
पोखरा, २६ साउन । एसियन भलिबल कन्फेरेडेशनको संयोजन तथा नेपाल भलिबल संघको आयोजनामा नेपालमा हुने सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि संघले पुरुष खेलाडीको अन्तिम नामाबली सार्वजनिक गरेको छ ।
संघका महासचिब जितेन्द्र बहादुर चन्दका अनुसार छनोट समितीले यहि साउन ३२ गते देखि भदौ ८ गते सम्म काठमाडौमा संचालन हुने प्रतियोगिताका लागि १४ जना खेलाडीको अन्तिम खेलाडीको टुँगो लगाइएको जानकारी दिएका छन ।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेल ललितपुरमा आयोजना हुने उक्त प्रतियोगितामा जोन २ बाट नरेन्द्र गिरी, विशाल बिक र राजकुमार निरौला, जोन ३ बाट हरि अधिकारी, दुर्गा बहादुर खडका र दिपक राज जोशी, जोन ४ बाट धन बहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुल बहादुर थापा र टेकराज अवस्थी रहेका छन ।
त्यसै गरि सेटरमा ईमबहादुर मगर र हरि हजुर थापा तथा लिवेरोमा ईश्वर थापा मगर र बिनोद बहादुर चन्द्र रहेका छन । संघले सेन्ट्रल जोन र नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई समेत मध्यनजर गर्दै करिब दुई महिना अघि बाट बन्द प्रशिक्षण सुरु गरेको थियो । बन्द प्रशिक्षणमा रहेका २५ जना खेलाडी बाट एक महिना अघि १८ जनामा झारिएको थियो भने आइतबार अन्तिम नामावली सार्वजनिक गरिएको हो ।
एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाल लगायत मित्र राष्ट्रहरु बंगलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र तुर्किमिनिस्तानको राष्ट्रिय भलिबल टिमहरु सहभागीता रहने नेपाल भलिबल संघले जनाएको छ ।
फायल तस्बिर
