
काठमाडौं, १४ माघ ।
भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ ।
गत जनवरी २७ तारिखदेखि सोमबारसम्म भएको च्याम्पियनसिपमा १७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी ३४ पदकसहित दोस्रो भएको नेपाली टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिए । उक्त च्याम्पियनसिपको फाइटमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर ५८ केजी, निशा श्रेष्ठले सिनियर ५२ केजी र रञ्जित भण्डारीले जुनियर ५४ केजीमा स्वर्ण जित्दा पुम्सेमा पनि स्वर्ण जिते ।
समीर डल्लाकोटीले फाइटमा जुनियर ४५ केजीमा नेपाललाई स्वर्ण दिलाए । उनले पुम्सेमा फाइनलको यात्रा तय गरे पनि रजत पदकमै सीमित भए । त्यसैगरी, समीक्षा भण्डारी, चाँदनीकुमारी गुप्ता, हेमराज गुरुङ, सचिन थापामगर र सबिन सार्कीले फाइटमा स्वर्ण र पुम्सेमा रजत पदक जित्न सफल भए ।
फाइटिङमा जिप्सन नेपाल, राजेशकुमार तमाङ र इमरान नजिर सेखले स्वर्ण जिते । सुपृका गुरुङ र हेमन गुरुङले दुवै विधामा रजत र कांस्य जित्न सफल भए । पुम्सेमा युनिशा दराइले रजत, फाइटङमा आयुशा श्रेष्ठ, महेशकुमार शाहले रजत पदक र पृति गुरुङले कांस्य पदक प्राप्त गरे ।
त्यस्तै, मेलिना गुरुङ, दीपनारायण चौधरी र जाहिद उल्लाले फाइटतमा कांस्य पदक जित्न सफल भए । नेपाली टिमको मुख्य प्रशिक्षक रोशन खान, सहायक प्रशिक्षक धनबहादुर दराई, अफिसियलमा किशोर गुरुङ र कृष्णप्रसाद शिलवाल छन् । नेपाली टोलीलाई कोरियाली ग्रान्ड मास्टर किम हुम योङ र हिन्दी चलचित्रका अभिनेता तथा डाइरेक्टर शाहिल खानले पुरस्कृत गरे ।