मनकामना र आहा रारा गोल्ड कपको खेल तालिका फेरि जुधायो एन्फाले

पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज मोफसलमा हुने खेल तालिका प्रकाशित गरेको छ । एन्फाले जारि गरेको खेल तालिका सार्वजनिक गरे संगै पोखरामा आयोजना हुने दुई वटा खेल मनकामना कप र आहा रारा गोल्ड कपको आयोजना मिती यो वर्ष पनि जुधेकोछ ।

एन्फाले जारि गरेको खेल तालिका अनुसार एन्फा कास्कीले आयोजना गर्ने मनकामना कपको मिती फागुनको १ देखि १० गते सम्म तोकिएको छ भने ठिक त्यसको १२ दिन अर्थात २२ देखि चैत्र १ गते सम्म आहा रारा गोल्डकपको मिती तोकिएको छ ।

ग्त वर्ष समेत एन्फाले सोही अनुसारको अन्तरमा दुई खेल आयोजना हुँदा दर्शक समेत निरास बनेका थिए । पोखरामा कसले पहिला आयोजना गर्ने भन्ने विवाद चलिरहँदा आफूले पहिला गर्न पाउने भन्ने अधिकार समेत एन्फा कास्कीले शुरक्षित गरेको छ ।

यता आहा रारा गोल्डकपको १८ औं संस्करणको तयारी शुरु गरेको सहारा क्लब पोखराले चुप–चाप सहनु बाहेक अर्को विकल्पनै नभएको जस्तो गरि मौन बसेको छ । क्लबका अध्यक्ष केशब थापाले यसरी मिती नजिक हुँदा आफूहरुलाई निकै अप्ठ्यारो परेको सुनाउँछन । ‘हामी यसैको आम्दानीले एकेडेमीमा आश्रित बालकहरुको भरण पोषणका लागि खर्च गरेका थियौं, अब त्यो सम्भब देख्दैनौ’ उनले भने–‘सबै कुरा पत्रकार सम्मेलनमानै भन्ने छौं ।’

केही वर्ष रोकिएर एन्फा कास्कीले आयोजना गर्ने मनकामना कपको मिती फागुन १ देखि १० गते सम्म तोकिएपछि एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ खुसी व्यक्त गरेका छन । उनले भने–‘अब हामी गत वर्षको हिसाब किताव समेत सार्वजनिक गर्छौ र फेरी तयारीमा जुट्छौ ।’

गत वर्ष समेत मनकामना भन्दा आहा रारा ढिलो सकिएपनि सहाराले प्रतियोगिता सकिएको चार महिना भित्रै हिसाव सार्वजनिक गरेको थियो तर एन्फा कास्कीले त्यसो गर्न सकेको छैन । एन्फा कास्कीको विभिन्न कामले गर्दा समय नमिलेको अध्यक्ष मिलन बताउँछन ।

पोखरा रंगशालाको फुटबल मैदानले नयाँ स्वरुप पाएपछि अबको प्रतियोगिताहरु आयोजना गर्दा निकै सहज हुने र खर्च समेत जोगिने अध्यक्ष मिलनले बताए । तर खर्च जोगिने भन्दा पनि दुई वटा ठूला प्रतियोगिताहरु एकै समयमा आयोजना हुँदा त्यसले फुटबल बिकास संगै फुटबल खेलको ‘चार्म’मा धक्का लाग्ने धेरैको विश्वास छ ।

एन्फा कास्कीले फुटबलका यस्ता प्रतियोगिता भन्दा पनि स्थानिय र जिल्ला स्तरका फुटबल प्रतियोगिताहरु आयोजना गरि नयाँ प्रतिभावान खेलाडी उत्पादनमा ध्यान पुर्याउनु पर्ने धेरैको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close