एक माष्टरको आँखामा पोखराको खेलकुद

केशव पाठक,
महेश सर, शिक्षा र खेलकुद क्षेत्रमा पोखरामा नचिन्ने उनलाई विरलै होलान । सानो कदका उमेरले ६६ टेकेका महेश सर अहिले पनि खेलकुद उत्तिकै सम्मानित नाम हो । अहिले युके बस्दै आएका महेश फुर्सदको बेला भनेकै पोखरा कुदी हाल्नु पनि हो । “म त युके छु तर मन भने पोखरामानै छ,….के गर्नु भाई?” उनी एक छिन अडकिए अनि फेरि दोर्हाउँदै भने–“कोरोनाले लकडाउनमा बस्नु परेर हो, नत्र पोखरा आइहाल्छु ।” यस विचमा उनी पोखरा आएर युके फर्केको दुई महिना पनि वितेको छैन ।

२०२९ साल बाट पोखराको खेलकुदलाई नजिक बाट नियालेका महेश गुरुङ शिक्षण पेशामा करिब साढे दुई दशक विताए । शिक्षण पेशा अगाल्नु अघि २०२९ साल बाट खेलकुदमा छिरेका उनी तत्कालिन गण्डकी अञ्चल बाट फुटबलको राष्ट्रिय प्रतियोगिता नर ट्रफी बाट सहभागिता जनाएका थिए ।

”विदामा लाहुरे हरु आए पछि कहाँ खेल्न पाईन्थ्यो र ?” महेश भन्छन–“गण्डकी बाट खेल्न नपाएपछि भेरी तिर बाट पो खेलियो त फुटबल ।” पोखरामा त्यती बेला पनि फुटबल खेलाडीको कमी भने थिएन । पोखराको खेलकुदवृतमा धेरै राष्ट्रिय खेलाडी उत्पादन भइसकेका थिए । फुटबलमा मोह भएकै कारण उनले भेरी अञ्चल बाट दुई पटक काठमाण्डौ र एक पटक जनकपुर समेत खेल्न पुगे । यात्रा लामो भएपनि मैदानमा राइट व्याकमा खेल्ने उनलाई त्यहाँ पुग्न र पोखरा फर्कन कुनै समस्या देखेनन ।

विसं २०२६ सालमा एलएलसी उर्तिण गरेका महेशले पिएन क्याम्पसमा इन्टर हुँदै डिप्लोमाको अध्ययन गरे । त्यो बेला डिल्पोमा पढ्नु भएको ठुलो विषय हुने गरेको उनी बताउँछन । “म संगका धेरै दामलीहरु इन्टर सम्म पढे, त्यती बेला घर बाट पढनका लागि खर्च जुटाउन पनि गार्होनै हुन्थ्यो”;–उनले भने । इन्टर पढ्ने बेलामानै खेलतर्फ आर्कषित भएको उनको भनाई छ । उनले थपे– “पिएन क्याम्पसका तत्कालिन खेल शिक्षक स्व.रञ्जित गुरुङ, तत्कालिन क्याम्पस प्रमुख जर्जजोन सरले हामीलाई खेल्न निकै हौस्याउनु भो ।”

तत्कालिन गण्डकी अञ्चल खेलकुद बिकास समितीको कार्यालय समेत पोखराको बगरमानै थियो । त्यो समयमा पनि खेलकुदमा खुवै राजनिती हुने गरेको उनी बताउँछन । खेलकुद सचिब हुनलाई निकै तछाँड मछाड नै चल्थ्यो रे । महेशले पनि लामो समय सम्म गण्डकी अञ्चलको सदस्यको रुपमा रहेर काम गरे । विस २०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा उनी समारोह समितीको उपाध्यक्ष थिए । त्यस संग–संगै एथ्लेटिक्स, बक्सिङ र स्विमिङ खेलको संयोजक समेत रहे ।

दोश्रो राष्ट्रिय खेलकुदमा एथ्लेटिक्स र बक्सिङमा सर्वाधिक पदक गण्डकीले जितेर पदक तालिकामा तत्कालिन बागमती अञ्चलको नजिक पुगेको उनी बताउँछन । पोखरामा त्यती वेला स्विमिङ पुल भने थिएनन । गण्डकीको लागि खेलाडी छनौट भने फेवातालमा गराइएको थियो । खेल भने काठमाडौमा भएको थियो । परिषदका तत्कालिन सदस्य सचिब शरद चन्द्र शाहले उनको खेलप्रतीको लगाव देखेरनै उनलाई समारोहको उपाध्यक्ष पदमा मनोनयन गरेका थिए । उनले केही व्यक्तीहरुले खेलाडीको पारिश्रमिक आँखा गाढ्थे । उनलाई यसमा सह्य लागेन । उनले भने–“त्यो बेला पनि खेलाडीको भत्तामा आँखा गाड्ने चलन थियो, मैले यो कुरा सोझै शरदचन्द्रलाई समेत भनेको थिँए ।” शरदचन्द्र शाहको नेपालको आधुनिक खेल बिकासमा ठुलो योगदान रहेको थियो ।

जोश जाँगर शिक्षाको चेतना बोकेका महेश सर २०३७ मा नै गण्डकी अञ्चलको खेलकुद संयोजक भएका थिए । उनले २०३१ साल बाट कन्या स्कुलमा अध्यापन पेशा शुरु गरेका थिए । तिन वर्ष कन्यामा अध्यापन गराए पनि २०३४ बाट २०४५ सम्म अम्मर सिंह मावी र २०४५ बाट २०५६ सम्म कालिका माबीमा प्रधानध्यापक हुँदै २०५६ बाट २०५८ सम्म अम्मरसिंह माबीमा अध्यापन सेवामा समेत बिताए ।

अम्मरसिंह माबीमा फर्किएपछि उनले सपना पालेका थिए । अम्मर सिंह मावीको खेलमैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने । रंगशाला निर्माण गर्नका लागिनै २०५८ सालमा महायज्ञ भयो । महायज्ञमा ५७ लाख नगद पनि उठ्यो । तर उनी आफ्नो पारिवारिक कारणले बेलायत जानुपर्ने स्थिती बन्यो । उनको रंगशाला बनाउने सपना सबै तुहियो । त्यसलाई नेतृत्व दिने कोही भएनन । “अहिले त युके आएको पनि १९ वर्ष वितिसकेछ” उनले भने–“एउटा ठूलो सपना त्यत्तिकै खेर गयो ।” युके पुगेर पनि समाजसेवा लगाएत खेलकुदमा उनले त्यही गति दिएका छन ।  सहारा युकेको गठन होस वा पोखरेली मञ्च युकेको उनी अग्रभागमा रहेर काम गरे । उनी त्यहाँ पनि विभिन्न संघ संस्थामा आवद्ध छन ।

खेलकुदमा सानो उमेर बाटै विभिन्न खेलकुदको नेतृत्व गर्दै टिम लिएर धेरै ठाउँ पुगको उनको मनमा अझै पनि ताजा छ । दिल्लिमा सम्पन्न नबौ येसियालि खेलकुदमा गण्डकी अञ्चलले नेपाली राष्ट्रिय एथ्लेटिक्स टोलीलाई सहयोग गरेपछि टिम म्यानेजरको रुपमा तत्कालिन चर्चित धावक बैकुञ्ठ मानन्धर समेतलाई लिएर उनी कोलकत्ता पुगेका थिए । उनी खेलकुदमा यति भिजेका थिएकी बहुदल प्राप्ती पछि पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा हितकाजी गुरुङ (तत्कालिन नेकपा एमाले नेता) अध्यक्ष हुँदा पनि महेश सर कोषाध्यक्ष रहेका थिए । उनी सिनियरहरुको खेलकुदमा भन्दा पनि पछिल्लो समय विरेन्द्रशिल्ड, प्यावसन स्पोर्टस मिट जस्ता वृहत खेलकुद गर्न संधै अग्रपंक्तिमा देखापर्थे ।

अखिल नेपाल फुटबल संघ कास्कीको २०५२–०५६ सम्म अध्यक्ष पद ४ वर्ष सम्हालेका उनले पोखराको सहारा क्लवलाई क्याराभान कप र त्यस पछि आहा रारा फुटबल आयोजना गर्न पुलको काम गरे । यद्यपी आहा रारा १८ औं संस्करण जारी छ र उनी अहिले पनि उत्तिकै सक्रियताका साथ प्रतियोगिता सम्पन्न गर्न लागि पर्छन । पोखरामा आयोजना हुने पोखरा म्याराथन देखि विभिन्न क्लवका खेलकुद कार्यक्रमका लागि महेश सरलाई निम्तो दिनै पर्दैन उनी सोझै आयोजना स्थल पुग्छन र अभिभावकको भुमिका निर्वाह गरि हाल्छन ।

पोखराको खेलकुदले पञ्चायत काल देखि हाल सम्म धेरै आरोह अवरोह पार गरेको बताउने महेश सरले यति पुर्वाधार विकासले गति लिएको देख्दा भने मख्ख छन । “पुर्वाधार विकास त भयो, तर अव विज्ञ टोलीको आवश्यक छ” उनी सुझउँछन । उनले खेलकुदलाई राजनिती बाट टाढा राखेर बिकास गर्दा खेलकुद विकासले गति लिने बताउँदै भने–“खेलकुद बुझेको असल व्यक्तीको हातमा खेलकुद सुम्पियो भने पोखराको खेलकुदले अन्तर्राष्ट्रियस्तरमानै राम्रो छवी बनाउन लामो समय कुर्न पर्दैन” उनले थपे–”पोखराको खेलकुदमा हाम्रो होइन राम्रो मान्छेको खाँचो छ ।”

१ प्रतिक्रिया

  1. पोखरासङ्ग संबंधित कुनै पनि क्षेत्रको पुरानो कथा पढ्नसाथै महेश सरको नाम जोडिएको पाइन्छ । आज खेल पत्रकार केशव भाइको आलेखमा महेश सर पर्नु भएछ । खुशी लाग्यो । अत्यधिक निकटस्थ रहेको व्यक्तिको पनि कतिपय पक्ष लुकेको हुनसक्छ । पोखराको खेलकुद विकासमा उहाँको योगदान अझ राम्ररी बुझन पाइयो । खेल प्रति निष्ठावान हुनुहुन्छ भन्ने एउटा उदाहरण अस्ति मसङ्ग घटेको एउटा घटना बाट बुझन सकिन्छ । कोरोनाको डरले यसपटकको आहा गोल्डकपमा दर्शकको कमी रहेको भन्ने सुनेपछि म लगाएत हामी केही साथीहरू इन्ट्री पास हुदाहुदै टिकट काटेर भित्र पस्ने गरेको पोष्ट मैले फेसबुकमा राखेको थिए । त्यस्को भोलिपल्ट म मैदानमा जाँदा उहाँलाई गेटमा नै भेटे । भेट्ना साथै उत्साहजनक स्वरमा भन्नु भयो काजी भाइ मैले पनि टिकट काटे आज। आहा टुर्नामेन्टमा उहाँ जजाको भूमिकामा हुनुहुन्थ्यो । पोखराको खेलकुद विकासमा उहाँ अति समवेदनशील हुनुहुन्छ। पोखरा र पोखरेलीले उहाँलाई सधैंभरि सम्झिरहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close