खेलकुद पत्रकार मञ्च, गण्डकीको प्रथम अधिवेशन फागुन २५ गते हुने

पोखरा, १४ माघ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन मिति तय गरिएको छ । मञ्चको शनिबार सम्पन्न भेलाले फागुन २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघीय संरचनाअनुरुप जिल्लास्तरको मञ्च प्रदेशस्तरमा जाने गरी सोहीअनुरुप विधान दर्ता भएको छ । पत्रकार केशव पाठक अध्यक्ष रहेको तदर्थ समिति ११ सदस्यीय छ । यस्तै, मञ्चले सम्पन्न गरेको तेस्रो संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डको आयव्ययसमेत सार्वजनिक गरेको छ ।

पिकनिकबीच भएको सो कार्यक्रममा मञ्च कोषाध्यक्ष विजय नेपालले आयव्यय सार्वजनिक गरेका हुन् । जसअनुसार अवार्डमा ८ लाख १५ हजार ७१ रुपैयाँ ४६ पैसा आम्दानी भएकोमा ६ लाख ९९ हजार ३ सय ९५ रुपैयाँ ७२ पैसा खर्च हुन गएको छ भने बचत १ लाख १५ हजार ६ सय ७५ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैक्रममा मञ्चले आयोजना गर्ने सबैभन्दा ठूलो इभेन्ट पोखरा स्पोर्टस् अवार्डको आगामी चौथो संस्करणको लागि सहयोग आउनक्रम सुरु भैसकेको छ । एन्फा कास्की सदस्य पोखरा–१, बुद्धटोल निवासी राधा गुरुङले सोही अवसरमा ५ हजार ५५ रुपैयाँ मञ्च अध्यक्ष केशव पाठकलाई प्रदान गरिन् ।

यस्तै, रमाइलो खेलअन्तर्गत कुर्सी दौडमा मञ्च उपाध्यक्ष दीननाथ बराल र घैंटो फुटाउने प्रतियोगितामा कोषाध्यक्ष विजय नेपाल विजयी भए । उनीहरुलाई पुरस्कारस्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

मञ्च अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दीननाथ बरालले स्वागत र महासचिव रञ्जन अधिकारीले संचालन गरेका थिए । मञ्चको तेस्रो पोखरा स्पोर्टस् अवार्डमा शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ का सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । विसं २०५७ सालमा स्थापित मञ्चमा विशेषतः खेलकुद बिटमा कलम चलाउने ५५ जना बढी पत्रकार आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close