
काठमाडौ, १४ माघ ।
१४ औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।
साविकको विजेता नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पुर्णविराम लागेको हो । एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ । समान २१ अंक भएपनि पुलिस हेड टु हेडमा एपीएफसँग पछि परेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपीएफले पहिलो सेट २५–२० ले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपीएफले पुलिसलाई पराजित गर्न निकै संघर्ष गर्नुपर्दा ३३–३१ को कठिन जित निकाल्यो । तेस्रो सेट भने एपीएफले सहजै २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यससँगै पहिलो राउन्डको खेल सकिन लाग्दा एपीएफ लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । सोमबारै भएको अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान बलियो बनाएको छ ।
आर्मीले पश्चिमाञ्चलमाथि २५–१२, २५–१५ र २५–२१ को सहज जित निकाल्यो । आर्मीसँग पराजित भएको पश्चिमाञ्चलले चितवन टाइगर्समाथि २५–२२, २५–५ र २५–१५ को जित निकाल्दै चौथो स्थानमा उक्लन सफल भयो । पश्चिमाञ्चलले ७ खेलबाट १३ अंक जोड्यो ।
निकै रोमाञ्चक बनेको खेलमा चितवन टाइगर्सले श्रीगाँउ दाङमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । चिवनले सुरुवाती दुई सेट गुमाएर पनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । चितवन सुरुवाती दुई सेटमा १७–२५ र २१–२५ ले पछि परेको थियो । तर, त्यसपछिको तीन सेट चितवनले २५–२२, २५–५ र १७–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगिता अन्तरगत मंगलबार पहिलो चरणको एक खेलसँगै पाँच खेल हुने आयोजकले जनाएको छ । पहिलो राउण्डको अन्तिम खेलमा एपीएफ र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि आर्मी र सेव, पुलिस र चितवन टाइगर्स पश्चिमाञ्चल र श्रीगाँउ तथा एपीएफ र चितवन टाइगर्सबीच खेल हुनेछ ।
सेव ११ अंकसहित पाँचौ, श्रीगाँउ १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । चितवन ८ अंक जोडेर सातौ थानमा रहँदै दोस्रो राउन्डमा प्रवेश गर्न सफल भयो । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।