
केशब पाठक,
पोखरा, १४ असार । पोखरा आफैमा पर्यटनको राजधानी । तर पोखरा पर्यटनको केन्द्र मात्रै होइन खेलकुदको राजधानी पनि हो भन्ने कुरा सबैले आत्मसाथ गरेको कुरा हो । विश्वका २ सय ६ राष्ट्रमा खेलिने तेक्वान्दो खेलको एशियन च्याम्पियनशिप २०२० मा पोखरामा तयारी सुरु गरिए पछि फेरि पोखरा खेलकुद अर्थात तेक्वान्दो बाट फेरि विश्व रंगमचमा परिचित हुने मौका पाउँदैछ ।
२०३८ सालको कथा सम्झिंदै तेक्वान्दोका प्रशिक्षक समेत हरिश्वर पोखरेल भन्छन–‘त्यती बेला मार्शल आर्ट राज्य बाट निषेधित थियो, हामी अर्जुन गुरु संग बनपालेको जंगलमा गएर सिक्थ्यौं ।’ उनी ति दिन सम्झिदै भन्छन–‘भर्खरै कलेज पढ्दै थिंए, बु्रस लीको फिल्मले यूबालाई आर्कषित नगर्ने कुरै थिएन, उनको फिल्मले मार्शल आर्ट खेलमा आर्कषित भइयो ।’ यूबाहरुमा तेक्वान्दो सिक्ने लहर नै छाएको उनी बताउँछन । ‘एकातिर प्रहरीको डर अनि सिक्न पनि उत्तिकै मन लाग्ने अर्जुन गुरुले आफूले सिकेको कुरा हामीलाई बाड्नु भयो’ पोखरेलले भने । पोखरेलले १० औं एशियन गेम्समा सहभागीता जनाएका थिए ।
अहिले पोखरामा दुई दर्जन डोजाङहरु संचालनमा छन । पोखरामा तेक्वान्दो खेल स्थापित गर्ने श्रेय स्व. अर्जुन गुरुङको हो । बिस २०४० सालको दोश्रो रािष्ट्रय खेलकुदमा पोखराका अर्जुन र तुलसी गुरुङले तेक्वान्दोमा पहिलो पटक स्वर्ण जिते । तुलसीले हङकङमा रहँदा तत्कालिन समयमा बृटिस आर्मी बाट तेक्वान्दो खेल सिकेका थिए । उनको खेल बाट सबै प्रभावित थिए । पोखरामा तेक्वान्दो खेल शुरु गर्ने अर्जुन भए पनि हङकङ बाट प्रशिक्षित भएर आएका तुलसीले पोखरामा आफ्रले सिकेको खेल शिप यता बाँडे । बृटिश आर्मी बाट तेक्वान्दो सिकेका इन्द्र गुरुङले पोखरा आउँदा प्रशिक्षण दिन्थे । तुलसी हङकङमा तेक्वान्दोका ग्राण्ड मास्टर समेत रहेका उनी मुख्य प्रशिक्षक समेत हुन ।
पोखरा अर्जुन गुरुङ, तुलसी गुरुङ, नारायण गुरुङ, चिना गुरुङ, कृष्ण गुरुङ, हरिश्वर पोखरेल, इन्द्र गुरुङ र महिला खेलाडी सपना मल्ल जस्ता तेक्वान्दो खेलाडी जन्माएको ठाउँ हो । यि हस्तीहरु रिङमा उत्रिए पछि विपक्षीहरु त आधा पराजित भइसकेका हुन्थे भने कोही त आत्तिएर सरेन्डर नै गर्न पुग्थे । त्यस मध्येका हस्ती तुलसी अहिले हङकङको राष्ट्रिय टिमका प्रशिक्षक हुन । उनी समाजसेवामा पनि उत्तिकै लागिपरेका छन । त्यसै गरि ओलम्पियन नारायण गुरुङ पनि अमेरिका बसेर प्रशिक्षण गराइरहेका छन भने एशियन गेम्समा काश्य पदक बिजेता सपना पनि अमेरिकामा कार्यरत छिन । यति बेला पोखराको तेक्वान्दो खेल प्रशिक्षक सुन बहादुर लामा र बलराम लामाले सम्हालिरहेका छन ।
तेक्वान्दो खेल संगै बिदेशमा बसेर देश चिनाई रहेका पोखराका चिर परिचित मध्ये केही पूर्ब खेलाडीहरु अहिले पनि विभिन्न देशमा बसेर तेक्वान्दो खेललाई नै कर्मको रुपमा अगाडी सारेका मात्रै छैनन नेपाली खेलाडीहरुको आफ्नो सक्षमता प्रर्दशन गरिरहेका छन । देश बाट पलायन हुने बित्तिकै सबैथोक बिर्सने नेपालीको बानी भन्दा केही पर रहेर समाजसेवालाई पनि आफ्नो मुल मर्मलाई अगाडी सारेका छन अर्थात तेक्वान्दो संगै समाजसेबा उनीहरुको कर्म बनेको छ र देशलाई बिर्सेका छैनन । सायद तेक्वान्दो खेलको अनुशासनले पनि यो कार्य गर्न उनीहरुलाई सिकाएको ठान्नु पर्छ ।
यो क्रम संगै पोखरामा नेपाल भ्रमण वर्ष २०२० संगै पोखरामा तेक्वान्दो खेलको एशियनन च्याम्पियनशिपको तयारी चलिरहेको छ । नेपाल तेक्वान्दो संघले यसका लागि ‘विडिङ’को तयारी गरिरहेको छ । अबको तिन साता पछि जोर्डनको अम्मानमा ४३ देशका एशियाली मुलुकहरुले विडिङ गर्दैछन । कास्की जिल्ला तेक्वान्दो संघले सन २०१६ मा आयोजना गरेको हानमादाङ तेक्वान्दोले पनि पोखरा यसका लागि सक्षम छ र कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने उदाहरण पेश गरिसकेको छ ।
यदि पोखरामा यशियन च्याम्पियनशिप भयो भने करिब ४३ राष्ट्रका महिला तथा पुरुष खेलाडी पोखरा आउनेछन । यो पोखराको लागि मात्रै नभएर खेल मार्फत देश चिनाउने ठूलो अबसर पनि हो । ‘पोखराले यो अबसर पाउने हो भने पनि १ हजार २ सय भन्दा बढी खेलाडी पोखरामा करिब आठ दिनको बसाईका लागि आउने छन’ गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ भन्छन–‘खेलाडी संग आउने अभिभावक र दर्शक समेत गर्ने हो भने ४३ देश र त्यस भन्दा बाहिरका गरि करिब ५ देखि ६ हजार जना पोखरा आउने अनुमान गर्न सकिन्छ ।’
एशिया तेक्वान्दो खेलको पावर हाउसका रुपमा रहेको हुनाले पनि हरेक दुई वर्षमा आयोजना हुने एशियन च्याम्पियनशिप सबै राष्ट्रका लागि चासोको विषय बन्ने अध्यक्ष गुरुङको बताउँछन । ‘हामीले जुलाई १६ मा बिडिङको तयारी शुरु गरिसकेका छौ, र यसमा सबै पक्षको उत्तिकै सहयोग महत्वपूर्ण रहने छ’ गुरुङ भन्छन–‘यो कार्यक्रम केबल संघको मात्रै होइन हामी सबैको हो भन्ने भावना जागृत होस भन्ने म चाहन्छु ।’
यदि पोखराले यो अबसर पाउने हो भने पोखरा फेरि एक पटक मार्शल आर्ट खेलको शहरको रुपमा विश्व मानचित्रमा परिचित हुनेछ । सन २०२० को नेपाल भ्रमण वर्षका लागि यो कार्यक्रमले निकै सहयोग पुर्याउने नेपाल पर्यटन बोर्डका सूर्य थपलिया बताउँछन । ‘हामी धेरै खर्च गरेर प्रचार प्रशारमा जुट्छौ तर यो कार्यक्रमले विश्वमा नेपाल चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ’ उनी भन्छन–‘देश चिनाउन खेलकुद महत्वपूर्ण माध्यम भएकोले पनि हामीले यो आयोजनाका लागि सबैको हातेमालो उत्तिकै रहन्छ ।’ उनले जोड दिंदै भने–‘पोखरा पर्यटनको केन्द्र मात्रै होइन खेलकुदको केन्द्र पनि हो, तेक्वान्दोले फेरि एक पटक पोखरालाई मात्रै होइन नेपाललाई चिनाउँनेछ ।’
Outstanding post but I was wanting to know if you could write a litte more on this subject?
I’d be very thankful if you could elaborate a little bit further.
Kudos!