हिमालको काखमाः ‘हाई अल्टिच्युड’ मनाङको तिमाङ खेल मैदान

केशब पाठक/ पोखरा
मनाङ हिमाल पारिको जिल्ला तर सम्भावना बोकेको ठाउँ । कठिन जन जिवन संगै हिउँलो कठ्याङ्गरिएर जिल्ला छोड्न पर्ने स्थानियको अवस्था । तर त्यही कठिन अवस्थालाई पनि सुगम तिर बनाउने प्रयासमा लागेको राष्ट्रिय खेलकुद परिषद ।

मनाङको तिमाङ खेल मैदान । हिउँले भरिएको मैदान । नजिकै नाकै ठोक्किने हिमाल । अनि मैदानको छेवैमा रहेका विद्यालय । सानो बस्ती । थोरै जनसंख्यको जन जिवन । तर उत्साह भने प्रेरणादायी । त्यो उत्साह भने उनीहरुलाई यहाँको खेल मैदानले भरिदिएको हो ।

तिनै चामे गाउँपालिका वडा नं १ तिमाङ बाशीको जिवनमा उत्साह भर्न पुगे राखेपका सदस्य सचिब रमेश कुमार सिलवाल । पहिलो पटक मनाङ टेकेका उनी भन्दै थिए–“जता हेर्छु उतै सम्भावना ।” उनको हेर्ने नजर खेलकुदको थियो । शाहसिक खेलकुद पर्यटनको गन्तव्य उनको नजरमा घुमिरहेको थियो । त्यही भएर पनि तिमाङमा करिब १ करोड खर्चेर मैदान निर्माण हुँदैछ ।

मनाङमा पाइला टेक्ने वित्तिकै उनले जिल्ला खेलकुदका प्रमुख दुध बहादुर गुरुङलाई सोधी हाले कहाँ र कसरी मैदानलाई स्तरोन्नती गर्न सकिन्छ ? मैदान चक्ल्याउन के कती जमिन पाइन्छ ? डिपिआर भयो की भएन ? फायल कता छ ? उनले सोध्न नभ्याउँदै कार्यालय प्रमुखले डिपिआर सहितको कागज पत्र थमाए । सदस्य सचिब त्यसैमा घोत्लिन थाले । नजिकै बसेर उनी संगै मनाङ पुगेका टासी घले र राखेप सदस्य राजेश गुरुङ पनि के गर्न सकिन्छ भन्ने सल्लाह गरे ।

टाशी घलेले कुरो उक्काए–“२०६७ सालमा मैले हाई अल्टिच्यूड खेल मैदान निर्माण गर्ने सपना बुनेको थिंए ।” सदस्य सचिब सिलवालले उनको कुरोमा हो मा हो मिलाउँदै थपे–“यहाँले देखेको सपना अब ४–५ वर्षमा पुरा हुन्छ ।” गाउँका आमा समुह र युवा टोलीका सदस्यहरु पनि सदस्य सचिब सिलवालको कुरामा दङ्ग पर्दै काम लाई गति दिन आग्रह गर्दै थिए ।

तिमाङको हाई अल्टिच्युड खेल मैदान बनाउन हाल सम्म १ करोड ६३ लाख खर्च भईसकेको रहेछ । प्रमुख दुध बहादुरका अनुसार मैदान १३५ मिटर लम्वाई र ११२ मिटर चौडाईको छ । यो मैदानलाई राखेपले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न बनाउन लागेको सदस्य सचिबले बताए । त्यसैले पनि थप जग्गाको खोजी भएको उनको भनाई थियो । संघिय सांसद पाल्टेन छोवाङ गुरुङले १० लाख र प्रदेश सांसदले सांसद बिकास कोष बाट ५ लाख गरि १५ लाख दिएका छन । आ.व २०७६–०७७ का लागि राखेपले ५० लाख छुट्टाएको छ ।

तिन महिना सम्म तिमाङको यो मैदान हिउँले ढपक्कै ढाक्छ । जव हिउँले ढाक्छ तव जनजिवन पनि ठप्प हुन्छ । ढपक्कै ढाकिएको हिउँको मैदान आइस स्केटिङ्गले ठाउँ लिन सक्छ भने अन्य सिजनमा फुटबल प्रशिक्षणका लागि यो तिङ्गला मैदान प्रशिक्षणका लागि उपयुक्त हुने सदस्य सचिबको भनाई छ । विश्वमा हाई अल्टिच्युड खेल मैदानका विशेषताका बारेमा चर्चा भइरहँदा राष्ट्रिय खेलकुद परिषदको यो प्रयास भने लोभ लाग्दो नै छ ।

सदस्य सचिब सिलवालले गण्डकी प्रदेशको पोखरामा आगामी २०७७ फागुन २० बाट आयोजना हुने नवौ राष्ट्रिय खेलकुद परिषदमा सबै गण्डकी प्रदेशका सबै जिल्लामा कुनै न एक खेल आयोजना गर्ने बताइरहँदा मनाङमा समेत कुनै एक खेल गर्न सुझाए । उनले भेला भएका सबैलाई भने–“यहाँहरु पनि नवौं खेलकुदको ‘वनरशिप’ लिन तयार हुनुहोस, कुन खेल आयोजना गर्दा राम्रो हुन्छ सल्लाह गर्नुहोला ।” उनले यसो भनिरहँदा चैतको पहिलो साता हिउँले स्थानियको चिसोले कठाङ्गरिएको जिउ धपक्कै तात्यो । गोजी बाट हात झिकेर फरर तालि ठोके ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले यस क्षेत्रको खेलकुद विकासमा युवा तथा खेलकुद मन्त्रालय र राखेपको चासो रहेको धारणा राख्दै गण्डकी प्रदेश सरकारलाई समेत यो ठाउँमा हाई अल्टिच्युड खेल मैदानको कामलाई निरन्तरता दिन आफूले सुझाब दिने बताए ।

यता खेलकुदमा आफ्नो छुट्टै पहिचान बनाएका टाशी घलेले आफ्नो सपना पुरा हुन लागेकोमा दङ्ग थिए । “२०६७ साल बाट बुनेको सपना पुरा हुँदैछ ।” उनी मनाङकै हुन । आफ्नो गाउँ ठाउँको बिकास भएको हेर्न कसलाई मन हुन्न र ? त्यही पनि टाशी घले भन्ने वित्तिकै खेलकुदमा उत्साहका साथ लिइने नाम हो । आफ्नो जिल्लामा खेलकुदले गति लिने भएपछि उनी खुसी हुनु स्वाभाविक पनि थियो ।

मनाङको तिमाङमा सम्पन्न हुन लागेको यो मैदानले निकै चर्चा पाउने स्वाभाविक नै हुन्छ । नेपालको हाई अल्टिच्युड खेल मैदानमा औंलामा गन्न सकिने मध्ये यो एक मैदान हो । अव यहाँ बन्ने करिव २६ करोडको लागतमा बन्ने कभर्ड हल संगैको यो मैदानलाई विश्व बजारमा प्रचार गर्न सके यहाँको खेलकुद संगै स्थानियको जिवनलाई अगाडी बढाउने यात्रामा यसले ठूलो भुमिका खेल्ने छ । नेपाल  शाहसिक खेलकुद गन्तव्यका रुपमा अघि बढ्ने संगै खेलकुदमा नयाँ जग स्थापित हुनेमा कुनै शंका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close