ऐतिहासिक लिगलिग कोट साइकल दौड चैत ४ मा, तयारी सुरु

पोखरा स्पोर्टस । नेपालको ऐतिहासिक कोट लिगलिग कोटमा आगामी चैत ४ गते तेस्रो संस्करणको लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ ।

लिगलिग भिलेज स्पोर्टसद्वारा आयोजित उक्त प्रतियोगिता गोरखा पालुङटार नगरपालिका २ स्थित लिगलिगकोटमा हुने भएको हो । करिव ५३ किलोमिटर साइकल दौड लिगलिगकोटबाट सुरु भएर आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो वगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, हात्तीगौडा, लुइटेल, बड्डाडा, मैभल हुँदै पुनः लिगलिगकोट पुगेर सम्पन्न हुनेछ ।

प्रतियोगितामा पहिलो हुनेले नगद ७५ हजार, मेडल, प्रमाणपत्र, दोस्रो हुनेले नगद ५० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र, चौथो हुनेले नगद १५ हजार नगद, मेडल, प्रमाणपत्र र पाचौ हुनेले ७ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने आयोजक लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिएका छन्

प्रतियोगितामा एक सय भन्दा वढी खेलाडी सहभागी हुने उक्त साइकल दौड प्रतियोगिता ऐतिहासिक स्थलहरुमा आयोजना हुने प्रतियोगिता मध्येको एक रहेको लिगलिग भिलेज स्पोर्टसका निवर्तमान अध्यक्ष सञ्जिव रानाले बताए । उनले भने–“हामी खेलकुद मार्फत लिगलिगकोट लाई विश्वसामु चिनाउन चाहन्छौं । तेश्रो सस्करण सम्म आइपुग्दा यसको महत्व बढ्दै गएको छ भने प्रदेश खेलकुद परिषद गण्डकी र पालिकाहरुले समेत यसका लागि रकम विनियोजन गरेर हामीलाई हौसला थपेका छन् ।”

प्रतियोगिताको प्रायोजकमा पालुङटार नगरपालिका, गोरखा नगरपालिका, नेपाल पर्यटन बोर्ड रहेका छन् भने सहप्रायोजकमा प्रदेश खेलकुद परिषद गण्डकी, सिरानचोक गाउँपालिका, राइनास नगरपालिकालगायत रहेका छन् । चैत ४ गते हुने प्रतियोगिता अन्तर्गत विविध साँस्कृतिक कार्यक्रम अन्तर्गत, लोकदोहोरी गीत प्रतियोगिता, बालन, चुटका, लाखेनाच, राष्ट्रिय चर्चित कलाकारहरुको सांगेतिक प्रस्तुती रहने लिगलिग भिलेज स्पोर्टसकी सचिव प्रमिला गुरुङ रानाले जानकारी दिएकी छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव ३० लाख खर्च हुने सचिव गुरुङले बताइन् ।
फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close