा निर्माण गरिने परिषदले जनाएको छ । अत्यन्तै व्यस्त रहने खेल पुर्वाधार मध्ये बास्केटबल पनि एक रहेको छ ।
स्विमिङ पुल र शुटिङ रेन्जको तयारी
पोखरा रंगशाला भित्र निर्माण हुन लागेका दुई पुर्वाधारहुन स्विमिङ पुल र शुटिङ रेन्ज । अन्तर्राष्ट्रिय स्तरका यि दुवै पुर्वाधारहरुका लागि राष्ट्रिय खेलकुद परिषदले बजेट समेत विनियोजित गरिसकेको भए पनि कोभिड १९ को लकडाउनका कारण टेण्डर प्रक्रिया स्थगित छ । यि दुवै पुर्वाधार नवौ राष्ट्रिय खेलकुदको लागि निर्माण गरिन लागेका हुन ।

निर्माण हुन लागेको स्विमिङ पुल र शुटिङ रेन्ज भने यो वर्ष काम सम्पन्न नहुने भएको छ । परिषदले निर्माण कार्यलार्ई मल्टी इयर टेण्डर प्रक्रियामा लैजाने तयारी गरिरहेको छ । परिषदमा कार्यरत एक प्राविधिकका अनुसार यो वर्ष सम्भब नभएकोले अर्को वर्षका लागि पनि निर्माण सुचारु गर्न अर्थ मन्त्रालय बाट बजेट सुनिश्चितताका लागि पर्खिरहेको बताए । स्विकृत प्राप्त हुने वित्तिकै टेण्डर आह्वानका लागि परिषदले तयारी अवस्थामा छ ।
ह्याण्डबल खेल मैदान
नेपालको एक मात्र ओपन ह्याण्डबल खेल मैदान रहेको छ पोखरा रंगशालामा । चेन्जिङ रुम। स्टोर रुम, कार्यालय कोठा सहितको यो ह्याण्डबल खेल मैदान निर्माण सम्पन्न भए पनि आउटडोर म्याट राख्न गरिएको ढलान पछि परिषदले समयमा म्याट खरिद नगर्दा अझै अलपत्र रहेको छ ।

व्याडमिन्टन कभर्डहल
पोखरा रंगशाला भित्र नयाँ निर्माण भएको व्याडमिन्टन कभर्ड हल समेत हो । यो कभर्ड हल परिषद र जनस्तरको ५०–५० प्रतिशतमा लगानी भएको हो । करिब ४ करोडको लागतमा निर्माण सम्पन्न भएको यो कभर्डहलमा १३ औं सागको प्रतियोगिता समेत आयोजना भएको थियो ।

होस्टलको खाँचो
पोखरा रंगशालामा यति बेला होस्टलको हुनुपर्ने आवश्यक्ता बढ्दै गएको छ । धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना भइरहनेहुनाले पनि सुविधा सम्पन्न होस्टेलको खाँचो बढ्दै गएको हो । माष्टरप्लानमा समेत पोखरा रंगशालामा होस्टल निर्माण गर्न जग्गा छुट्टाईएको भएपनि यस बारे परिषदले खासै चासो दिएको पाइदैन तर पनि खेलकुद संघ संस्थाहरुले यस बारे आवाज उठाएका छन ।

संरक्षण खोज्दै रंगशाला
पोखरा रंगशाला भित्र बनेका केही पुर्वाधार मध्ये क्रिकेट, टेनिस, स्कवाश, व्याडमिन्टन कोर्टको निर्माणका लागि पोखरेलीहरुको पसिना बगेको छ । पोखरेलीहरुको खेलप्रतीको झुकावले यो सम्भव भएको हो । नयाँ बनेको फुटबल स्टेडियममा मात्रै १७ वटा शौचालय छन । यति बेला ठुलो आवाज खेलप्रेमीहरुका लागि भनेको नै पुर्वाधारहरुको संरक्षण गर भन्ने नै हो । तर परिषद अन्तरगत रहेका जिल्ला र क्षेत्रिय खेलकुद विकास समितीमा कर्मचारीको अभाव छ । धेरै वर्ष पछि जिल्ला खेलकुद मार्फत निजी शुरक्षाकर्मीहरु परिचालित छन । ठुला पुर्वाधार सहितको रंगशालामा दिनहुँ जसो चोरी हुने समस्या पनि बढ्दै गएको छ भने सबै निर्माण सम्पन्न भएका पुर्वाधारहरुको कसरी चुस्त दुरुस्त राख्ने भन्ने चुनौती बन्दै गएको छ ।
भिडियोमा पोखरा रंगशाला
खेलकुदका पुर्वाधारहरु जनस्तरबाट निर्माण भएकोले पनि यहाँको चासो संगै रंगशाला भित्र हुने कुनै पनि गविधिीलाई जनस्तर बाटै चासो दिइन्छ । त्यसैले पनि रंगशाालको जिम्मेवारी बोकेका निकायहरुलाई यसको संरक्षणमा निकै चुनौती देखिएको हो । ४३ वर्षको इतिहासमा यति बेला कायापलट भएको पोखरा रंगशालाको संरक्षणका लागि खेलाडी सहित सबै चनाखो बन्नु पर्ने बोध भने बढ्दै गएको छ ।
पोखरा रंगशालाको महत्वुर्ण इतिहासको पाटो के पनि हो भने यहाँको पर्खाल देखि धेरै खेलकुदका पुर्वाधारहरु जनस्तरबाट निर्माण भएकोले पनि यहाँको चासो संगै रंगशाला भित्र हुने कुनै पनि गविधिीलाई जनस्तर बाटै चासो दिइन्छ । त्यसैले पनि रंगशाालको जिम्मेवारी बोकेका निकायहरुलाई यसको संरक्षणमा निकै चुनौती देखिएको हो । ४३ वर्षको इतिहासमा यति बेला कायापलट भएको पोखरा रंगशालाको संरक्षणका लागि खेलाडी सहित सबै चनाखो बन्नु पर्ने बोध भने बढ्दै गएको छ ।
