
पोखरा,
उपाधिको दावेदार विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शनिबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै प्रतियोगताको उपधिनजिक पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकीले एक समय आर्मीलाई दबाबमा राखेपनि त्यसलाई निरन्तता दिन नसक्दा आर्मी उपाधिनजिक पुग्न सफल भएको हो । शुरुको सेटमा आर्मी २५–१९ ले विजयी हुन सफल भएको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एक समयमा गण्डकीले ५ अंकको अग्रता लिएर पनि जोगाउन नसक्दा २५–२१ ले आमीलाई नतिजा सुम्पिएको थियो । १७–१७ को बराबरीबाट अघि बढ्दै जित हात पार्न सफल भएको थियो । तेस्रो सेटमा याम क्षेत्री कप्तान सन्जु विक्रम शाह र अमृत केसीले उच्च प्रदर्शन गरेपछि आर्मीले गण्डकीलाई १९–२५ ले नतिजा सुम्पिदा खेल २–१ को सेटमा पुगेको थियो । तर, चौथो सेटमा आर्मी खेलमा फर्कदै २५–१७ को जितसहित फाइनलमा पुग्न सफल भयो ।
अब आर्मीले अर्काे दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग आइतबार खेल्नेछ ।
दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीचको दोस्रो सेमिफाइनल खेल स्थगित भएको छ । पुलिस र एपीएफको खेल भने लाइट प्रोटेस्टका कारण रद्ध भएको हो । चौथो सेट चलिरहँदा लाइट नपुगेपछि रेफ्रीले दुई कप्तानको निर्णयमा खेल स्थगित गरेको र खेल आइतबार बिहान ८ बजे शुरुबाटै हनुे रेफ्री कुल बहादुर रानाले जानकारी गराएका छन् । हुनेछ । खेलमा पुलिस २–१ को सेटमा अघि रहेको थियो ।
चौथो सेटमा पनि पुलिसले १६–१२ को अग्रता लिइरहेको थियो । पुलिसले शुरुवाती दुई सेट २५–२१ र २५–१५ ले सहजै जितेपनि तेस्रो सेट २४–२६ ले गुमाएको थियो । विजेताले आइतबार उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग तथा पराजित हुने टोलीले तेस्रो स्थानको लागि गण्डकी प्रदेशसँग खेल्नेछ ।
प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
