पोखरामा हिजोको भलिबल….आजको भलिबल

पोखरा/केशव पाठक
पोखरामा भलिवल खेलको इतिहास लामो छ । भारतिय सेनामा कार्यरतहरुले भलिबललाई गाउँ–गाउँ सम्म पुर्याए । ति लाहुरेहरुले बसालेको भलिवलको जगले पोखरा अर्थात तत्कालिन गण्डकी अञ्चल र हाल गण्डकी प्रदेशको नाम संधै उच्च बनाइरहेको छ ।

२०१४ साल तिर नै तत्कालिन सोल्जर वोर्ड स्कुल हालको अम्मर सिंह मावी, पोखराको पृथ्वीनारायण क्याम्पस, मल्टिपर्पोज मावी हालको राष्ट्रिय मावीमा भलिवल कोर्ट बनिसकेका थिए । २०१४ सालमा विद्यालय स्तरिय भलिवलमा सहभागी भएको खेलकुदका अग्रज व्यक्तित्व खड्ग रानाभाट बताउँछन ।

लाहुरेहरुले विदामा गाउँ फर्किदा आफू संग ल्याएको नेट र बल अनि बाँस गाडेर खेल्ने उतिबेला देखिनै प्रचलनमा थियो भलिवल । बाल्यकाल बाट भलिवलको माहोल बुझेका रानाभाटले लाहुरेहरुले विसं २०१२/०१३ साल तिर भलिवल खेलेको निकै चाख मानेर हेर्ने गरेको सुनाउँछन । लाहुरेहरुको खेलकुद मोह देखेरनै उनी पनि युवा अवस्थामा खेलकुदमा आर्कषित भए ।

विद्यालय स्तरमा शुरु भएको भलिवलले पोखराले धेरैनै राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको इतिहास छ । सन १९८२ मा भारतको राजधानी दिल्लीमा सम्पन्न नवौं एसियाली खेलकुदमा गण्डकी बाट ५ जना खेलाडीले एकै पटकमा देशको प्रतिनिधीत्व गरेको गर्विलो इतिहास पनि यहिँ छ । पोखराका हरि पराजुली, ज्ञानु रोक्का, देवी सुवेदी, इश्वर श्रेष्ठ र बलराम क्षेत्रीले नेपाल बाट खेल्ने सौभाग्य पाए । यस विच ३८ वर्षको इतिहासमा पोखराले भलिवलमा धेरै उतार चढाव व्योहरेको छ ।

पोखरामा पहिलो पुस्ताका भलिबल खेलाडीले यसको जग यति बलियो बनाएकै कारण आज पनि पोखरामा भलिवललाई उत्तिकै सम्मानका साथ खेलप्रेमीले लिने गरेका छन । पहिलो पुस्ताका खेलाडी मध्ये खड्ग रानाभाट, उदय बहादुर बस्नेत, शेर बहादुर गुरुङ, मान बहादुर गुरुङ लगाएत हुन । पोखरामा सबै भन्दा पुराना क्लव मध्ये अन्नपुर्ण क्लव र इन्द्रेणी क्लव चर्चित क्लवहरु हुन । जसले भलिवलको शाखलाई लामो समय सम्म जोगाई राखे । माटेपानी क्लव, बाटुलेचौर क्लव लगाएत क्लवले पनि भलिवलको उचाई थप्न सहयोग गरे ।

देवी, सुवेदी, ज्ञानु रोक्का, हरि पराजुली, जगन गुरुङ, इश्वर श्रेष्ठ, बलराम क्षेत्री, शेर बहादुर गुरुङ, कृष्ण बहादुर गुरुङ, जिवन बस्नेतहरुले दोश्रो पुस्ता सम्म पोखराको भलिवल खेल जोगाई राख्न अग्रणी भुमिका खेले । २०३१ सालमा भलिवलको पहिलो राष्ट्रिय खेलमा गण्डकीले सहभागिता जनायो । २०३२ सालमा बाट नै पोखरा रंगशालामा केही प्रशिक्षणहरु हुन्थे । तर व्यवस्थित कोर्ट नहुँदा अम्मर सिंह स्कुल र पिएन क्याम्पसको कोर्टमा प्राय प्रशिक्षण र खेलहरु आयोजना हुन्थे । पोखरेली भलिवल खेलाडीहरु तत्कालिन समयमा नेपाली सेनाको किङ्स व्यानर प्रतियोगितामा विभिन्न गण बाट छरिएर पनि खेल्ने गरेको पुर्व राष्ट्रिय खेलाडी हरि पराजुली बताउँछन ।

२०३४/०३५ सालको विरेन्द्र शिल्डमा समेत गण्डकीले सहभागिता जनाएको इतिहास छ । २०३७ सालमा विरगञ्जमा सम्पन्न अन्तर क्याम्पस भलिवल प्रतियोगितामा सहभागिता, २०३९ सालको दोश्रो राष्ट्रिय भलिवल प्रतियोगितामा गण्डकीले दोश्रो स्थान प्राप्त गर्यो । २०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा छलाङ मार्दै पहिलो स्थानमा उक्लियो । २०३९ मा प्रथम अन्तर नगर (हेटौडा) मा सहभागिता, २०४१ सालमा दोश्रो अन्तर नगर (विराटनगर) विगतका केही उल्लेखनिय सहभागिता रहे । २०३९ देखि ०४२ सम्म पोखरामा अन्तर क्लव प्रतियोगिताले पनि निरन्तरता पायो ।

पोखरामा २०३८ सालमा पहिलो पटक महिला भलिवल खेलाडीहरुको उदय भयो । मञ्जु गुरुङ (हाल युके), शान्ती गुरुङ, रुकु पुन, सावित्री श्रेष्ठ लगाएत खेलाडीहरु भलिवल कोर्टमा उत्रिए । महिला भलिवल खेलाडी उत्पादनमा लामो समय सम्म निजी विद्यालयहरु ज्ञानु बावा, फिसटेल एकेडेमी, टप्स मावीको योगदान रह्यो । ज्ञानुबाबाले ढोर पाटन महिला भलिबल कप लगालग पाँच पटक सम्म उचालेको इतिहास छ ।

पोखरामा पहिलो विदेशी भलिवल प्रशिक्षकका रुपमा जापानिज प्रशिक्षक तोशियुकी सोजी २०३८ सालमा पोखरा आए । उनलेनै दोश्रो पुस्ताका राष्ट्रिय खेलाडी उत्पादन गर्न अहम भुमिका खेले । २०३९ सालमा पहिलो पटक राष्ट्रिय प्रशिक्षकका रुपमा प्रचण्ड सिंह पोखरा आए । जापानी प्रशिक्षक कोजी र सिंहले गण्डकी प्रदेशको टिमलाई पहिलो स्थानमा उभ्यायो ।

२०२८ साल बाट विद्यालय जिवन बाट विश्व शान्ती मावी बाट भलिवल खेल जिवनमा प्रवेश गरेका बलराम क्षेत्री २०४२ सम्म भलिवलमा व्यस्त रहे । धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका उनले २०५२ साल बाट प्रशिक्षकको जिम्मेवारी समेत सम्हाले । उनले भने–“अहिलेको जस्तो ठूलो माहोल त थिएन, खेलाडी परिश्रम गर्थे, खेलप्रती लगाव थियो, त्यसैले पनि स्तरियता थियो खेलाडीमा ।” पिएन क्याम्पसका तत्कालिन खेल प्रशिक्षक स्व. रञ्जित गुरुङले भलिवलको टिम बनाउन ठूलो भुमिका खेलेको उनी बताउँछन । उनले सबैलाई खेल्ने वातावरण बनाइदिन्थे, हौसला दिन्थे ।

पोखरामा २०४६ पछि तेश्रो पुस्ताका खेलाडीका रुपमा याम गुरुङ, कृष्ण पण्डित, भरत धिताल, सोम गुरुङ, चोक गुरुङ, पाण्डु श्रेष्ठ, मेख थापा, गंगा बस्नेत, अमर बानियाहरु भलिवल कोर्टमा देखा परे । यो टिमले २०५२ सम्म गण्डकीको नेतृत्व गरिरह्यो । २०५२ पछि सुनिल श्रेष्ठ, जिवन चौधरी, प्रविन काउछा मगर, बुद्ध सिंह शंकर गुरुङ, लेखनाथ लम्साल, रमेश केसीले पाँचौ पुस्ताका रुपमा गण्डकीको भलिवल सम्हाल्न पुग्यो । यति बेला गण्डकीको भलिवलमा तहल सिंह थापा, सञ्जु विक्रम शाही, हरि पाण्डे, नविन गुरुङ राजुकमार गुरुङ र रमेश केसीको नाम अग्रपक्ती रह्यो ।

तर यति बेला गण्डकीको भलिवल महिला वा पुरुष दुवै खस्किएको छ । भएका केही खेलाडी लाहुरे बन्न पलायन भए त कोही रोजगारको शिलसिलामा विदेश । तर पुर्व भलिवल प्रशिक्षक बलराम भने यसका लागि भलिवल संघ, प्रशिक्षक र व्यवस्थापकको भुमिका प्रभावकारी नभएकोले गर्दा खस्किएको बताउँछन ।

यति बेला विद्यालयमा भलिवलको स्थिती शुन्य प्राय छ । संघ, विद्यालय र प्रशिक्षक मिलेर यसलाई अगाडी बढाउन सके फेरी भलिवलको माहोल माथी उठाउन र नयाँ पुस्ताका खेलाडी उत्पादन गर्न कुनै समस्या नहुने प्रशिक्षक क्षेत्रीको तर्क छ । नेपाली भलिवलको खेल जगतमा पोखराले भलिवल खेलमा गरेको लगानी र खेलाडीको पसिनाको महत्वका बारेमा संघको नेतृत्वमा बस्नेहरुले बुझ्न आवश्यक छ । पुर्खाहरुले धानेको भलिवल माथी बसेर गफ लडाउन सजिलो होला तर उनीहरुको योगदानको मुल्याकंन भयो भने मात्रै त्यसले सार्थकरुप लिन सक्छ ।
फायल तस्विरः सुदर्शन रञ्जित

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close