सृजना कप भलिवलको उपाधि छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ जनप्रियलाई

पोखरा, १२ माघ ।
कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र-छात्रा भलिवल प्रतियोगिताको उपाधि राष्ट्रिय मावि र जनप्रिय माविले जितेका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा छात्रतर्फको उपाधि राष्ट्रिय मावि र छात्रा तर्फको उपाधि जनप्रिय माविले जितेको हो ।

शनिबार दिउँसो भएको छात्रतर्फको उपाधि भिडन्तमा राष्ट्रिय माविले कालिका माविलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि चुम्यो । राष्ट्रिय माविले कालिका माविलाई १७–२५, २५–२३, २५–१८, २३–२५ र १५–९ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । पराजित कालिका माविले भने उपबिजेतामै चित्त बुझायो ।

त्यस्तै शनिबारै भएको छात्रातर्फको फाइनल खेलमा जनप्रिय माविले तालवाराही माविलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुम्यो । जनप्रिय माविले तालवाराहीलाई २५–२१, २५–८ र २५–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । पराजित तालवाराही मावि भने उपबिजेतामै सिमित भयो ।

उपाधि बिजेता छात्रतर्फको राष्ट्रिय मावि र छात्रातर्फको जनप्रिय माविले ५०/५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता बनेका छात्रतर्फको कालिका मावि र छात्रातर्फको तालवाराही माविले ३०/३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसअघी शनिबारै भएको छात्रतर्फको खेलमा भद्रकाली माविले लक्ष्मी माविलाई ३÷१ को सेटमा पराजित गर्दै तेश्रो स्थान सुरक्षित ग¥यो । भद्रकालीले लक्ष्मी माविलाई २५–१६, २५–२३, २९–२७ र २५–१९ को सेटमा पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो ।

त्यस्तै, छात्रातर्फको खेलमा बालमन्दिर माविले छोरेपाटन माविलाई ३-१ कै सेटमा पराजित गर्दै तेश्रो भयो । बाल मन्दिरले छोरेपाटनलाई १४–२५, २५–१९, २५–१४ र २५–२१ को सेटमा पराजित गर्दै तेश्रो स्थान सुरक्षित गरेको हो ।

तेश्रो स्थान प्राप्त गर्ने छात्रतर्फको भद्रकाली मावि र छात्रातर्फको बाल मन्दिर माविले १५/१५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माविका सञ्जय परियारले सर्बोत्कृष्ट खेलाडी बन्दै नगद १० हजारसहित मेडल प्राप्त गरे । त्यस्तै उत्कृष्ट स्पाइकरमा कालिका माविका अजय सुनार, उत्कृष्ट डिफेन्डरमा भद्रकाली माविका अन्तिम विक, उत्कृष्ट सेटरमा राष्ट्रिय माविका सन्दीप परियार र उत्कृष्ट ब्लकरमा राष्ट्रिय माविकै राम गुरुङ पुरस्कृत भए । उनीहरुलाई नगद ५÷५ हजारसहित मेडल प्रदान गरिएको थियो ।

यसैगरी छात्रातर्फ जनप्रिय माविकी तेलिना छन्त्याल सर्बोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजारसहित मेडल जित्न सफल भईन् । त्यस्तै छात्रातर्फ जनप्रिय माविकी खिममाया छन्त्याल उत्कृष्ट स्पाइकर र छोरेपाटन माविकी रिता बुढाथोकी उत्कृष्ट स्पाइकर हुँदै नगद ५/५ हजारसहित मेडल जित्न सफल भए ।

यसैबीच, प्रथम सृजना कप सफल भएसँगै यसलाई रनिङ शिल्डको रुपमा लैजाने घोषणा भएको छ । प्रतियोगिता समापन कार्यक्रममा बोल्दै कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुली र सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले आगामी वर्षबाट सृजना कपलाई रनिङ शिल्डको रुपमा लैजाने घोषणा गरेका हुन् । भलिवल खेलको जग बलियो बनाउन प्रतियोगिता आयोजना गरेको उनीहरुको भनाई रहेको छ ।

प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सदस्य राजिव पहारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला भलिवल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराई, प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेल, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीलगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close