टाइगर कप राष्ट्रिय भलिवल : “सँधैका लागि यादगार बनाउने प्रयास गर्दैछौं” अध्यक्ष शर्मा

पोखरा स्पोर्टस । पोखरामा यहि माघ २७ देखि फागुन १ गते सम्म आयोजना हुने “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता” को तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताकोे आयोजना सिर्जनात्मक रुपमा सँधैका लागि यादगार बनाउने गरि तयारी भइरहेको आयोजकले जनाएको हो । ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले यस पटक दर्शकले पहिलो पटक भलिवल कोर्टमा नयाँपन देख्न पाउने दावी गरेका छन । उनले भने–“यो पोखराको खेलपर्वको रुपमा आयोजना हुने यो भलिवल प्रतियोगिता दर्शकका लागि सँधै यादगार रुपमा रहोस भन्नका लागि पनि आयोजनालाई फरक तरिकाले सोचेका छौं ।”

प्रतियोगिता हेर्न आउने दर्शकको सुविधाका लागि समेत साँगेतिक कार्यक्रम सँगै बस्नका लागि सहज वातावरण बनाउने तर्फ पनि आयोजकले सोचेको अध्यक्ष शर्माले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“कार्यक्रमको मञ्चको सजावट देखि सञ्चारकर्मीहरुलाई सहजताका लागि फरक तरिकाले सोचेका छौं ।” भलिवल कोर्टमा खेलाडीको खेलले दर्शकलाई मनोरंजन मात्रै होइन फरक प्रस्तुतीहरुले पनि उनीहरुको मन जित्ने प्रयासमा रहेको अध्यक्ष शर्माले बताए ।

राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ । यसै गरि पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितिय हुनेले ७५ हजार तथा तृतियले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने भएका छन ।

कुल २५ लाख अनुमानित खर्च हुने जनाइएको उक्त प्रतियोगितामा ३० लाख वचत हुने आयोजकले जनाएको छ । प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने उनले बताए । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमीफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय तोकिएको छ ।

Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close