प्रिन्स र अनुमायाले जिते साईनो मेयर कप व्याडमिन्टनको उपाधी

डवल्सतर्फ विशाल र प्रनिशको जोडीलाई उपाधी

पोखरा स्पोर्टस । प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् ।

पुरुष एकल तर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीबिच उपाधीका लागि भएको भिडन्तमा प्रिन्सले बाजी मारेका हुन । उनले एपिएफका दिपेश धामी माथि २३–२१, २१–१८ को जित निकाले । यसका साथै प्रिन्सले चितवनमा भएको हारको बदला समेत लिएका छन् । बिजयी खेलाडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपबिजयी खेलाडीले नगद ३० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै तेश्रो स्थानमा रहेका पुलिस क्लबका बिष्णु कटुवाल र सेनाका रुकेश महर्जनले नगद १०–१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै क्वाटरफाईनलिष्ट सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, भुपु सैनिकका सहरोज अन्सारी र सेनाका भोज बहादुर गुरुङ्गले नगद ५–५ हजार प्राप्त गरे ।

आईतबार साङ्गलास्थित साईनोको कभर्डहलमा भएको महिला एकल तर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई २१–१०, २१–१७ को सोझो सेटमा पराजित गर्दै राईले उपाधी हात पारेकी हुन् । राईले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै उपबिजेता गिरीले नगद १५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा रहेका एपिएफकी शोभा गौचन र धादिङ्गकी तारा आले प्रत्येकले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरे ।

साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ हिमालयन क्लबका बिशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडीले आयोजक साईनोका अभिषेक बोश र सुजन थापाको जोडी माथि २१–१७, १६–२१, २१–१७ को जित निकाल्दै उपाधी उचाले । बिजयी जोडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपबिजयी जोडीले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । सूर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडी तथा गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडी तेश्रो हुँदै नगद १०/१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष भेट्रान ४५ तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी बिजयी भयो । उक्त जोडीले परफेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र संजय कपालीको जोडीलाई १२-२१, २२-२०, २१-१६ ले पराजित गरेका हुन् । बिजयी खेलाडीहरुले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी टिमले नगद २५ हजार, मेडल र प्रमाण पत्र तथा तेश्रो हुने युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडी तथा ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीले नगद १०/१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडीलाई १८-२१, २१-१४, २१-१२ ले पराजित गर्दै ट्रफी उचाले । यस्तै उपबिजयी खेलाडीहरुले मेडल, प्रमाण पत्र प्राप्त गरे ।

पुरुष सी तर्फको प्रतिस्पर्धामा टोखा युथ क्लबका क्षितीज खनाल र अमन महर्जनको जोडीले बाजी मा¥यो । उक्त जोडीले किर्तिपुरका दिप्रिस मुनि बज्राचार्य र निखिल भट्टको जोडीलाई २१-१९, २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । उपबिजेताले मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर फुँयाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सुभाष श्रेष्ठ, महासचिव बिरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

पाँच दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ बर्ष माथी) बी र सी लेबल गरि कुल ६ बिधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको लागत १५ लाख रहेको छ ।

प्रिन्स सम्मानित
पुरस्कार वितरण कार्यक्रमका दौरान बिश्व ब्याडमिन्टन महासंघको जुनियर १९ तर्फ तेश्रो स्थानमा पुग्न सफल हुनुका साथै ब्याडमिन्टन एशियाले उत्कृष्ट जुनियर खेलाडी घोषणा गर्नुले राष्ट्र तथा नेपाली जनमानसको शिर मानलाई उच्च राख्न सफल भएकोमा उहाँको कार्यको उच्च मुल्याङ्कन गर्दै आयोजकले सम्मान पत्रद्वारा सम्मान गरे । दाहाललाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर फुँयालले प्रशंसा पत्र प्रदान गरे ।

AHA RARA ADVT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close