
पोखरा, १६ माघ ।
चितवनको भरतपुर महानगरमा धुर्मुश सुन्तली फाउण्डेशनले निर्माण शुरु गर्नलागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम सहित मल्टीकम्प्लेक्स रंगशालाका निर्माणका लागि भरतपुर महानगरपालिका र धुर्मश फाउण्डेशन बिच सम्झौता भएको छ ।
डिपिआर तयार भएको २ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिने उक्त मल्टिप्लेक्स सम्पन्न गर्न ३ अर्ब रुपैया लाग्ने अनुमान फाउण्डेशनले गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत रामपुर कृषी क्याम्पसको करिब २० रोपनी जग्गामा उक्त मल्टिप्लेक्स स्टेडियम निर्माण हुनेछ ।
बुधबार एक भव्य समारोहका विच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुर्मुश सुन्तली फाउण्डेशनका तर्फ बाट अध्यक्ष सिताराम कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । क्रिकेटलाई प्रमुख रुपमा भनिए पनि उक्त मल्टिप्लेक्स स्टेडियममा फुटबल, बास्केटबल, भलिवल लगाएत अन्य मार्शल आर्ट््सका खेलहरु आयोजना हुने गरि निर्माण गरिने फाउण्डेशनले जनाएको छ । उक्त रंगशाला २५ हजार दर्शक क्षमताको हुने जनाइएको छ ।
सम्झौता समारोहमा मेयर दाहालले निर्माण सम्पन्न भएपछि पहिलो खेल भारत र पाकिस्तानका बिच मैत्रीपूर्ण खेल खेलाइने उद्घोष गरेकी छन ।
मन्त्रि जगतलाई चुनोती
सम्झौता समारोहमा संघिय सरकारका यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा उपस्थित रहेका थिए । चितवनमा क्रिकेट स्टेडियम २५ हजार दर्शक क्षमताको निर्माण हुने भए पछि उनलाई पोखराको फुटबल स्टेडियम अब कति हजार दर्शक क्षमताको बनाउने बारे चुनौती थपिएको छ ।
विभिन्न सहयोगीहरु बाट संकलित रकमले २ वर्षमा ३ अर्वमा मल्टिप्लेक्स रंगशाला निर्माण हुन्छ भने राज्यको लगानीमा निर्माण हुने पोखरा स्टेडियम प्रशिक्षण केन्द्रित रुपमा बनाउने की, साँच्चिकै दिगो रुपमा धेरै क्षमताको निर्माण गर्ने भन्ने बारे मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद समयमा नै गम्भिर भएर सोच्ने बेला आएको छ ।