
केशब पाठक,
पोखरा, ८ बैशाख । अन्तर्राष्ट्रिय खेलकुदको एरिनामा कान्छो उमेरको खेलाडीको निकै चर्चा हुन्छ । चाहे एशियन गेम्स वा ओलोम्पिक कान्छो उमेरका खेलाडीलाई निकै सम्मान दिइन्छ । उनीहरु सेलिब्रेटी जस्तै हुन्छन । सबै सञ्चार माध्यमले उनीहरुलाई पछ्याउँछन । नेपालकी पौडी खेलाडी गौरिका सिंह एक उदाहरणकी पात्र हुन । उनले १३ वर्ष २५५ दिनमा सन २०१६ को रियो ओलोम्पिकमा सहभागिता जनाएकी थिइन ।

आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा चलिरहेको छ । ३५ खेल मध्ये आधा भन्दा खेल सकिएका छन । प्रायः खेलाडी फर्किपनि सकेका छन । तर त्यही खेलाडीका बिचमा गण्डकी प्रदेश बाट पौडी खेल्न गएका करिब ५ हजार खेलाडी मध्ये निश्चल श्रेष्ठ कान्छा उमेरका खेलाडी पनि छन । उनको उमेर १० वर्ष ३२० दिन मात्रै भएको रहेको छ । उनी आठौं खेलकुदका कान्छा खेलाडी रहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष एवम आठौ सेफ दि मिसन सम्पन्न श्रेष्ठले बताए । उनी २०६५ साल जेठ १८ गते जन्मिएका हुन ।
पोखरा ६ लेकसाइडका निश्चल पोखरा ५ स्थित स्टेप बाई स्टेप बाट हालै मात्र कक्षा ४ उर्तिण गरेका हुन । उनी स्विमिङमा रुची राख्ने भएपनि प्रतियोगिताका हिसाबले पहिलो पटक खेलकुदको महाकुम्भ आठौं राष्ट्रियमा खेल्न पुगेका हुन । उनी गण्डकी प्रदेश बाट पौडीतर्फ ५० मिटर ब्रेष्टस्ट्रोक इभेन्टमा आफ्नो क्षमता प्रदर्शन गर्दैछन ।
निश्चलका प्रशिक्षक आनन्द कुँवरका अनुसार उनी पौडी भर्खरै सिक्दै गरेको भए पनि भविष्यका लागि राम्रो खेलाडी बनाउन र केही सिक्नका लागि पनि आठौंमा सहभागिता गराएको बताए । उनले भने–‘उमेरका हिसाबले उसले राम्रो खेल्छ यदि उसलाई निरन्तर रुपमा प्रशिक्षण गराउन सक्यौं भने गण्डकीका लागि पदक ल्याउन सक्छ ।’
