
पोखरा, २९ चैत । आठौं अन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै गण्डकी प्रदेशका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री पनि सेमिफाइनलमा पुगे ।
बुटवलमा भइरहेको प्रतियोगितामा संरक्षणले एपीएफ जितेन्द्र परियारलाई ६–४ र ६–०, प्रणवले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, प्रदीपले गण्डकीका नवीन मगरलाई ६–१, २–६ र ६–२ तथा सन्तोषले प्रदेश ५ का भीष्म काउछालाई ६–२ र ६–१ को सेटमा पराजित गरे ।
महिला सिंगल्समा आर्मीकी आइरा रावतले प्रदेश ३ की प्रकृति श्रेष्ठलाई ६–१, ३–६ र ६–०, आर्मीकी अभिलाषा विष्टले गण्डकीकी गंगा शर्मालाई ७–६ र ६–२, एपीएफकी प्रेरणा कोइरालाले एपीएफकै एनी माथेमालाई ६–२ र ६–२ तथा प्रदेश ३ की रायना शाहले गण्डकी प्रदेशकी श्रीया भट्टराईलाई ६–१ र ६–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
महिला डबल्समा एपीएफका सलोनी तामाङ र अस्लेषा लिसानेविचको जोडीले प्रदेश ३ का रायना शाह र अल्सा रेग्मीको जोडीलाई ६–१ र ६–३ तथा एपीएफका प्रेरणा कोइराला र एनी माथेमाको जोडीले गण्डकी प्रदेशका श्रीया भट्टराई र रोमिका बुद्धचार्यको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे । सोही स्पर्धाको पुरुषमा एपीएफका छेवाङ लामा र सन्तोष खत्री, एपीएफका इभान हो लिसानेविच र जितेन्द्र परियार, गण्डकी प्रदेशका प्रदीप खड्का र नवीन मगर तथा गण्डकी प्रदेशका कै धरम लामिछाने र अनिल शाहीको जोडी सेमिफाइनलमा पुगे ।
मिक्स डबल्समा आर्मीका प्रणव खनाल र अभिलाषा विष्टको जोडीले गण्डकी प्रदेशका अनिल शाही र गंगा शर्माको जोडीलाई ६–४, ३–६, र १०–२ तथा एपीएफका इभान हो लिसानेविच र अस्लेशा लिसानेविचको जोडीले आर्मीका अभिनव आचार्य र आइरा रावतको जोडीलाई ६–२ र ६–१ को सेटमा पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।
