“आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ कुनै हालतमा रोकिन्न”– सदस्य सचिव विष्ट

काठमाडौं, २५ माघ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुने बताएका छन् ।

राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको स्पोर्ट्स क्वाटरली पुस्तक विमोचन कार्यक्रमा शुक्रबार सदस्य–सचिव विष्टले उक्त कुरा बताएका हुन् ।

“आठौं राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन भन्नेमा कसैले द्विविधा नराखे हुन्छ, आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुन्छ, कुनै हालतमा रोकिन्न ।”–सदस्य–सचिव विष्टले भने “आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट भइसकेको छ, निर्माणको काम तीव्र गतिमा अगाडि बढी रहेको छ र नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेप आठौं राष्ट्रिय खेलकुद गर्नेमा प्रतिबद्ध छ ।”

सदस्य सचिब विष्टले प्रारम्भिक चरणका सम्पूर्ण कामहरु सम्पन्न भइसकेको बताउँदै भने–“प्रदेश छनोटको मिति पनि तोकीसकेका छौं, आठौं राष्ट्रिय खेलकुदसंग सम्बन्धित अन्य धेरै कुरा अगाडी बढी सकेका छन्, अलि कति तिथि मितिमा तल माथि होला तर, आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ, सबै ढुक्क भए हुन्छ ।”

स्पोर्ट्स क्वाटरलीको सदस्य–सचिव विष्ट र राखेपका सदस्य एकेन्द्र कुँवरले संयुक्त विमोचन गरे । पुस्तकमा विभिन्न खेलको नियम, शारीरिक शिक्षाको महत्व, खेल मनोविज्ञान, खेलाडीको अन्तरवार्ता, खेलकुदमा वैज्ञानिक पद्धतिको महत्व, खेल विज्ञहरुको लेखलगायतका विषयवस्तु समेटिएका छन् ।

पुस्तक प्रकाशन गर्न सानका उप निर्देशक महेन्द्रकुमार राईको संयोजकत्वमा ५ सदस्यीय पुस्तक प्रकाशन समिति गठन गरिएको छ । समितिको प्रमुख सल्लाहकारमा सदस्य–सचिव विष्ट, सल्लाहकारमा सानका निर्देशक नवीन उप्रेती र प्रेस सल्लाहकार रोहित दाहाल, सह–संयोजकमा सानकी प्रशासन प्रमुख अनन्तदेवी खनाल तथा सदस्यमा विकासविक्रम शाह, दामोदर अर्याल र प्रतीक्षा खरेल रहेका छन् ।

सानका निर्देशक उप्रेतीले पुस्तक चौमासिक रुपमा नियमित प्रकाशन गर्ने प्रतिबद्धता जनाउदै पुस्तकलाई अझ स्तरीय बनाउदै लैजाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close