सहारा युकेको शनिवार हुने साधारण सभा तथा अधिवेशनको तयारी पुरा

पोखरा स्पोर्टस । बेलायतको चर्चित संस्था मध्येको सहारा युकेको शनिवार हुने साधारण सभा तथा सातौं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।

सहारा क्लव पोखराको शाखा समेत रहेको सहारा युकेको शनिबार हुने साधारण सभा तथा अधिवेशन सम्पूर्ण तयारी पुरा भएको हो । “सहारा युकेको इतिहासमा नै पहिलो पटक प्रविधीको प्रयोग गरेर साधारण सभा तथा अधिवेशन आयोजना गर्दैछौ” सहारा युकेका अध्यक्ष कुमार गुरुङले पोखरा स्पोर्टसलाई भन्नुभयो–“कोभिड १९ का कारण जुमबाट हुने साधारण सभामा सवै कार्यसमितीका र सदस्यज्यूहरुको सहभागिता रहनेछ तथा सम्पूर्ण तयारी पुरा भएको छ ।”

अधिवेशन सम्पन्न गर्न सहारा युकेका पदेन सल्लाहकारहरु महेश गुरुङ, लोक गुरुङ, रामचन्द्र गुरुङ, सल्लाहाकारद्वय चन्द्रमान गुरुङ र ग्याम गुरुङ रहेको पाँच सदस्यिय निर्वाचन समिती गठन गरिएको छ । त्यसै गरि विधान संसोधन समितीको संयोजकमा पूर्व अध्यक्ष दिलिप गुरुङ (एमविई) र सदस्यमा सल्लाहकारद्वय कृष्ण गुरुङ र दिलरास गुरुङ रहनुभएको छ ।

कोभिड १९ का कारण सन २०२० मा हुने भनिएका महत्वपूर्ण कार्यक्रमहरु सवै स्थगित गर्नु परेको अध्यक्ष गुरुङले बताउनुभयो । इतिहासमा पहिलो पटक नेपाली राष्ट्रिय टिमले बेलायतको सि टिम संग गत मे मा हुने भनिएको मैत्रीपूर्ण खेल समेत रद्ध हुन पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“विश्व नै महामारीको चपेटाको परेको बेला हाम्रा धेरै महत्वपूर्ण कार्यक्रमहरु अन्तिम समयमा स्थगित हुन पुग्यो ।”

यो संगै सहारा क्लव पोखराका लागि सहयोग रकम संकलन गरिने कार्यक्रम मध्येको एक च्यारिटी डिनर कार्यक्रम समेत यो वर्ष स्थगित भएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले च्यारिटी डिनर कार्यक्रम हुन नसकेपनि केही समस्या हुँदा हुँदै पनि रकम भने संकलन गरिएको बताउनुभयो । यो संगै सहारा युकेले युकेमा नै सञ्चालन गर्न लागेको ग्रास रुट लेभलको प्रशिक्षण कार्यक्रम समेत स्थगित हुन पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“२०२० को सुरुवातमा नै ग्रास रुटको कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण तयारी गरेका थियौं तर सवै कार्यक्रम स्थगित हुन पुग्यो ।”

साधारण सभा तथा अधिवेशनका लागि सवै सदस्यहरुको उत्तिकै उत्साह रहेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–“सवै सदस्यज्यूहरु भोलिको पर्खाइमा हुनुहुन्छ, हामी केही नयाँ भावी योजनाका साथ अहिलेको विषम परिस्थितीमा के-के गर्न सकिन्छ भन्नेबारे सवैका अगाडी प्रस्तुत हुने छौ, पक्कै पनि भोलीकोे सूर्योदयले नयाँ उत्साह जगाउने छ ।”

सन २००८ मा स्थापना भएको सहारा युकेमा हाल सम्म कुमार गुरुङ सहित तिन जनाले नेतृत्व सम्हालि सक्नुभएको छ । नविन गुरुङ संस्थापक अध्यक्ष रहनु भएको सहारा युकेको अध्यक्ष पदमा दिलिप गुरुङ (एमविई), मिन गुरुङले सफल रुपमा नेतृत्व गरिसक्नु भएको छ । सहारा युकेको प्रत्येक दुई वर्षमा नेतृत्व परिवर्तनका लागि अधिवेशन हुने गरेको छ । सहारा युकेले नेपालको खेलकुद विकास संगै अन्य सामाजिक सेवामा समेत महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close