
पोखरा, २८ माघ ।
नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल चार बक्सरलाई सोमबार नगदसहित सम्मानित गरेको छ ।
एक्स बक्सर समूहको आर्थिक सहयोगमा संघले सोमबार पदक जित्न सफल चार खेलाडीलाई जनही २५–२५ हजार रूपैया नगदसहित सम्मानित गरेको हो । सम्मानित हुनेमा त्रिभुवन आर्मी क्लबकी बिमला श्रेष्ठ, पुनम रावल, नेपाल पुलिस क्लबकी दिवाना शेर्मा र आर्मीका सुशिल थापा छन् ।
बिमला श्रेष्ठले २०१८ फेब्रुअरी १ देखि ७ सम्म भएको प्रथम इन्डिया इन्टरनेशनल मेन्स एन्ड वुमन्स च्याम्पियनसिपमा ५४ केजी तौल समूहमा कास्यपदक जित्न सफल भएका थिए । यस्तै पुनम रावलले सोही प्रतियोगिताको ६० केजी तौल समूहमा कास्यपदक हात पारेकी थिइन् ।
यस्तै दिवाना शेर्मा र सुशिल श्रेष्ठले यसैसाता काठमाडौंमा सम्पन्न वीर गणेशमान सिंह महिला तथा पुरुष राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । दिवानाले महिला ४८ केजी तौल समूहमा स्वर्ण जितेक थिइन् । सुशिल थापाले पुरुष ४९ केजी तौल समूहमा स्वर्ण हात पारेका थिए । उनीहरु दुवै जना प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए । खेलाडीहरुलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, एक्स मकाउ समूहका प्रतिनिधि लगायतले पुरस्कृत गरे ।