
केशव पाठक/पोखरा,
वि.सं २०३२/०३३ कुरा हो महेन्द्रपुल स्पोर्टस क्लव भर्खरै खुलेको थियो । युवाहरु खेल्न सिक्न मात्रै नभई शारिरिक व्ययामका लागि पनि त्यहाँ पुग्थे । कल्याण पालिखे त्यसको संरक्षक थिए । त्यहाँ आउने युवाहरुलाई कस्ले कुन खेल खेल्ने छुटट्याइने चलन थियो । त्यहीँ बाट शुरु भयो पोखरामा बक्सिङको जग ।
उक्त स्पोर्टस क्लवमा प्रशिक्षकका रुपमा रहन्थे रिटायर्ड भारतिय सेनाका लाहुरेहरु । तिनै मध्ये एक थिए आस बहादुर गुरुङ । पोखरामा पहिलो पटक आश बहादुरले नै बक्सिङ सिकाउन थाले । बक्सिङ ग्लब्स् पनि उनैले भारत बाट ल्याएका थिए । जुटले बनेका ग्लब्स् निकै सार्हो र वजनदार हुन्थे । त्यही क्लवमा पहिलो पटक पोखरामा वुद्ध गुभाजु, अरविन्द श्रेष्ठ, सुवर्ण श्रेष्ठ, विद्या मर्सानी, सानुकाजी तझ्याले वक्सिङको प्रारम्भिक ज्ञान पाए । उनीहरुको सिकाई कुनै प्रतियोगिताका लागि नभई शौखको रुपमा थियो ।

२०३७ सम्म केही युवाहरु वक्सिङप्रती आर्कषित भए । तर ति शौखका लागि खेले । २०३७ मा पहिलो राष्ट्रिय बक्सिङ काठमाडौमा सम्पन्न भयो । गण्डकी बाट बुद्ध गुभाजु सहित पुर्व भारतिय सेना बाट सेवानिर्वित याम बहादुर थापा सहित ६ जना गण्डकी बाट सहभागी भए । पहिलो सहभागितामानै गुभाजु र थापा दुवैले पदक जिते । गुभाजु त्यो बेलाको बाउट सम्झिदै भन्छन–“मैले तत्कालिन नारायणीको खेलाडीलाई फाइनलमा दुई पटक रिङ्गमा ढालें, तर निर्णायकले ढलेकालाई जिताए ।” उनी रजत पदकमा सिमित बनाइए ।

तर तत्कालिन परिषदका सदस्य सचिब शरद चन्द्र शाहको आखाँमा गुभाजु परे । उनलाई पोखरा आउन दिइएन । केही दिन पछि उनी संगै थापालाई भारतको पश्चिम वंगाल खेल्न पठाइयो । त्यहाँ पोइन्टको आधारमा जित हार हुन्थयो । रातभरी नसुती–नसुती नकआउट गर्ने तरिका सिके दुवैले कोठा भित्रै । दुवैले फाइनलमा पदक थापे । उनहरु संगै काठमाडौ बाट गएका १० जना खेलाडी भने रित्तो हात स्वदेश फर्किए ।

पोखरामा धेरै जसो बक्सिङका खेलाडी भारतिय सेनामा कार्यरतहरु नै थिए । खेलको समयमा नेपाल आउँथे छुट्टी मिलाएर । उनीहरुलेनै धेरै पदक गण्डकीको लागि जिते । तर उनीहरु एक पटक खेलेपछि दोश्रो पटक हुँदैन्थे रे । कता पुग्थे कता? गुभाजुले २०३९ सम्म पोखराको वक्सिङको विँडो थामे । २०३९ सालमा पोखरा उद्योग वाणिज्य संघको भवन बन्ने तरखरमा थियो । त्यहाँ एक च्यारिटी खेलको आयोजना भयो । संघको भवन निर्माणमा सहयोग पुर्याउन । गुभाजुले एकजना प्रतिष्पर्धीलाई हानेको पञ्चले नाकै फुटेछ । त्यो देखेर परिवारका सदस्यहरु डराएछन । कोरियामा आयोजना हुन लागेको ओलम्पिकको तयारी गरिरहेका गुभाजुलाई त्यही बाट बक्सिङमा ब्रेक लागेछ ।

पोखरामा पहिलो विदेशी बक्सिङ प्रशिक्षकका रुपमा कोरियाली प्रशिक्षक २०३८ मानै पोखरा आएका थिए । कोरियाली प्रशिक्षक किम सिङ्गी बाट पोखरामा आधुनिक बक्सिङको उदय भएको हो । बक्सिङका आवश्यक सबै खेल सामाग्री किमले कोरिया बाटै मगाउँथे । यस्तो अरु खेलमा देख्न पाइन्थ्यो । किम बाट प्रशिक्षित खेलाडीले पोखराको बक्सिङलाई लामो समय सम्म खेलकुदमा चर्चा गर्ने विषय वनिरह्यो ।

पोखरामा २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा विद्या मर्सानी, रुपक गुरुङ, आश बहादुर गुरुङ, याम बहादुर थापा, लोक बहादुर थापा, भरत आले, लोक बहादुर गुरुङले सहभागिता जनाए । सबै स्वर्ण पदक गण्डकीले कव्जा गर्यो । त्यो बक्सिङको लागि नयाँ आगाज थियो पोखराका लागि । सन १९७८ मा भारतिय सेनामा भर्ति भएका लोक बहादुरले दोश्रो राष्ट्रिय खेलकुदमा सोझै पोखरा आएर खेले । उनी भारतिय सेनामा कार्यरत रहँदानै दुई–दुई पटक च्याम्पियन बने ।

वि.सं २०४२/०४५ मा पोखरामा नयाँ बक्सरहरुको उदय भयो । ति सबै प्रोफेसनल थिए । सबै विदेशी प्रशिक्षक बाट प्रशिक्षित । तनहुँका चित्र बहादुर गुरुङ, स्याङजाका चित्र बहादुर गुरुङ, शुरेस मल्ल, रुपक गुरुङ, गणेश बहादुर भट्टराई जस्ता खेलाडीहरुको पञ्च हेर्ननै ठूलो भिड जम्मा हुन्थ्यो रे । त्यस मध्ये पनि स्याङजाका चित्र गुरुङ, शुरेस मल्ल र गणेश भट्टराईको बाउटहरु हेर्न लायक हुन्थे । गण्डकी २०४३ देखि २०४७ सम्म लगातार राष्ट्रिय च्याम्पियन बन्यो ।

गुल्मीमा २०४५ मा सम्पन्न एक खेलको संस्मरण सुनाउँदै विद्या मर्सानी भन्छन–“पोखराका शिव गुरुङ आफ्नो वेट क्याटोगरिमा करिब–करिब पराजित भइसकेका थिए, अन्तिम बाउट चल्दै थियो, शिवले यस्तो पन्च बजारे प्रतिष्पर्धीलाई कि उनी रिङमानै ढले ।” शिवको त्यो पञ्च उनको अझै पनि मानसपटलमा ताजानै रहेको बताउँछन उनी । विद्या मर्सानी भने सानै बाट जर्मनीहरुले खेलेको देखेर बक्सिङमा प्रवेश गरेका थिए । पछि उनी वक्सिङको मुख्य प्रशिक्षक समेत बने । मर्सानीले आफ्नो खेल जिवनमा भएका राष्ट्रिय बक्सिङ प्रतियोगितामा गण्डकीको नाम सधै अग्रपंक्तिमानै लेखाए ।

पोखराका चित्र बहादुर गुरुङ बक्सिङमा उदय भएको यस्तो खेलाडी हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ इतिहास कायम गरे । २०४२ साल बाट बक्सिङमा प्रवेश गरेका उनले तेश्रो साग १९८७ कलकत्ता भारतमा रजत पदक, चौथो साग पाकिस्तानमा स्वर्ण पदक, ११ औं एसियाली खेलकुद वेजिङमा काश्य पदक, १४ औं एसियाली बक्सिङ च्याम्पियनशिपमा काश्य पदक जिते । ११ औं एसियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक विजेता खेलाडी चित्रनै थिए ।

अनौठो के छ भने चित्र बहादुर पहिला भलिवलका राष्ट्रिय खेलाडी थिए । उनले गण्डकी बाट भलिवलको राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका थिए । पछि उनी एथ्लेटिक्सको खेलाडी पनि रहे । तर उनलाई पछि बक्सिङमा प्रवेश गराइयो । बक्सिङका एक जना पाकिस्तानी प्रशिक्षक मेजर रशिद बाट प्रशिक्षत हुँदै उनले नेपाली बक्सिङ खेलमा नयाँ संसार बसाले । चित्रबहादुर संगै बक्सिङ खेलेका अर्का सहपाठी हुन सुरेश मल्ल । मल्लले प्रतिष्पर्धीलाई चितुवाले झैं आफ्ना पञ्चहरु बर्साउने गरेको विद्या मर्सानी बताउँछन । उनले चौथो र पाँचौ साग गेम्समा नेपालका लागि पदक जितेका थिए । उनले सन १९८८ मा इण्डोनेशियामा सम्पन्न वल्र्ड बक्सिङमा रजत पदक जितेर सनसनीनै मच्चाए । मल्ल यति बेला स्वयसेवी प्रशिक्षकका रुपमा नयाँ खेलाडी उत्पादनमा तल्लिन छन ।

बक्सिङ खेलमा नयाँ तहल्का मच्चाउने पोखराका अर्का खेलाडी हुन गणेश भट्टराई । गणेश विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । ८५ केजी हेवी वेटका गणेशले ११ औं एसियन गेम्स बेइजिङमा समेत सहभागिता जनाए । चौथो सागमा रजत पदक विजेता गणेशले थाइल्याड, जर्मनी, पाकिस्तान लगाएत देशका विभिन्न प्रतियोगितामा सहभागिता जनाए । उनी संगै देउकाजी गुरुङ, शिव गुरुङले समेत पोखरा बाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए ।

पोखरामा वक्सिङ खेल व्यवस्थित गर्न २०५९ सालमा संघ गठन भयो । हिजोको इतिहास भने वक्सिङ खेलले दोर्हाउन सकेन । तथापी २०६४ सालमा पहिलो पटक महिला राष्ट्रिय प्रतियोगिता समेत पोखरामा आयोजना भयो । पोखरामा महिला खेलाडीको उल्लेख्निय नाम नभए पनि यति बेला प्रियङ्का वर्मा भने भारतको पटियालमा प्रशिक्षकका लागि अध्ययनरत छन । पछिल्लो पुस्तामा सविन गुरुङ, सुमन लामा, अनुप लामा जस्ता केही युवाहरुले पोखराको बक्सिङकलाई थामिरहेका छन । २०६४ मा आयोजना भएको पछिल्लो सवैभन्दा गर्व लाग्ने वक्सिङ प्रतियोगितानै हो । त्यो विचमा केही साना तिना प्रतियोगिता भए पनि ति सम्झने लायक छैनन । २०६४ मा नै राजेश गुरुङले विजेतालाई सुनको मेडल दिएर खेलकुद वृत्तमा नयाँ आयामनै थपेका थिए ।

यता भारतिय सेनामा सेवा निर्वितहरुले पोखरामा भुपु बक्सिङ क्लव स्थापना गरेर बक्सिङलाई उठाउने प्रयास गरिरहेका छन । लोक बहादुर गुरुङ लगाएतको टिमले केही नयाँ पुस्ताका खेलाडी उत्पादनमा स्वयसेवी भुमिका निर्वाह गरिरहेका छन । उक्त संस्था बाट महिला खेलाडी शिषम थापा मगर एक उत्कृष्ट खेलाडी हुन भने अन्य खेलाडीमा दिनेश वानिया, दिनेश गुरुङ, पवन गुरुङ लगाएत केही मेडलिष्ट खेलाडी हुन ।

मुलुकको लामो द्वन्दका कारण बक्सिङ पनि अरु खेल जस्तै अछुतो रहन सकेन । २०५२ देखि २०६२ र त्यस पछिका १० वर्ष राजनितिक उतारचढावले पोखराको बक्सिङ खेलमा धक्का पुगेको बताउँछन पुर्व राष्ट्रिय खेलाडी गणेश भट्टराई । खेलकुदमा राजनिती मात्रै भयो । कुनै एकेडेमीको स्थापना भएन । खेलकुदलाई कुनै पनि मल्टीनेशनल कम्पनीले आफ्नो सामाजिक सेवा अन्तरगत सकेनन । अन्य खेलकुद संगै बक्सिङमा छिरेको राजनितिक प्रभावले यसलाई धेरै पछि धकेलिएको बताउँछन उनी ।
बक्सिङका अग्रज खेलाडी चित्रबहादुर अहिलेका खेलाडीमा अनुशासनको अभाव देख्छन । त्यसैले पनि उनीहरुको खेलमा निखरता आउन सकेको छैन । अनुशासनको कमीले उनीहरुको हौसलानै नरहेको र प्रशिक्षण पनि केवल समय विताउनका लागि जस्तै भएको बताउँछन । खेलाडीमा आत्मसम्मान नजागे सम्म कुनै पनि खेल अगाडी बढ्न नसक्ने उनको तर्क छ । विगतमा रिङ भित्रका बाउटमा गण्डकीका खेलाडीले प्रतिष्पर्धी माथी वर्साएका ति पञ्चहरु हेर्न अव कति समय कुर्नुपर्ने हो त्यो भने समयले देखाउनेछ ।
तस्विरः सुदर्शन रञ्जित

पाेखरा/गण्डकी अञ्चल बाट खेलेर पदक जितेेकाा अरुपनि भयकाे अबगत गराउदछु।
खेलाडि बाेध बहादुर कुवर रहेकाे जानकारि गराउदछु।