
पोखरा स्पोर्ट्स/ तस्बिर: सुदर्शन रन्जित । पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले भुटानमाथि जित हासिल गरेको छ ।
सोमबार सम्पन्न खेलमा नेपालले भुटान;लाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो नेपालको दोस्रो खेलमा पहिलो जित भने भुटानको लगातार दोस्रो हार हो ।
यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल भारतसँग १-० गोलले र भुटान बंगलादेशसँग १२-० ले पराजित भएको थियो ।
त्यस्तै आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतलाई २-० ले पराजित गरेको थियो ।
अब लिग चरणको अन्तिम खेल बुधबार भारत र भुटानबीच हुने छ भने नेपाल र बंगलादेशबीच हुने तालिका रहेको छ ।
यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार देशले मात्र सहभागिता जनाएका छन् ।
प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जस अन्तर्गत प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् र शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
