
लाल बहादुर गुरुङ (एल.बि) गैर आवासिय नेपाली संघ (एन आर एन)यूकेका यूबा संयोजक । उनमा निकै जोश छ । केही गरे अवश्य नै परिवर्तन सम्भव छ भन्ने सोचका साथ अगाडी बढेका छन । बेलायत बाट हुँइकिएर आफ्नो गाँउ स्याङजाको कोल्मा पुगेका उनलाई आफ्नो जन्म थलोमा परिवर्तनका लागि नक्सा कोरिरहेका छन । माघ २६ गते स्याङजाको कोल्मामा हुने क्रस कन्ट्रीका ‘कन्सेप्ट डिजाइनर’ गुरुङले खेलकुद बाट परिवर्तनको आयाम देखेका छन । उनकै सोचका आधारमा क्रस कन्ट्री आयोजना हुने दिन नजिकिंदै जाँदा सबैलाई एक जुट बनाएर अघि बढेका पनि छन । यहि सन्दर्भमा उनी संग केशब पाठक संग गरिएको कुराकानी ।
कोल्मामा क्रस कन्ट्री गर्ने सोच कसरी पलायो ?
म पहिला एथलेटिक्सको खेलाडी । खेलकुद परिवर्तनको शसक्त माध्यम हो भन्ने मलाई थियो । खेलकुद स्वास्थ्यका लागि मात्र नभई विश्वमा खेलकुद पर्यटनको शसक्त माध्यम पनि बन्दै गएको छ । लण्डनमा हुँखा समेत यस्ता खेल देख्दा आफ्नो गाउँमा पनि लैजान सकिन्छ कि भनेर पनि सोच्थे । अहिले नेपाल सरकारले सन २०२० सम्म २० लाख पर्यटन भित्रायाउने जुन लक्ष्य लिएको छ त्यसलाई पनि पुरा गर्न अब हामी जाग्न पर्छ भन्ने लाग्यो । हाम्रो गाउँ ठाउँमा ५ हजार आन्तरिक र वाह्य पर्यटक भित्रायाउन सके पनि यो परिवर्तनका लागि कोशे ढुङा हुन सक्छ भन्ने नै हो । यो कुनै विचारधारा भन्दा पनि शत प्रतिसत सामाजिक अभियानको बाटो हो र त्यही बाटोमा सबै संगै हिड्ने प्रयास पनि हो ।
आज सम्म आइपुग्दा कस–कसले साथ दिएका छन ?
यो कार्यक्रम आयोजन गर्न यूकेको यूवा संजाल बाट पनि सहयोग पाएका छौं । र तयस क्षेत्रमा बस्ने समुदायको उल्लेख्य मात्रामा सहयोग रहेको छ । अन्य ब्यवसायिक प्रतिष्ठानका साथीहरुले पनि सहयोग गर्नु भएको छ । त्यसै गरि स्थानिय तह र अन्य निकायहरु बाट पनि हामीले सहयोगका लागि अपिल गरेका छौं । उहाँहरु सबैले सहयेगका लागि आश्वासन दिनुभएको छ ।
यो क्रस कन्ट्री मात्रै हो की अरु केही कार्यक्रम छन ? कसरी संयोजन गर्नु भएको छ ?
क्रस कन्ट्री हाम्रो मुख्य कार्यक्रम हो । त्यस भन्दा बाहेका कार्यक्रमलाई थप आर्कषक बनाउन सांस्कृतिक कार्यक्रहरुलाई हामीले फोकस गरेका छौं । हाम्रो गाउँ ठाउँका स्थानिय जनजातीका नाच झोरा र घाटु नृत्य गित संगित संगै अन्य राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । त्यो दिन कोल्मा पुग्ने सबैले त्यो मनोरंजन लिन सक्नेछन । हामीले यसलाई थप आर्कषक बनाउन राष्ट्रियस्तरका कलाकारहरु संग गाउँलेहरुले प्रत्यक्ष सम्वाद गर्ने कार्यक्रम पनि तय गरेका छौं ।
राष्ट्रिय कलाकारहरुलाई निमन्त्रणा गरेर कार्यक्रम गर्दै हुनुहुन्छ स्थानिय नागरिकहरुले यसलाई कसरी लिएका छन ?
अहिले स्थानिय नागरिकहरु निकै खुसीको अनुभुती भएको मैले पाएको छु । उहाँहरुले यसलाई खेलकुदको कार्यक्रम वा सांस्कृतिक कार्यक्रम भन्दा पनि मेला महोत्सवको रुपमा सोचेका छन र त्यही अनुरुप आफ्नो तयारीमा जुटेका छन । जसले गर्दा हामी सबैलाई उत्साह पनि जगाएको छ । पहिले पटक हामीले इतिहास कोर्न जाँदै छौं । जसमा हामी सफल हुने छौं ।
त्यस भन्दा बाहेक कार्यक्रम गर्दा समस्या केही देख्नु भयो की ?
हो, जुन सुकै कार्यक्रम गर्दा समस्या नआउने भन्ने छैन । तर जस्तो प्रकारले काम अगाडी बढेको छ त्यसमा हाम्रो टिम निकै सन्तुष्ट छ । खेलाडीलाई आइपर्ने स्वास्थ्यका समस्या देखि लिएर सडकको अवस्था सबै कुरामा प्रदेशसभा सांसद, प्रतिनिधी सभा सांसद देखि लिएर स्थानिय राजनितीक दलका नेताहरु पनि सक्रिय भएको हामीले पाएका छौं । यो कार्यक्रम हामी सबैको हो र सफल बनाउन पर्छ भन्ने कुरालाई स्थानिय जनता देखि सबै आ–आफ्नो ढङ्गले लागेको हुनाले पनि समस्याहरु आफै समाधान हुँदै जान्छन भन्नेमा हाम्रो टिम विश्वस्त छ ।
यहाँले विदेशमा कोरेको सपना ठ्याक्कै त्यही रुपमा गाउँमा फर्केर काम कस्ता चुनौतीको सामना गर्नु पर्दो रहेछ ?
यहाँको प्रश्न निकै राम्रो लाग्यो । हो एउटा बिकशित ठाउँमा काम गर्दा र गाउँमा काम गर्दा निकै ठूलो चुनौती पनि छन । तर चुनौती छन भन्दैमा भाग्ने प्रश्न पनि आएन । चुनौती सामना गर्ने नै यूवा हो । म यूवा भएको नाताले हाम्रो टिम जसमा अग्रज हरु पनि हुनुहुन्छ उहाँहरुको सबैको सल्लाहले अगाडी बढ्दैछौं । हाम्रो एक मात्र उद्धेश्य भनेकोनै माघ २६ को क्रस कन्ट्रि सफल बनाउँदै केही नयाँ उत्साह जगाउने प्रयासमा मात्रै हो । क्रस कन्ट्रीले सबै गाउँलेहरुको मन र विचार जोड्ने प्रयास पनि हो ।
धेरैले यो काम गर्दा राजनिती संग जोड्ने प्रयास नगरेका पनि होइनन । तर यो सामाजिक अभियान मात्रै हो । यसमा हुनै राजनिती छैन । हामी विदेशमा बस्नेहरु संधै नेपाली भएर सोच्ने गर्छौ ।
एउटा विदेशको उच्चस्तरको सामाजिक अभियान र नेपालको एउटा गाउँको कठिन चुनौतीले भरिएको अभियान के फरक पाउनु भयो ?
हामी यति बेल सबै संग हात फैलाएर सहयोगको अपिल गरेका छौं । आर्थिक रुपले पनि निकै चुनौती छन । म यसको कन्सेपट डिजाइनर भइरहँदा मैले आफ्नो आत्मविश्वासलाई डगमाउन दिएको छैन । म आफैले पनि धेरै कुरा सिक्दै छु । हामीले अहिले सिकेका कुराहरुले भविष्यमा कार्यक्रमहरु गर्दा सजिलो हुनेछ भन्नेमा विश्वस्त पनि छु ।
अन्त्यमा यो कार्यक्रलाई सफल बनाउन यहाँले केहि भन्न चाहनुहुन्छ की ?
अन्त्यमा यो कार्यक्रमलाई सफल बनाउन म सबैलाई हार्दिकतापूर्वक अपिल गर्न चाहन्छु । यो कार्यक्रममा सहभागिता भइदिनुस मेरो विनम्र आग्रह पनि हो । सबैजना एक पटक माघ २६ गते कोल्मा आउन र कार्यक्रमलाई सफल बनाइदिन आग्रह पनि गर्छु ।