पोखरेली माटोले जन्माएको फुटबलका हिरो रुपक !

केशव पाठक,
१६ वर्षको लक्का जवान । फुटबलमा भर्खरै पोखराको मैदानमा तहल्का मच्चाउँदै थिए । खेलमा स्पिड, पावर, ड्याशिङ र अट्याक सबै थोकले भरिएको । निम्न परिवारमा जन्मिएको । गुरुङ परिवारको छोरो । भर्ति नभई जिवनको गाडी कुदाउन समस्या । पोखरको त्यो मैदान गुमाउन त मन थिएन । तर १९७८ मा उनी भारतिय सेनामा भर्ति भए । ति थिए कुनै बेला पोखराका चर्चित फुटबलर रुपक गुरुङ ।

६० वर्षको उमेरमा ति दिन अझै पनि मानसपटलमा ताजै छ रुपकलाई । गल्लाले छानेकै दिन वुवा गुमाए । तर उनी बुवाको काज कर्म सकेर हिंडे लखनउ तिर । गल्लाले पर्खिरहेका थिए । उनी पुग्नु अगावै त्यहाँ हल्ला चलिसकेको थियो । पोखराको एक जना रुपक भन्ने राम्रो फुटबल खेलाडी भर्ति हुन आउँदैछ भन्ने । उनी भर्ति भए अनि लागे देहरादुन हेड क्वाटर तर्फ ।

३÷९ गोर्खा जिआरमा भर्ना भए । रुपकलाई सुरुमानै नमिठो लाग्यो । नेपालीहरु फुटबल खेल्न जान्दैनन भन्ने भारतियहरुले पालेका रहेछन । नेपाल पहाडीय देश, मैदान पनि हुन्न यिनीहरुले कहाँको फुटबल खेल्ने ? त्यो बाट उनी विचलित भएनन । भर्ति भएर ५२४३५८३ नं.पाउने वित्तिकै उनको चिफलाई उनको फुटबल हेर्न मन लागेछ । उनलाई मैदानमा बोलाइयो । उनले आफ्नो जादु पोखे मैदान । संगै भर्ति भएकाहरु बनारस लागे सौनिक तालिमका लागि । उनलाई भने त्यही रोकियो । अनि सुरु भयो भारतिय सेनामा पोखरेली फुटबलको यात्रा ।

”फुटबल मेरो लागि एक अलग विषय थियो । मैदान बाहिर म जे जस्तो देखिए पनि मैदान भित्र भने मेरो रुप नै फेरिन्थ्यो” उनी भन्छन–“मैले भर्ति भएर बन्दुक समाउन परेन, म संधै फुटबलको मैदानमा नै भिडे । अनि एउटा मिसाल कायम गरे ।” उनले अझै स्पष्ट पारे–“पहाडियहरुले फुटबल खेल्न जान्दैनन भन्ने सोचलाई त्यहाँ मैले राम्रै संग चिरे, जति वर्ष भारतिय सेनामा कार्यरत रहेँ म फुटबल खेलाडीकै रुपमा रहेँ ।”

भारतिय सेनामा रहँदा उनले ३/९ को सेन्टर टिम बोलाइए । अरु संगै भर्ति भएकाहरु सरसफाईमा लाग्थे भने रुपक बुट बोकेर मैदान तिर कुदिहाल्थे । विहान हल्का पिटी गरेपछि फुटबल प्रशिक्षण सुरु भइहाल्थ्यो । उनले ब्रिगेड एरिया, आर्मी व्यानर लगाएत सिभिल तर्फ पनि फुटबल खेले । पोखरामा हुँदा संधै डिफेन्स सम्हाल्ने उनले पछि स्ट्राइकर र राइट आउटको भुमिकामा रहेर खेले । एक महत्वपुर्ण फाइनल म्याच हार्नुपर्दा उनलाई क्याम्पमा फिर्ता बोलाइयो । पछि २÷३ गोर्खा रेजिमेन्टमा सैनिकको तालिमका लागि जानु पर्ने भयो ।

सन १९७९ मा २/३ गोर्खा रेजिमेन्टमा छिर्ने वित्तिकै त्यहाँ पनि हल्ला चलेछ । एक जना नामुद फुटबल खेलाडी रुपक आउँदैछ भन्ने । उनी जाने वित्तिकै हाकिमले लिन पठाए । त्यहाँ पनि उनका हाकिमले फुटबल हेरे पछि दङ परेछन । सैनिक तालिमको लागि तयार भएका रुपकको विस्तारानै फुटबल टिम भए तिर सारियो । त्यही भित्रको एक पर्दशनी म्याचमा उनले गोल गर्दै टिमलाई जिताए । उनको एक जना साथी थिए बाला गुरुङ । उनले पनि राम्रो खेल्थे । उनको पासमा हेड गर्दै आकर्षक गोल गरे पछि फेरि उनी टिममा परे । त्यही क्याम्पमा कल्लु नामका एक भारतिय सैनिक थिए । उनलाई सबैले राम्रो फुटबल खेलाडी मान्थे । तर रुपक मैदान छिरे पछि कल्लुको जमाना सकियो भन्दै नेपाली साथीहरुले प्रशंसा समेत गरे ।

रुपक कार्यरत पल्टनले सन १९७९ मा नै गोर्खा व्रिगेड कप पनि जित्यो । उनले त्यो जितमा टिमका तर्फ बाट उत्कृष्ट प्रदशर्न गरे । तर उनलाई जित पछि पनि दर्जा भने थपिएन । अनपेड दर्जा थपियो । जिवनमा उनले भारतिय टिमको जर्शी लगाउने ठूलो रहर पालेका थिए । उनको खुवी बाट डाह गर्नेहरुले पल्टनियाहरुले उनलाई साथ भने कहिल्यै दिएनन । उनी भन्छन–“यदि मैले साथ पाएको भए मैले भारतिय टिम बाट खेल्ने मौका पाउँथे ।” उनलाई यो कुराले अहिले पनि मन खट्किरहन्छ ।

“मैले त जिवनमा फुटबलका लागि सुम्पे” उनी भन्छन–“तर भाग्यवश फुटबलले मलाई केही दिएन ।” इन्टर सर्भिस जस्ता म्याचहरु खेलेर सेना भित्र वाहवाही बटुले पनि खुट्टा तान्ने हरुले अगाडी बढन नदिएकोमा भने संधै उनी चिन्तित बने । “फुटबल एक्लै खेलिने खेल होइन, यो टिम वर्क हो” उनले थपे–”मैदान भित्र पनि मलाई सकभर बल छुन नपाओस भन्न थाले टिम भित्रै । कोही कतै बाट फुत्केर आएको बल मिलाउँदै गोल गर्थे वा गोलको लागि मिलाइदिन्थे । तर त्यती हुँदा पनि टिम बाट बाहिर कसैले बाहिर राख्न सकेन संधै प्लेइङ सेटमा नै रहें ।” सन १९८२ मा कमाण्ड बाट इन्टर सर्भिस हुँदै आफ्नो भारतिय सेनाको सन १९९० सम्म फुटबल खेले ।

भारतिय सेनामा फुटबलमा यति लामो यात्रा पार गरेका रुपकको फुटबल यात्रा पनि निकै रोचक छ । विरौटमा बस्ने बेलामा नै उनी १२ वर्षको कलिलो उमेरमा फुटबलमा आर्कषित भए । विसं २०१६ मा जन्मिएका रुपकलाई आफ्ना हजुर बुवाले पेन्सन थापे पछि दिएको एक मोहर पाउने वित्तिकै बल किन्न कुदिहाल्थे पसलमा । लामो समय खाली खुट्टाले नै फुटबल खेले । बुट पाउनु भनेको त आकाशको फल पाउनु जस्तै हुन्थ्यो त्यतीबेला । पोखरामा तत्कालिन अञ्चलाधिसहरुले पोखरामा वोका बाजी जुनियर फुटबल आयोजना गर्थे । त्यसलाई जिस्किएर बोके दारी कप भनिन्थ्यो । उनले भने –“बोके दारी कप त कति खेलियो खेलियो ।” खेलहरु प्राय पिएन क्याम्पसमा आयोजना हुन्थे । उनी त्यही पुग्थे खेल्न ।

रुपकको फुटबल मोह देखेर सिनियर खेलाडी पनि दङ पर्थे । सेतो पिटी भेष्टलाई पहेँलो रंगमा पकाएर युनिफर्म बनाएर खेल्न जाने चलन थियो उती बेला । १४ वर्षको उमेरमा उनी परिवार सहित इयरपोर्ट बसाई सरे । इयरपोर्टमा तत्कालिन समयमा अन्नपुर्ण क्लव थियो । राम बहादुर श्रेष्ठ, धर्मलाल प्रधान, रुद्र बहादुर थापा जस्ता अग्रज खेलाडीको साथ उनले पाए । उनीहरु संगै अभ्यास गर्थे रुपक । सानो उमेरमानै उनले विन्दयबासिनी रनिङ शिल्ड जस्ता खेलमा सिनियर टिम बाटै खेले । पछि उनले नविन ११, मजदुर भलाई कोष टिम बाट समेत खेले । विसं २०३० मा तिलोत्तमा गोल्ड कप खेल्न भैरहवा पुगे । २०३१ मा जन्मोत्सव कप खेल्न गञ्डकी अञ्चल बाट उनी काठमाडौ गए । गण्डकीको टिममा महेश गुरुङ, स्व. इन्स्पेक्टर गंगा गुरुङ जस्ता सिनियर खेलाडीहरु टिममा थिए । २०३३ सालमा गण्डकी अञ्चल बाट नर ट्रफी खेल्न उनी खेम गुरुङले नेतृत्वको टिममा विरगञ्ज पुगेका थिए ।

सानो उमेरमा नै धेरै खेलमा सहभागिता जनाएका उनलाई एउटा घटना भने ताजा जस्तै छ । २०३१ सालमा पाल्पामा एक खेल सञ्चालन भइरहेको थियो । स्वतन्त्र विद्यार्थी मञ्डलले आयोजना गरेको खेल थियो । तानसेनको फ्रेण्डस क्लबको ए र वि टिम थियो । ए टिम पराजित भयो । क्लवलाई जसरी पनि जित्नै पनेै दवाब बन्यो । भोली पल्ट एक जना क्लवका पदाधिकारी पोखरा आइपुगे । त्यती बेला रुपक सहित सबै गणको मैदानमा अभ्यासमा थिए । उनले पोखरेली खेलाडीको नाम सुनेर खेलाडी लिन पोखरा आएको बताए । राम बहादुर श्रेष्ठ सहित सबैले सल्लाह गरे । पाल्पा हिड्ने निधो भयो । खेलाडीको शंख्या भने ११ मात्रै पुग्यो । विहानै वस चढेर पाल्पा हिँडे ।

“झोला होटलमा राखेर सोझै पोखरेली टिम मैदानमा फ्रेण्डसका लागि खेल्न मैदान ओर्लियो ।” उनले भने–“मध्यान्तर सम्म लगालग ३ गोल खायो । हल्ला चल्न थाल्यो । पोखरेली खेलाडी पनि हार्ने भए भने । इज्जत कुरा थियो । जसरी पनि जित्नै पर्ने कुरा भयो । मध्यान्तर पछि तिन गोलनै फर्कायौ । खेल बरावरीमा सकियो ।” त्यो दिन प्रकास कम भएको कारण खेल रोकियो । भोली पल्ट ठूलो पानी पर्यो । पोखरेली हरुलाई ठूलो दवाव थियो खेल जित्न । पानीमा रुझ्दै अभ्यास गर्यो टिमले । रोकिएको खेल पर्सि पल्ट भयो । पोखरेली टिमले लगालग ११ गोल गर्यो । सिडियोले धर्मलाललाई बोलाएर १ दर्जन गोल नर्गन कान फुके । तर जितको उन्मादमा रहेको पोखरेली टिमले दर्जन गोल गर्यो । टिमका सबै खेलाडीले गोल गरे । जित पछि कप पनि उतै छोडेर टिम पोखरा फर्कियो ।

१६ वर्षको उमेरमा उनी पेन्सन क्याम्पमा वसाई सरे । त्यहाँ नयाँ सिरा बाट खेलजिवन सुरु भयो । इयरपोर्ट गण छोडेर उनको फुटबल खेल्ने थलो बन्यो अम्मरसिंहको मैदान । पिएन क्याम्पसमा जनैपुर्णिमा हुने मैत्रीपुर्ण खेलहुन वा अन्यमा उनको यात्रा जारीनै रह्यो । २०३० मा उनले पोखराको सोल्टी ११ क्लव बाट समेत खेले । उनी उमेरले सानो भए पनि विल गुरुङ, विर बहादुर गुरुङ, आनन्द रञ्जित, सप्त श्रेष्ठ, दिनेश श्रेष्ठ, कृष्ण श्रेष्ठ, राजेन्द्र शेरचन, लक्षिन बहादुर गुरुङ शम्भु केसी संग पनि टिममा रहेर खेलेको अनुभव उनी संग छ । भारतिय सेनामा भर्ति हुुनु भन्दा अघि उनी महेन्द्र पुलिस क्लवमा खेल्न जाने तयारी गर्दै थिए । तर खर्च धान्न समस्या थियो । यौवन कालमा जता पहिला हुन्छ त्यतै जाने तयारी उनमा थियो । पुलिस क्लवमा भन्दा पहिला भारतिय सेनामा उनको जागिर जुर्यो ।

नेपालमा विदामा समेत आउँदा उनले पटक पटक गण्डकी अञ्चल बाट मैदानमा उत्रिए । २०४० मा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा उनी पनि गण्डकीको टिममा थिए । सेती अञ्चल संगको सेमीफाइनल खेल हुँदै थियो । खेल बराबरीमा सकियो । खेल पेनाल्टी शुटआउटमा पुग्यो । उनलाई पेनाल्टी हान्ने मन त थिएन । तर उनलाई पेनाल्टी हान्न भनियो । तर भाग्यबस उनको बल बाहिरियो । त्यो क्षणले उनलाई अझै पनि मनमा कता कता विझाउँछ ।

विस २०४० मा नै पोखरामा सम्पन्न अञ्चलाधिश कपमा उनले रामबजारको भञ्ज्याङ क्लव बाट खेले । बगरको दिप युनाइटेड संग फाइनल खेल थियो । बेम गुरुङ, गंगा गुरुङ, प्रेम गुरुङ, पुर्ण गुरुङ, दिलकाजी गुरुङ, गोपाल श्रेष्ठ लगाएत टिममा थिए । यस अघि बगरले दुई पटक उक्त खेल जितेको थियो । बगरलाई शिल्ड पच गर्न नदिने सल्लाह थियोे । तर खेल हुँदा हुँदै खेलाडीको विषयमा झडप समेत भयो । पछि खेल हुँदा भञ्ज्याङ २–१ ले पराजित भयो । उनले तक्कालिन पोखरा नगरपालिकाको तर्फ बाट धरानमा सम्पन्न नगरपालिका स्तरिय फुटबल समेत खेले ।

आफ्नो जिवनको लामो समय फुटबलको मैदानमा विताएका रुपक यति बेला बेलायतमा छन । उनले विगत सम्झिदै भन्छन–“मेरो जुन उद्धेश्य थियो त्यो त पुरा हुन सकेन ।” तर अझै पनि फुटबलमा केही गर्ने चाहना भने उनको मनमा छ । “अब प्रंशिक्षक भएर फुटबल बिकासका लागि काम गर्न मन लागेको छ, त्यो अवसर आयो भने म पछि पर्ने छैन ।” “भारतिय सेनामा नभएर नेपालमा बसेको भए नेपाली झण्डा मुनी अवश्य खेल्न पाउँथे होला” “त्यो सपना भने पुरा भएन” उनमा त्यो आत्मग्लानी भने संधै छ । पोखराको माटोले जन्माएको फुटबल मैदानको हिरो रुपकको फुटबल यात्राको संस्मरणले पक्कै पनि नयाँ पुस्ताका खेलाडीका लागि नयाँ मार्गदर्शन भने अवश्य गर्न सक्छ ।

१ प्रतिक्रिया

  1. खेल पत्रकार केशव भाइको अर्टिकलहरु निरन्तर पढिरहेको छु । उहाँले यसबेला पोखराको खेल र पूर्व खेलाडीहरुको बारेमा मिठो पाराले पस्किरहनु भएको छ । लक्डाउनमा खुबै मज्जाले पढ्न पाइएको छ । नेपाली खेलको इतिहासमा पोखरा र पोखराका यस्ता सबै मुर्धन्य व्यक्तिहरुको योगदानलाई आजको पुस्ताले कदर गर्न जरुरी हुन्छ । रुपक दाइको यो शब्दले मन छोयो “मैले त जिवनमा फुटबलका लागि सुम्पे तर भाग्यवश फुटबलले मलाई केही दिएन ।” यस्तो भनाइ अबकाले भन्न नपरो, सम्बन्धित पक्षको ध्यान यसतर्फ जान जरुरी ठान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close