सृजना कप छात्र–छात्रा भलिवलमा राष्ट्रिय मावि र जनप्रियलाई उपाधी

पोखरा, कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौरको संयुक्त आयोजनामा सम्पन्न दोश्रो सृजना कप छात्र–छात्रा भलिवलमा छात्र तर्फको उपाधी राष्ट्रिय मावि, बगर र छात्रा तर्फको उपाधी जनप्रिय मावि, सिमलचौरले जितेका छन । जित संगै दुवै टिमले उपाधी रक्षा समेत गरेका छन ।

छात्र तर्फको फाइनल खेलमा गत वर्ष समेत उपविजेता रहेका वाराही मावि मालेपाटनलाई ३–२ को प्रतिष्पर्धात्मक सेटमा पराजित गर्दै राष्ट्रिय माविले उपाधी रक्षा गरेको हो । खेलमा राष्ट्रिय माविले पहिलो र दोश्रो सेट २८–२६ र २५–२० ले जित्दै अग्रता लिए पनि तेश्रो र चौथो सेट २५–२१ र २७–२५ ले गुमाउन पुग्यो । लयमा फर्किएको बाराही माविले राष्ट्रिय माविलाई अन्तिम समय सम्म चुनौति पस्किएको भए पनि १६–१४ ले राष्ट्रिय माविलाई उपाधी सुम्पियो ।

यसै गरि छात्रा तर्फ भने जनप्रिय माविले ताल वाराही मावि लाई ३–० को सोझो सेटमा पाखा लगाउँदै उपाधी रक्षा गरेको हो । जनप्रियले २५–१८, २५–७ र २५–१६ ले तालवाराही माविलाई पाखा लगाएको थियो ।

प्रतियोगितामा छात्र तर्फ मेर्शम वाराह माविले कालिका माविलाई पराजित गर्दै तेश्रो स्थान हासिल गर्यो भने राष्ट्रिय माविले विन्दयवाशिनी माविलाई पराजित गरि तेश्रो स्थान प्राप्त गर्यो ।

उपाधी संगै राष्ट्रिय मावि र जनप्रिय माविले नगद ५०–५० हजार प्राप्त गरेका छन भने दोश्रो हुने वाराही मावि र ताल वाराही माविले नगद ३०–३० हजार र तेश्रो हुने मेर्शम वराह र राष्ट्रिय माविले १५–१५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगितामा छात्र तर्फ राष्ट्रिय माविका दिनेश सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । वराहीका प्रविन सुवेदी उत्कृष्ट स्पाइकर, वाराहीका अजय थापा उत्कृष्ट बल्कर, सोही विद्यालयका बल बहादुर नेपाली र राज कुमार विक उत्कृष्ट सेटर र डिफेन्डर घोषित भए । उनीहरुले जनही १–१ थान भलिवल प्राप्त गरे ।

छात्रा तर्फ जनप्रियकी तेलिना छन्त्याल उत्कृष्ट खेलाडी घोषित भइन । उनले नगद ५ हजार प्राप्त गरिन । जनप्रियकी मन्जु सेन्चुरी र विपना पुन क्रमश वेष्ट सेटर र वेष्ट सर्भर हुन सफल भए । ताल वाराहीकी सृष्टी विक र विपना नेपालीले क्रमश वेष्ट स्पाइकर वेष्ट डिफेन्डर हुन सफल भए । अन्य विद्यामा उतकृष्टले १–१ थान बल प्राप्त गरेका छन ।

कास्की जिल्ला भित्रका सामुदायिक विद्यालयका छात्र–छात्रा सहभागि भएको उक्त प्रतियोगितामा छात्र तर्फ २७ र छात्रा तर्फ गरि कुल ४२ विद्यालयको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा सृजना विकास केन्द्रका अध्यक्ष मिन प्रसाद भट्टराई सम्मानित भएका छन । उनलाई कार्यक्रमका प्रमुख अतिथी शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका सचिब महेश प्रसाद दाहालले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । भलिवल खेलमा पुर्याएको योगदानका लागि उनलाई सम्मान गरिएको कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीले बताएका छन ।

समापन कार्यक्रममा बोल्दै सचिब दाहालले विद्यालय पठन पाठन मात्रै गर्ने ठाउँ मात्रै नभई शारिरिक र व्यक्तित्व विकासका लागि समेत उत्तिकै महत्वपुर्ण हुने भएकोले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई हौसला मिल्ने बताए । सरकारको शिक्षा नितिमा खेलकुद अनिवार्य गरिएको र हरेक विद्यालयमा खेल मैदान संगै खेलकुद शिक्षक अपरिहार्य गरिएको बताए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, भलिवल संघका अध्यक्ष भिम पराजुली लगाएतले बोलेका थिए । कार्यक्रम सृजना विकास केन्द्रका अध्यक्ष मिन प्रसाद भट्टराइको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close